दमकको ‘बालुवाटार’ जग्गा घोटाला प्रकरणमा मुछिएका नेकपा नेता रेवतराज पुरी ‘गगन’लाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ।
पुरीले आफूलाई तत्काल पक्राउ नगर्न माग गर्दै दिएको निवेदनमा उच्च अदालत विराटनगरको इलाम इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
सोमबार न्यायाधीश अतुल विष्ट र दिनेश यादवको इजलासले पुरीलाई पक्राउ गर्ने जिल्ला अदालत झापाको आदेश कार्यान्वयन गर्ने बाटो खोलिदिएको छ।
पुस २४ गते झापा जिल्ला अदालत नै पुरीलाई पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएपछि भागेका पुरीले ‘फरार’ अवस्थामै माघ २ गते वारेसमार्फत उच्च अदालत इलाममा निवेदन दर्ता गराएका थिए।
‘पुरीले पक्राउ नगर्न अन्तरिम आदेश माग्दै दिएको निवेदनमा तत्काल केही गर्न नपर्ने निर्णय अदालतले सुनाएको छ,’ इलाम इजलासका रजिष्ट्रार नवराज दुलालले सेतोपाटीसँग भने।
अर्बौं रूपैयाँको सरकारी जग्गा घोटाला गरी आफ्नो नाममा पारेको पाइएपछि इलाका प्रहरी कार्यालय दमकले पुरीविरूद्ध ठगी तथा कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। सोही अनुसन्धानको सिलसिलामा पुरीलाई पक्राउ गर्नुपर्ने देखिएपछि प्रहरीले अदालतसँग पूर्जी मागेको थियो।
‘फरार’ रहेका पुरी अहिले नेपालमा छैनन् भन्ने झापा प्रहरीको निष्कर्ष छ। पक्राउ पर्ने डरले पुरी नेपालसँग सीमा जोडिएका सिमावर्ती भारतका सहरमा छन् भन्ने आशंकामा प्रहरीले खोजी गरिरहेको प्रहरी स्रोतले बतायो।
पुरीसहित उनका आफन्तविरूद्ध अनुसन्धान थालिएको भए पनि प्रहरीले अन्यको नाम बताउन मानेको छैन। ‘अनुसन्धान प्रभावित हुने भएकाले अहिले नाम भन्न मिल्दैन,’ इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने।
पुरीले दमक-८ (साबिक-१३)को पचास बिगाहा सरकारी जग्गा विभिन्न व्यक्तिले कीर्ते गरी आफ्नो नाममा पास गराएको आरोप छ।
उक्त जग्गा अनुसन्धान गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुरी तथा उनका परिवारका नाममा १५ बिगाहा जग्गा भेटाइसकेको छ। ब्युरोले मुद्दा अभियोजनका लागि अनुसन्धान प्रतिवेदन झापा प्रहरीलाई बुझाएपछि पुरी र उनका आफन्तमाथि अनुसन्धान थालिएको हो।
पुरीले विभिन्न व्यक्तिका नाममा पनि जग्गा राखेको पछिल्लो अनुसन्धानले देखाएकोछ। तीमध्ये ११ बिगाहा राखेका पथरी शनिश्चरे (साबिक-३) का ओमप्रकाश पौडेलको नाममा राखेको पाइएको प्रहरी स्रोतले बतायो।
पौडेल सामान्य व्यक्ति हुन्। उनी पथरी बजारमा अटो रिक्सा चलाएर जीविका चलाउँछन्। करोडौं मूल्य पर्ने जग्गा आफ्नो भएको भए पौडेल पक्कै पनि रिक्सा चलाएर बस्ने थिएनन्। उलाई दुई कठ्ठा जग्गा दिने प्रलोभनमा पारेर पुरीले जग्गा उनको नाममा राखेको प्रहरीको दाबी छ।
