गण्डकी प्रदेश सरकारले दुई वर्षमा हासिल गरेका उपलब्धि सार्वजनिक गरेको छ।
प्रदेश सरकार स्थापना भएको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको परिसरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार गठन भएको २ वर्षका उपलब्धि भन्दै २१४ बुँदे पुस्तिका सार्वजनिक गरे।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले फागुन २ गते पत्रकार सम्मेलन मार्फत ३० बुँदे उपलब्धि सार्वजनिक गरेका थिए।
उनले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर प्रदेश सरकार गठन भएको दुई बर्ष पुगेको भन्दै प्रदेश सरकारबाट भए गरेका मुख्य मुख्य उपलब्धि भनेर विवरण सार्वजनिक गरेका थिए।
हेर्नुस्, आर्थिक मामिलामन्त्री किरण गुरुङले सार्वजनिक गरेका उपलब्धिका ३० बुँदा।
मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री गुरुङ द्वय गण्डकी प्रदेशमा नेकपाका प्रतिस्पर्धी हुन्। दुबै जना नेकपाका स्थायी कमिटी सदस्य छन्। मुख्यमन्त्री गुरुङ नेकपाका गण्डकी प्रदेश इन्चार्ज छन् भने आर्थिक मामिलामन्त्री गुरुङ सहइन्चार्ज छन्।
प्रदेश सभा निर्वाचनमा दुबैजना मुख्यमन्त्री दाबी गर्दै चुनावी मैदानमा थिए। नेकपा गण्डकी प्रदेशको संसदीय दलको बैठकले दलका नेतामा पृथ्वीसुब्बा गुरुङलाई चयन गरेपछि उनी मुख्यमन्त्रीमा निर्वाचित भएका थिए। संसदीय दलका नेतामा आर्थिक मामिलामन्त्री गुरुङले समेत दाबी गरेपनि बहुमत नपुग्ने देखिएपछि पछाडि हटेका थिए।
प्रदेश सरकारका उपलब्धिका विषयमा दुईवटा फरक– फरक प्रतिवेदन सार्वजनिक हुनु गुरुङ द्वयको अन्तिरिक संघर्षका रुपमा लिइएको नेकपाका एक सांसदले बताए। आर्थिक मामिलामन्त्री गुरुङले आफूलाई लागेका कुरा उपलब्धिका बुँदा भनेर सार्वजनिक गरेको ति नेताले बताए।
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारमा रहेका ७ वटै मन्त्रालयगत विवरण समावेश गरेर उपलब्धिका बुँदा तयार पारेको सचिवालयले जनाएको छ। प्रदेशका मुख्यसचिव हरिप्रसाद बस्यालका अनुसार, मुख्यमन्त्री गुरुङले सार्वजनिक गरेको उपलब्धि पुस्तिका नै प्रदेश सरकारको आधिकारिक उपलब्धि भएको बताए।
हेर्नुस्, मुख्यमन्त्री गुरुङले सार्वजनिक गरेको २१४ बुँदे उपलब्धि।
अरुलाई दोष दिने अवस्था छैन– मुख्यमन्त्री गुरुङ
स्थापना दिवसका अवसरमा आयोजित समारोहमा मुख्यमन्त्री गुरुङले संघीय सरकारमा आफूले भुइँचालो ल्याइदिएको दाबी गरे। संघीय सरकारको ‘माइन्ड सेट चेन्ज’ भइरहेको र प्रदेशलाई बलियो बनाएर जानुपर्छ भन्ने भावना आउन थालेको उनको भनाइ छ।
संघीय शासन प्रणाली ठिक ढंगले चलेको दाबी गर्दै उनले गति ढिलासुस्ती भएको बताए। ‘हामीले खोजेको गति वायुपङ्खी घोडाको हो’ उनले भने, ‘संघीय सरकार चिप्ले कीरा र कछुवाको गतिमा छ।’
अझै पनि प्रदेश सरकार अस्थायी संरचनामा बसेको भन्दै उनले जग्गाको स्वामित्व दिन संघीय सरकार हिचकिचाएको बताए। स्थानीय, प्रदेश र संघीय सरकारका साझा क्षेत्रका कानुन बनाउँदा संघीय सरकारले संवाद नगरेको उनको भनाइ छ।
प्रदेश सरकारले अब अर्कालाई दोष दिएर उम्कने अवस्था नरहेको उनले बताए। प्रदेश सरकार शून्यबाट शुरु भएको भन्दै उनले अहिले काम चलाउन कर्मचारी र संरचना तयार भएकाले अब काममा केन्द्रित हुने बताए।
अझै पनि जिल्लाका कार्यालय लगायतका संरचना हस्तान्तरण गर्न बाँकी रहेको उनको भनाइ छ। कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले गर्न सक्ने जति काम नगरेको बताए।
‘प्रदेश सरकार छ भन्ने कुरा जनताले अनुभुति गर्नुपर्छ’ उनले भने, ‘प्रदेश सरकारको प्रभावकारितामै संघीयता कार्यान्वयन प्रभावकारी हुन्छ।’ उनले सर्वसाधारण नागरिकसम्म प्रदेश सरकार पुग्न नसकेको भन्दै प्रभावकारिता बढाउन आग्रह गरे।