नेपाली कांग्रेसमा भिन्न गुट चलाइरहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले डाकेको भेलामा पुगेका केन्द्रीय सदस्य गगन थापाले अझै शक्ति बढाएर परिवर्तनको पक्षमा उभिने बताएका छन्।
पार्टीभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच विवाद हुँदा विधि, विधानको पक्षमा उभिएर सिटौलाले मध्यमार्घी भूमिका खेलेकोमा थापाले प्रशंसा पनि गरे।
‘कुनै अलमल विना कृष्णप्रसाद सिटौलाको नेतृत्वमा सहीमा सही र गलतमा गलत भनेका छौं,’ बत्तिसपुतलीमा सोमबार भएको भेलामा थापाले भने, ‘शक्ति बढाएर परिवर्तनको पक्षमा वातावरण निर्माण गर्ने हो।’
थापाले आफ्नो पुस्ताको काँधमा कांग्रेसको भविष्य राम्रो हुन्छ भन्ने जिम्मेवारीसमेत रहेको पनि बताए।
‘भविष्यको कांग्रेस राम्रो हुन्छ भन्ने आश्वस्त पार्ने जिम्मेवारी दिने काम हाम्रो हो,’ थापाले भने, ‘त्यो भूमिका निर्वाह गर्नुपर्छ।’
उनले परिवर्तनको पक्षमा पार्टी विधान पालना गरेर अगाडि बढ्ने पनि बताए।
‘पार्टीभित्र एकता निर्माण गरी विधानअनुसार चल्नुपर्छ,’ उनले भने, ‘हामी अल्मलिएको छैन। समयमै महाधिवेशन गर्न आफ्नो शक्तिलाई समुच्चमा पुर्याउनुपर्छ।’
एकपछि अर्को निर्णयका कारण पार्टीभित्र अनेक विवाद सिर्जना भइरहेको थापाले बताए। क्रयाशील सदस्यता बाँड्न थालिसकेको अवस्थामा विधानविपरीत विभाग संयोजक सभापतिले तोकेको उनको भनाइ छ।
‘१४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता बाँड्न थालिसक्यो अहिले विभाग बनाउने?,’ थापाले प्रश्न गरे, ‘विधानभन्दा धेरै विभाग किन? अहिले विभाग बनाउने कुरा गलत हो।’
उनले नवलपरासीमा पनि विधानमिचेर जिल्ला सभापति मनोनित गरिएको बताए।
‘नवलपरासीमा विधान मिचेर निर्णय गर्ने कुरा गतल,’ उनले भने।
सभापति देउवाले महाधिवेशनको वातावरणलाई अल्मल्याउने गरी भूमिका खेलेको आरोप थापाले लगाए।
‘एकपछि अर्का विवादास्पद निर्णयले महाधिवेशन गर्ने वातावरणलाई अल्मल्याइदिएको छ,’ उनले भने।
उनले सभापति देउवालाई अरू कुरा छाडेर तोकिएकै समयमा महाधिवेशन गर्ने गरी काम गर्न आग्रह गरे।
‘सभापतिले अधिवेशन गराउने हो। किन्तु परन्तु नभनी,’ उनले भने, ‘सभापतिको सफलता र असफलता भनेको महाधिवेशन समयमै गर्न सक्नु र नसक्नुमा हुन्छ।’
सभापति देउवालाई लचक भएर काम गर्न पनि उनले आग्रह गरेका छन्।
‘सभापति अलि लचक भएर काम गर्नुपर्यो। महामन्त्रीले पनि आफ्नो जिम्मेवारीअनुसार काम गर्नुपर्छ,’ उनले भने, ‘समायोजनका काम ३२ जिल्लामा सकियो भनेर हुन्न। फोन गर्नुपर्यो, प्रतिनिधि पठाउनुपर्यो र छिटो समायोजन गर्नुपर्यो।’
कांग्रेसले फागुन १५ भित्र आन्तरिक समायोजन सक्ने भने पनि अहिलेसम्म पूरा गर्न सकेको छैन। आन्तरिक समायोजनका काम पूरा नहुँदा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम धमाधम अघि बढेका छैनन्।
थापाले पार्टीभित्र एकता चाहेको पनि बताए। ‘पार्टीभित्र एकता चाहन्छौं। विधान सर्वोपरिता हुनुपर्छ। विधान मिचेर होइन पालना गरेर अगाडि बढ्नुपर्छ,’ उनले भने।
उनले पार्टीमा सजिलोका लागि विधान मिच्ने काम नगर्न पनि आग्रह गरेका छन्। ‘सजिलोका लागि विधान मिच्ने काम नगरौं। यसले समस्या ल्याउँछ। अधिवेशनको टार्गेट तलमाथि नहोस्,’ थापाले भने।
उनले प्रतिपक्षको भूमिका प्रभावकारी हुन नसकेको पनि बताए। ‘संविधानको परिपालना गर्न सरकार चुकेको छ। प्रतिपक्ष पनि यसमा चुक्यो। सही ढंगले भूमिका निर्वाह गर्नुपर्यो,’ थापाले भने।
यो पनि:
सिटौला समूहले बोलायो आन्तरिक बैठक