नेविसंघमा विधान मिचेर तदर्थ समिति ल्याउन लागेपछि पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समुहले सोमबार आमरण अनसन सुरू गर्यो।
पार्टी केन्द्रीय कार्यालय सानेपाको मुख्य ढोकाछेउ एक महिनादेखि रिले अनसन जारी राखेपनि नेतृत्वले विधान मिचेर एक सय २७ सदस्यीय नेविसंघ तदर्थ समिति ल्याउन खोजेपछि आमरण अनसन सुरू भएको थियो।
पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत अनसनमा बसेको केहीबेरपछि केन्द्रीय समिति बैठकमा भाग लिन सभापति शेरबहादुर देउवा पार्टी कार्यालय आइपुगे।
सभापति आएपछि काफ्ले समुहले विधान मिच्न नपाइने भन्दै नारा लगाए। देउवा गाडीबाट झर्नेवित्तिकै देउवा पक्षका नेविसंघ अनसन बसिरहेको काफ्ले समुहमाथि जाइलाग्यो।
धकेलाधकेलपछि केहीबेरमा देउवा पक्षका विद्यार्थीले आमरण अनसन बसेका विद्यार्थीलाई गमला र इँटा हाने। कमल पन्त र लक्ष्मी बोगटी घाइते छन्। उनीहरूको सानेपाकै स्टार अस्पतालमा उपचार भइरहेको छ।
देउवा पक्षका नेविसंघले आमरण अनसन लेखेको ब्यानरसमेत च्यातिदिएका छन्। नेविसंघ काठमाडौं जिल्ला अध्यक्ष मनोज बैद्य, विकास केसीलगायतले आमरण अनसनरत विद्यार्थीमाथि आक्रमण गरेको स्रोतको दावी छ।
नेविसंघमा ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने र अहिले नै गर्न नहुने पक्षबीच विवाद छ। आमरण अनसन बसेका एक विद्यार्थी नेता मनिष सिंखडाले सेतोपाटीसँग भने, ‘सभापति देउवाकै अघि हामीमाथि गमला र इँटाले हाने, ब्यानर च्यातिदिए।’
वैद्यले सेतोपाटीसँगको कुराकानीमा सभापति देउवाविरूद्ध नाराबाजी गरेपछि आफूहरूले अर्को पक्षलाई सम्झाएको बताए।
‘सभापतिविरूद्ध किन नाराबाजी गरेको भनेर धकेलाधकेल भएको हो। इँटा, गमला हानेको छैन,’ उनले भने।
यो पनि :
देउवा र सिटौला पक्षका नेविसंघ पार्टी कार्यालयमै झडप, दुई घाइते