नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला कार्यसमितिमा देखिएको विवाद टुंग्याएको छ।
सभापति शेरबहादुर देउवाले गत फागुनमा पार्टीभित्र छलफलविनै जिल्ला सभापति मनोनित गरेका विष्णुप्रसाद पौडेललाई नै सभापतिमा निरन्तरता दिने गरी विवाद मिलाइएको हो।
आफू प्रतिनिधित्व गर्ने जिल्लामा सभापति देउवाले आफ्ना मान्छे पठाएको भन्दै त्यसबेला महामन्त्री शशांक कोइराला देउवासँग रूष्ट मात्र भएनन् पत्र नै पठाएर ध्यानाकर्षण गरेका थिए।
कोइराला पहिले नवलपरासी जिल्लाबाट प्रतिनिधित्व गर्थे। संघीय संरचनामा मुलुक जाँदा नवलपरासी (बर्दघाट पूर्व) र (बर्दघाट सुस्ता पश्चिम) गरी दुइटा जिल्ला बनाइयो।
२०७२ सालमा भएको अधिवेशनबाट निर्वाचित सभापति विष्णु लामिछाने नवलपुर (बर्दघाट पूर्व) मा क्रियाशील रहँदा पश्चिम नवलपरासीमा सभापति रिक्त रहेको थियो।
त्यहि रिक्त स्थानमा सभापति देउवाले पत्र ठमाउँदै पौडेललाई सभापतिको जिम्मेवारी दिएका थिए। तर तत्कालीन जिल्ला उपसभापति अर्जुनकुमार पोखरेललगायतले त्यसमा असहमति राखे। पोख्रेल महामन्त्री कोइराला निकट हुन्।
उनले वरिष्ठताका आधारमा पनि आफूलाई पश्चिम नवलपरासीको सभापतिको जिम्मेवारी दिनुपर्ने माग गरेका थिए। सभापति नहुँदा उनी कार्यबहाक जिल्ला सभापति भएर पनि काम गरिसकेका थिए।
सभापति देउवाले उपसभापति रहेका पोख्रेललाई जिम्मेवारी नदिएर पौडेललाई सभापति मनोनित गरेपछि महामन्त्री कोइरालाले असन्तुष्टि जनाएका थिए। जिल्लामा देखिएको गुटगत विवाद चार महिनापछि सोमबार केन्द्रीय कार्यालयमा छलफल गरेर टुंग्याइएको हो।
प्रवक्ता विश्वप्रकाश शर्मा र मुख्यसचिव कृष्णप्रसाद पौडेलले दुवै पक्षका जिल्ला नेतालाई राखेर छलफल गर्दै सात बुँदे सहमति गरेका हुन्। सात बुँदे सहमतिमा सभापति विष्णुप्रसाद पौडेल, उपसभापति अर्जुनकुमार पोखरेल, बिक्रम खनाल र देवराज भण्डारीले हस्ताक्षर गरेका छन्।
दुई गुटबीच भएको सहमतिमा पौडेललाई नै सभापतिमा सबैले सहयोग गरेर जाने उल्लेख छ। जसलाई सभापति देउवाले फागुनमा जिल्ला सभापति मनोनित गरेका थिए।
यस्तै कांग्रेसको संघीय विधानअनुसार जिल्लामा रहने दुई जना उपसभापति पनि टुंग्याइएको छ। उपसभापतिमा अर्जुनकुमार पोखरेलपछि तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सभापति सुवास गिरी उपसभापति रहने सहमति छ।
हेर्नुस् सहमतिका बुँदा:
जिल्ला सभापतिका रूपमा गत फागुन २५ गते पौडेलले कार्यभार सम्हालिसकेका थिए। अनुशासन समिति सदस्यसमेत रहेका देउवानिकट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सभापति पौडेललाई पदस्थापना गरेका थिए। कँडेल नवरपरासी जिल्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सांसद पनि हुन्।
सभापति देउवाले नियमित चार वर्षे कार्यकाल सकिने बेला गत फागुनमा भटाभट मनोनित गर्दा जिल्ला सभापतिमा आफू निकट पौडेललाई मनोनित गरेपछि विवाद भएको थियो। विधानको धारा ५० को ८ अनुसार कार्यवहाक जिल्ला सभापति हटाउन नमिल्ने महामन्त्री कोइराला पक्षको अडान थियो। उक्त धारामा सभापतिको मृत्यु वा राजीनामापछि रिक्त भए उपसभापति कार्यवहाक हुने उल्लेख छ।
उक्त तर्कमा सभापति देउवा पक्ष सहमत थिएनन्। जिल्ला सभापति विधानअनुसार मनोनित गरिएको दाबी उनीहरूको थियो। एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने विधानको व्यवस्था समाएर सभापति देउवाले पौडेललाई नियुक्त गरेका थिए।
उपसभापति पोख्रेल महाधिवेशन प्रतिनिधि होइनन्। विधानमा सभापति हुन महाधिवेशन प्रतिनिधि हुनुपर्ने व्यवस्था भएका कारणले पौडेल नै सभापतिमा निरन्तरता दिने सहमति भएको कांग्रेसले जनाएको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पश्चिम नवलपरासीमा देखिएका विवाद समाधान भइसकेको र अब अधिवेशनका लागि क्रियाशील सदस्यतालगायत गतिविधि अगाडि बढ्ने जानकारी दिए।
यो पनि:
नवलपरासीमा आफ्ना मान्छे पठाएर देउवाले चिढ्याए शशांक