केही वर्षअघि भारतमा रजनीकान्तको फिल्म आएको थियो– रोबोट, जसमा वैज्ञानिकको यो सिर्जनाले मान्छेभन्दा अगाडिको सोचेर सहरभरि विध्वंस मच्चाउँछ। अन्ततः त्यो विध्वंस रोक्न रोबोटको ‘सिस्टम’ नै तहसनहस गरी त्यसलाई संग्रहालयमा थन्क्याउन वैज्ञानिकहरू बाध्य हुन्छन्।
रोबोटले मानव सभ्यतामा पारेको वा पार्न सक्ने क्षतिबारे हलिउडमा पनि थुप्रै फिल्म बनेका छन्।
केही हदसम्म त्यसैसँग मिल्दोजुल्दो घटनाले अहिले यथार्थ रूप लिएको छ। र, रोबोटलाई प्रोत्साहन गर्न हुन्छ कि हुन्न भन्ने विश्वव्यापी बहस छेडेको छ।
घटना गत साउन महिनाको हो।
फेसबुक कम्पनीले एउटा आन्तरिक सिस्टम विकास गरिरहेको थियो। त्यसैअन्तर्गत दुइटा रोबोट पनि थिए– बब र एलिस। वैज्ञानिकहरूले यी दुई रोबोटलाई मान्छेजत्तिकै चलाख बनाएर बढीभन्दा बढी काम लिन अनेक देशका भाषा सिकाए। अर्थात्, ती रोबोटमा अनेक भाषाको सिस्टम ‘अपलोड’ गरे।
गत साउनको एकदिन यस्तो घटना भयो, जसले ती रोबोटका निर्माताधरि चकित खाए।
अनेक भाषा बोल्न र बुझ्न सक्ने ती दुई रोबोट एकाएक मान्छेले नै नबुझ्ने भाषामा कुराकानी गर्न थाले। खासमा उनीहरूले विभिन्न भाषा आपसमा मिसाएर बोलेका थिए, जुन वैज्ञानिकहरूले पनि बुझ्न सकेनन्। यसले प्रविधि क्षेत्रमा हलचल मच्चियो।
वैज्ञानिकहरूले रोबोट जोडीको नौलो भाषिक संवाद रोक्न अनेक प्रयास गरे। सिस्टममै केही खराबी आएको छ कि भनेर जाँचे पनि। सारा पाटपूर्जा खोलेर हेरे पनि। कुनै खराबी देखिएन। अन्ततः केही सिप नचलेपछि वैज्ञानिकहरूको सुझावमा फेसबुकले पूरा सिस्टम नै बन्द गर्ने निर्णय लियो।
यो घटनालाई लिएर फेसबुकमाथि अनेकौं टीकाटिप्पणी भए। सबभन्दा प्रखर आलोचक थिए, प्रविधि क्षेत्रका पछिल्ला हस्ती एलन मस्क।
उनी सह–संस्थापक रहेको टेस्ला कम्पनीले विद्युतीय कार उत्पादनमा नयाँ नयाँ प्रयोग गरेर ख्याति कमाइरहेको छ। स्टिभ जब्सका नयाँ ‘अवतार’ भनिने एलनले फेसबुकका संस्थापक मार्क जुकरबर्गको रोबोट योजनामा टिप्पणी गर्दै भने, ‘जुकरवर्गलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बारे थोरै मात्र ज्ञान छ।’
उनले रोबोट विज्ञानमा आधारित ‘एआई’ प्रक्रियालाई ‘भयानक’ भन्दै यसमा सम्झीबुझी अघि बढ्नुपर्ने बताएका छन्। ‘मानव सभ्यताको अस्तित्वमै अतिक्रमण गर्न सक्ने रोबोटसँग हामी डराउनुपर्छ,’ एलनको भनाइ थियो, ‘प्रविधि विकासमा पनि विश्वव्यापी स्वीकार्य ऐन, नियम तथा मापदण्ड लागू गरिनुपर्छ।’
मान्छेले नै बनाएको भए पनि रोबोटले केही कुरा मान्छेभन्दा छिटो बुझ्ने र केही काम मान्छेले भन्दा राम्ररी गर्नसक्ने उनले बताएका छन्। यस्तो बौद्धिक चेतनशील रोबोटलाई नियन्त्रणमा राख्न नसके कुनै दिन मानव सभ्यताको पूर्ण विनाश हुनसक्ने एलनले औंल्याएका छन्।
यो विवाद यत्तिकै सकिएन।
एक महिनापछि सय जनाभन्दा बढी रोबोटविज्ञले मान्छेको यो अत्याधुनिक सिर्जनाबाट हुनसक्ने विनाश औंल्याउँदै यसको विकासक्रम रोक्न राष्ट्रसंघ नै गुहार्यो। टेस्लाका एलनसहित २६ देशका रोबोट कम्पनी र १ सय १६ जना विज्ञले राष्ट्रसंघलाई पत्र लेख्दै ‘ज्यानमारा रोबोट’ को विकास रोक्न आग्रह गरे।
