जाडो महिनामा अधिकांश बच्चालाई निमोनिया, घ्यारघ्यार र दमजस्ता समस्याले सताउँछ। अन्य उमेर समूहभन्दा बच्चाहरूमा रोगसँग लड्ने क्षमता कम हुन्छ। यो मौसम ब्याक्टेरिया, इन्फ्लुएन्जा र आरएसपी भाइरसका लागि अनुकुल हुनाले बच्चाहरू चाँडै संक्रमित हुन्छन्।
रुघाखोकी लाग्दा बच्चाको छेउमा हाच्छिँउ गर्दा, त्यही हातले बच्चा बोक्दा, पहिलेदेखि नै दमको समस्या भएको र चिसोको एलर्जी भएका बच्चा चाँडै संक्रमित हुन सक्छन्।
कसरी जोगाउने?बच्चाको सही हेरचाह नै रुघाखोकीबाट उनीहरूलाई जोगाउनु हो। जस्तै चिसो भन्दैमा धेरै कपडा लगाइदिन हुँदैन। चाहिनेभन्दा धेरै कपडा लगाइदिए पसिना आउँछ र त्यो शरीरमा नै सोसिन्छ। यसले झनै चिसो गराएर निमोनिया हुन सक्छ।
त्यस्तै, हामीकहाँ बच्चालाई आगोमा सेकाउने चलन छ। यो एकदमै गलत काम हो। झ्यालढोका बन्द गरेर सेकाउनु झनै खतराजनक। धुवाँले बच्चाको फोक्सो असर गर्छ। कोइलामा सेकाउन पर्यो भने झ्यालढोका खुला राख्नुपर्छ। ह्यालोजन हिटरमा सेक्नु ठीक हुन्छ।
जाडोमा बच्चालाई धेरै नुहाइदिन हुँदैन भन्नु पनि गलत हो। धेरै समय नुहाएन भने बच्चामा संक्रमण हुन्छ र बिरामी हुने सम्भावना हुन्छ। हप्तामा दुई पटक बच्चालाई नुहाइदिनु पर्छ। नुहाउन गाह्रो हुन्छ भने थोरै तातो पानीमा कपडा भिजाएर जिऊ पुछिदिन सकिन्छ। सके दैनिकरुपमा नभए पनि पसिना आएपछि चाहिँ कपडा फेरिदिनुपर्छ।
राम्रोसँग हात धोएर, स्यानिटाइजर र मास्क लगाएर मात्र मात्रै बच्चा छुन पर्छ। रुघाखोकी लागेको छ भने ठूलो मान्छेले एन्टिबायोटिक खानुपर्छ जसले बच्चालाई संक्रमण हुनबाट जोगाउँछ। १२–१ बजेको घामले बच्चालाई हानी गर्ने हुनाले ८–९ बजे राख्नु राम्रो हुन्छ।
के खुवाउने?बच्चालाई कहिले पनि फ्रिजबाट सिधै निकालेका खानेकुरा खुवाउन हुँदैन। रुघाखोकीका बेला दही र केरा नखुवाउने। सफा, तातो, झोलभएका खानेकुरा जस्तै जाउलो, दाल र गेडागुडीको रसका साथै प्रोटिन र भिटामीन सि भएका खानेकुरा खुवाउँदा बच्चाको स्वास्थ्यमा सुधार आउँछ।
बिरामी भएको कसरी थाहा पाउने?बच्चाले आफू बिरामी भएको आफैं व्यक्त नगर्ने हुँदा उनीहरूको दैनिक गतिविधि र आनीबानी हेर्नुपर्छ। राम्रोसँग खाना नखाने, नखेल्ने, स्याँ–स्याँ हुने जस्ता लक्षण देखिएमा बालबालिका बिरामी भएको बुझ्न पर्छ। यस्तो अवस्थामा उसलाई तुरुन्त अस्पताल लैजानपर्छ।