अनुशासन समितिमार्फत् सभापति शेरबहादुर देउवाले आफूलाई मन नपरेका देशभरका नेता/कार्यकर्तामाथि ‘डण्डा चलाउन खोजे’पछि नेपाली कांग्रेसभित्र नयाँ विवाद देखिएको छ।
अनुशासन समितिमा देउवानिकट भीष्मराज आङ्दम्वे संयोजक छन्।
देउवा समूहबाट आङ्दम्वे, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल, बरिष्ठ नेता रामचन्द्र पौडेलबाट धनराज गुरूङ र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबाट उमाकान्त चौधरी सदस्य राखेर एक वर्षअघि अनुशासन समिति बनेको थियो।
अनुशासन समितिले विभेदकारी निर्णय गर्न खोजेको बरिष्ठ नेता पौडेलले बताए। सेतोपाटीसँग शुक्रबार कुराकानी गर्दै पौडेलले इमान्दार कार्यकर्तालाई पीडा दिने काम अनुशासन समितिले गर्न खोजेकोले विरोध गर्नु परेको बताए।
‘कारबाहीको नाटक मञ्चन गरेर पश्चिमका कार्यकर्तालाई भिक्टिम बनाउन खोजिएको छ,’ पौडेलले भने, ‘आफूलाई मन परेन भन्दैमा नेता/कार्यकर्ता कारबाही गर्न पाइँदैन।’
सभापति देउवासँग पौडेल असन्तुष्ट हुनुको भित्री कारण भने अर्कै छ।
त्यो हो, तनहुँमा चुनाव हराउन भूमिका खेलेका गोविन्दराज जोशी र डडेल्धुरा सभापति कर्ण मल्ललगायतलाई एकै दृष्टिले हेरिनु।
सभापति देउवाको गृहजिल्ला डडेल्धुराका सभापति मल्ललाई पार्टीका निर्देशन नमानेको आरोपमा अनुशासन समितिमा उजुरी छ। मल्ल देउवाइतर समूहका हुन्। उनीमाथि अनुशासन समितिले कारबाही गर्न खोजेकोमा पौडेलले असन्तुष्टि जनाएका छन्।
‘पश्चिममा पार्टीमा लामो समयदेखि काम गर्दै आएका इमान्दार कार्यकर्तामाथि कारबाही गर्न खोजिएको छ,’ पौडेलले भने, ‘आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा कार्यकर्तालाई कारबाही गर्न खोज्नु घृणित नाटक हो।’
पूर्वसहमहामन्त्री जोशीले तनहुँमा दुई वर्षअघि भएको चुनावमा पौडेललाई हराएको आरोप छ। जोशीमाथि अनुशासन समितिमा उजुरी पनि छ। जोशी र मल्ललगायत अरू कार्यकर्तालाई कारबाही गर्न सभापति देउवा र पौडेलको सहमति छ भन्ने प्रचार गरेर आफूविरूद्ध षड्यन्त्र गरिएको उनले बताए।
‘इमान्दार कार्यकर्तालाई कारबाही गर्ने पपञ्च रचियो। सभापतिसँग मेरो कुनै सहमति भएको छैन। पार्टीका उम्मेदवार हराउन खुलेरै लागेका र इमान्दार कार्यकर्तालाई आरोपकै भरमा कारबाही गर्ने गरी एकै ठाउँमा मिसाएर कारबाही गर्न खोज्नु नै षड्यन्त्र हो,’ वरिष्ठ नेता पौडेलले भने।
जोशी पौडेल उठेकै क्षेत्र तनहुँमा कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए।
‘स्वयं बागी उम्मेदवार बन्ने र खुलेआम अन्तर्घात गर्ने (गोविन्दराज जोशी) र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारबाहीको नाटक मञ्चन गरिएको छ यो घृणित छ,’ पौडेलले थपे।
सभापति देउवाले यस्तै षड्यन्त्र र अनेक विकृत उपाय अवलम्बन गरेर सत्तामा हावी हुन खोजेको पौडेलको आरोप छ। ‘यस्तै षड्यन्त्र र अनेक विकृत उपाय अवलम्बन गरी सत्तामा हावी भइरहन चाहने प्रवृत्तिसँग मेरो लगाइँ जारी छ,’ उनले भने।
उनले षड्यन्त्रबाट पार्टी र लोकतन्त्र कमजोर हुने गरेको बताए। ‘नेपालमा पार्टी र लोकतन्त्र यस्तै प्रवृत्तिबाट कमजोर भएको हो। मलाई यो सैह्य छैन,’ उनले भने।
अनुशासन समितिले यसअघि गरेको कारबाहीमाथि पनि पौडेलले प्रश्न उठाएका छन्। गत साउनमा अनुशासन समितिले २०७४ सालमा भएको चुनावमा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने, बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारबाही गरेको थियो।
अनुशासन समितिको गत असार ३ गते बसेको बैठकले चुनावमा असहयोग गर्नेलाई सम्बन्धित जिल्लाको पार्टी अभिलेखबाट नाम हटाउने निर्णय गरेको थियो। तर त्यो निर्णय कार्यान्वयन नभएको पौडेलले दाबी गरे।
‘३२ जिल्लाको बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई पहिले कारबाही गरेर अभिलेखबाट नाम हटाउने निर्णय भएको थियो। तर अहिलेसम्म नाम हटाइएको छैन,’ पौडेलले भने, ‘विधानअनुसार पनि त्यस्ता अन्तर्घात गर्नेलाई पार्टीमा राख्न मिल्दैन। तर अहिलेसम्म राखिएको छ, किन हो? मैले बुझ्न सकेको छैन।’
सभापति देउवाले आफूलाई मन नपरेका मान्छेलाई पार्टीबाट निकाल्ने खेलअनुसार अनुशासन समितिबाट इमान्दार कार्यकर्तालाई पनि कारबाही गर्न खोजेको आरोप पौडेलको छ। ‘सभापतिजीलाई मन नपरेका मान्छेलाई निकाल्ने योजनाको रूपमा मैले बुझेको छु,’ पौडेलले सेतोपाटीसँग भने, ‘यस्तो धाँधली गरेर पार्टी कब्जा गर्न खोज्ने?’
नेताहरूको भागबन्डाका आधारमा केन्द्रीय समितिले गठन गरेको अनुशासन समिति अहिले विवादमा फसेको हो। समितिमा सिटौला समूहबाट सदस्य बनेका केन्द्रीय सदस्य उमाकान्त चौधरीले बुधबार राजीनामा दिएका थिए। देउवाइतर नेता/कार्यकर्तालाई कारबाही गर्न अनुशासन समितिले शुक्रबार बैठक राख्ने भएपछि सिटौलाको निर्देशनमा चौधरीले राजीनामा दिएका हुन्।
अनुशासन समितिमा सभापति देउवासहित तीन हजार जनाभन्दा बढी नेता, कार्यकर्ताविरूद्ध उजुरी परेको छ। उजुरी दर्ता गरेर सम्बन्धितसँग स्पष्टिकरण सोध्ने र कारबाही प्रक्रिया चलाउने काम समितिले सुरू गरेपछि कांग्रेसमा विवाद भएको हो।
अनुशासन समितिका संयोजक आङ्दम्वेले सदस्य चौधरीको राजीनामाबारे आफूहरूलाई आधिकारिक जानकारी नआएको बताए। उनले समितिले आफ्नो क्षेत्राधिकारअनुसार काम गरिरहेको पनि बताए।
यो पनि:
नवलपरासीमा आफ्ना मान्छे पठाएर देउवाले चिढ्याए शशांक