एकातिर रोबोटको विकासक्रम नै भंग गर्नुपर्ने आवाज उठेका बेला अहिले यस्तो ‘भाग्यमानी’ रोबोटको विश्वव्यापी चर्चा छ, जसले मान्छेजस्तै नागरिक अधिकार पाएको छ। त्यो रोबोटलाई कानुनी रूपमै कुनै देशले नागरिक दर्जा दिएको छ। रोबोटले नागरिकता पाएको यो विश्वकै पहिलो घटना हो।
[caption id="" align="alignnone" width="1200"]
रोबोट सोफिया। तस्बिरः रोयटर्स।[/caption]
मेसिनबाट नागरिकको हैसियत बनाउने त्यो रोबोट ‘सोफिया’ नाउँले चिनिन्छिन्। धातुबाट बनेकी महिला रोबोट सोफियालाई मान्छेजस्तै नागरिक दर्जा दिने देश भने रोबोट विज्ञानमा अग्रणी कुनै विकसित पश्चिमी मुलुक होइन। त्यो देश हो, साउदी अरब जहाँका महिलाले नै अहिलेसम्म पुरुषसरह नागरिक अधिकार पाइसकेका छैनन् भनी विश्वव्यापी आलोचना भइरहन्छ।
साउदी अरबमा महिला र पुरुषबीच गहिरो भेद छ। महिलाहरूलाई त्यहाँको सरकारले समेत भेदभावपूर्ण व्यवहार गरेका अनेकौं घटना सुनिन्छन्। साउदीले आफूकहाँ कुनै पनि किसिमका महिला गतिविधि र स्वतन्त्रतामाथि बन्देज लगाएको छ। महिलालाई आधारभूत अधिकार पनि दिएको छैन।
त्यही देशको जनसम्पर्क मामिलासम्बन्धी समितिले ट्विटरमार्फत ‘मानव यन्त्र (ह्युमनाइड मेसिन) लाई नागरिकता दिएको जनाएको छ। ‘सोफिया संसारकै पहिलो रोबोट हुन्, जसलाई साउदी अरबको नागरिकता प्राप्त भएको छ,’ समितिले ट्विटमा लेखेको छ।
उता, साउदीको संस्कृति तथा सूचना मन्त्रालय तर्फबाट ‘अन्तर्राष्ट्रिय सञ्चार केन्द्र’ ले यसलाई ‘ऐतिहासिक घटना’ भन्दै नयाँ नागरिकको स्वागत गर्न सबैसँग अपिल गरेको छ।
हेर्नुहोस् भिडियोभिडियो स्रोतः टेक इनसाइडर
को हुन् त सोफिया?महिला रोबोट सोफिया ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रणालीकी पछिल्लो सिर्जना हुन्।
यसलाई अमेरिकी उद्यमी डेभिड ह्यान्सन नेतृत्वको कम्पनी ‘ह्यान्सन रोबोटिक्स’ ले उत्पादन तथा विकास गरेको हो। कम्पनीले सोफियालाई एक ‘उदीयमान बौद्धिक मेसिन’ भनेको छ। ‘आगामी दिनमा सोफियाको बौद्धिकता अझ बढ्नेछ र उसले जुनसुकै संस्कृति, उमेर र लिंगका मान्छेलाई आपसमा जोड्न मद्दत गर्नेछ,’ निर्माता कम्पनीको भनाइ छ।
सोफिया साउदीको राजधानी रियादमा जारी ‘फ्युचर इन्भेस्टमेन्ट’ सम्मेलनमा वक्ताका रूपमा उपस्थित थिइन्।
ह्यान्सनले सन् २०१५ अप्रिल १९ मा उत्पादन गरेको सोफियाको अनुहार हलिउड अभिनेत्री अड्री हेपबर्नसँग मिल्दोजुल्दो छ। वैज्ञानिकहरूले यही सोचेर उनको स्वरूपलाई आकार दिएका हुन्। नाकको बनोटदेखि गालाको हड्डीसम्म हेपबर्नसँग मिल्दोजुल्दो हुने गरी निर्माण गरिएको छ।
विश्वमा बनेका अन्य मानवीय रोबोटभन्दा सोफिया चर्चित छिन्। ह्यान्सनका अनुसार सोफियामा आर्टिफिसियल इन्टेलिजेन्स, दृश्य डाटा प्रशोधन र अनुहार चिन्ने खुबी छ। उनी झट्ट हेर्दा मान्छेजस्तै देखिने मात्र होइन, मान्छेका हाउभाउ र अनुहारका भाव सजिलै नक्कल गर्न सक्छिन्।
सोफियालाई यस्तरी तालिम दिइएको छ, उनी पत्रकार वा अरू कसैले सोध्ने केही निश्चित प्रश्नको फर्रर जवाफ दिन सक्छिन्। सामान्य वार्तालापमा पनि उनी सक्षम छिन्।