पौडेल पनि पूर्वमाओवादी हुन्। तत्कालीन माओवादी कार्यकर्ता पौडेललाई पूर्वमाओवादी नेता पुरीले प्रयोग गरेको आशंका प्रहरी स्रोतको छ।
जग्गा पाउने आशमा पौडेलले आफ्नो नाममा जग्गा राख्न सहमति जनाएको एक अधिकृतले बताए। ‘जग्गा पाउने लोभमा परेर आफ्नो नाममा पास गर्न मञ्जुरी दिएको पौडेलले बयान दिएका छन्,' उनले भने।
प्रहरीले पौडेललाई नै पक्राउ गरी मुद्दा चलाएको थियो। अदालतले पनि सम्भवत: उनलाई कसैले उपयोग गरेको ठम्याएर तीन लाख ७५ हजार धरौटीमा रिहा गरेको थियो।
ब्युरोका अनुसन्धान अधिकृतले मालपोत दमकमा कागजात खोज्ने क्रममा २०६६ र २०६७ सालमा बालुवाटारको सरकारी जग्गा पुरीको नाममा पास भएको फेला पारेका थिए। त्यतिबेला पुरी एक्लैको नाममा पास भएको धेरै जग्गा बिक्री वितरण भएर विभिन्न व्यक्तिको नाममा पुगेको छ।
ब्युरोको अनुसन्धानले पुरीलाई दोषी देखाएपछि सो जग्गा अहिले कस-कसको नाममा पुगेको छ भन्ने दमक प्रहरीले खोजी गरिरहेको छ।
‘मालपोतका कर्मचारीहरूको मिलेमतोमा त्यो जग्गा शुरुमा पुरीको नाममा पास गराइएको खुलेको छ,’ ब्युरोका एक अधिकारीले भने। जग्गा पास गर्ने बेला को-को कर्मचारी थिए तिनीहरूको सूची बनाएर प्रहरीले खोजी गरिरहेको ती अधिकारीले बताए।
पुरीको नाममा पुगेको जग्गासँगै त्यहाँ नेकपाको पार्टी कार्यालय पनि छ। पहिले त्यो माओवादीको पार्टी कार्यालय थियो। एमाले-माओवादी मिसिएर नेकपा भएपछि त्यहाँ जनवर्गीय संगठनहरूका गतिविधि बढी हुन्छन्।
२०६४ सालमा पुरीले माओवादी पार्टी कार्यालय बनाइदिए। जग्गा दिए। सरकारी जग्गासँगै जोडिएको जग्गामा करिब पाँच कठ्ठा क्षेत्रफलमा पार्टी कार्यालय खोलिदिएका थिए।
पार्टी कार्यालय नै खोलिदिएपछि पुरी नेताहरूको नजरमा ‘दाता’ र ‘समाजसेवी’ भनेर चिनिन थाले। नेताहरूसँग नजिक हुन पुगे। पुर्ख्यौली जग्गा पनि भएका पुरी विस्तारै पार्टी राजनीतिमा सक्रिय हुँदै गएपछि जग्गा हत्याउने ‘तानाबाना’ रच्न थाले।
यो जग्गा पुरीले आफ्नो नाममा ल्याउन प्रपञ्च जोडतोडले चलाएको पनि २०६४ सालपछि नै भएको दमकका स्थानीय बताउँछन्।
गत स्थानीय चुनावमा उनैलाई माओवादी पार्टीले दमक नगरपालिकाको मेयर उठायो। मेयरमा पराजित पुरी अहिले नेकपाको प्रदेश कमिटी सदस्य छन्।
रतुवा नदी पश्चिम र दिपेनी खोला उत्तरको उक्त जग्गा अहिले प्रतिकठ्ठा ५० लाखभन्दा धेरै पर्ने अनुमान गरिएको छ।
पुरीको नाममा आएको जग्गामा पहिले करिब ८८ परिवार सुकुम्बासी बस्थे। भूमिसुधार सक्रिय भएका बेला उनीहरूलाई जग्गा दिने प्रक्रिया थालिएको थियो। २०४० सालमा रतुवा खोलामा बाढी आउँदा बस्ती बगायो। सुकुम्बासीहरूको बास उठ्यो।
पछि त्यहाँ रतुवाको पाता कसियो। रतुवाको धार परिवर्तन गराएपछि जोगिएको त्यो जग्गा हत्याउन पुरीले प्रपञ्च रचेका थिए।
यो पनि हेर्नुहोस्
नेकपा नेता गगन पुरीले हत्याए झापा ‘बालुवाटार’को १५ बिघा सरकारी जग्गा