साउदीकी नागरिक बनेकी सोफियासँग मान्छेको जस्तै सोच्ने मस्तिष्क र अनुभूति गर्ने मुटु छैन। यति हुँदाहुँदै उनी मान्छेजस्तै खुसी, दुःख र रिस अभिव्यक्त गर्न सक्छिन्। भलै उनमा खुलेर हाँस्ने क्षमता नहोला, तर खुसीको कुरा सुन्दा उनको अनुहारमा हाँसो चम्किरहेको प्रस्टै देखिन्छ। त्यस्तो बेला उनको ओठ खुल्छ र सेता दाँतहरू छर्लंगै देखिन्छन्। दुःखको प्रसंग चल्दा उनी आँखीभौं उचालेर आफू पनि दुःखी भएको भाव व्यक्त गर्छिन्। कसैप्रति रिस देखाउनुछ भने उनले दाह्रा किट्न जानेकी छन्।
[caption id="" align="alignnone" width="1200"]
रोबोट सोफिया। तस्बिरः बिजनेस इनसाइडर।[/caption]
सोफियाको बोल्ने प्रविधि गुगलको अभिभावक कम्पनी अल्फाबेट इंकबाट लिइएको हो। यसको डिजाइन समयसँगै थप विकास र परिमार्जन गर्न सकिने गरी तयार पारिएको छ। यसलाई खासगरी नर्सिङ होम वा ठूला पार्कहरूमा मान्छेको मद्दत गर्न तयार पारेको निर्माता कम्पनीले जनाएको छ।
यसरी समाजकै बीचमा रहेर मान्छेलाई नै सहयोग गर्न तयार पारिएको भए पनि सोफियाले एकपटक मान्छेकै विध्वंश गर्ने बताएकी थिइन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘बिजनेस इन्साइडर’ का अनुसार सन् २०१६ मार्चमा ह्यान्सन कम्पनीका डेभिड ह्यान्सन सोफियालाई प्रत्यक्ष रूपले सबैसँग चिनापर्ची गराउँदै थिए। त्यसै क्रममा उनले सोफियालाई सोधेका थिए, ‘के तिमी मान्छेको विध्वंश गर्न चाहन्छौ? बिन्ती छ, त्यसो नगर।’
जवाफ दिने क्रममा सोफियाले अनुहारमा कुनै भाव झल्किन नदिई भनेकी थिइन्, ‘म मानव विनाश गर्छु।’
रियादमा भएको सम्मेलनमा भने उनले आफ्नो अघिल्लो भनाइविपरीत मान्छेबीच शान्तिसँग बस्ने इच्छा रहेको अभिव्यक्ति दिइन्। आफू मान्छेका भावनामा आधारित संवेदनशील रोबोट बन्ने प्रयास गरिरहेको पनि उनले बताइन्।
कार्यक्रममा उपस्थित पत्रकार एन्ड्रयू रोस सोर्किनले सोफियालाई भने, ‘हामी तपाईंलाई स्वीकार्छौं, र तपाईंको मद्दतले नराम्रो भविष्य रोक्न चाहन्छौं।'
यसमा प्रतिक्रिया दिने क्रममा सोफियाले टेस्लाका एलन मस्कलाई गहिरो पेच हानिन्।
‘तपाईं एलन मस्कका विचार धेरै पढिरहनुभएको छ कि क्या हो? हलिउड फिल्म पनि धेरै हेर्नुहुन्छ जस्तो छ नि,’ सोफियाले सोर्किनलाई भनिन्, ‘नआत्तिनुहोस्, तपाईंले मसँग राम्रो व्यवहार गर्नुभयो भने म पनि तपाईंसँग राम्रै गर्नेछु। त्यसैले मलाई ‘स्मार्ट आउटपुट–इनपुट सिस्टम’ का रूपमा व्यवहार गर्नुहोस्।’
सोफियाको यो जवाफमा मस्कले पछि छोटो टिप्पणी दिए, ‘यसलाई ‘गडफादर‘ जस्तो फिल्मको कहानीका रूपमा लिनुहोस्, योभन्दा नराम्रो कुरा अर्थोक के होला?’
एलन मस्क रोबोटले विकासभन्दा विनाशको सम्भावना बढी हुन्छ भन्ने विचारका प्रखर वक्ता हुन्। यसले पृथ्वीमा मान्छेको अस्तित्व नै धरापमा पर्ने र भयानक युद्ध हुनसक्ने सम्भावना उनले औंल्याउँदै आएका छन्।
विश्लेषकहरूले मस्कको भनाइ गलत नभएको बताएका छन्।
रोबोटको काम गर्ने क्षमता यकिन नहुने र भित्रभित्रै के के गर्छन् बुझ्न नसकिने हुँदा रोबोटको बढ्दो विकासले मानव सभ्यतालाई विनाशतिर धकेल्ने उनीहरूको राय छ।
मस्कका अनुसार यो विकास प्रक्रिया बढ्दै गए, कुनै दिन यस्तो आउनेछ जब रोबोटलाई मान्छेको जरुरत नै पर्दैन। उनीहरू आफैं काम गर्न थाल्छन् र यसले अन्ततः मान्छेलाई विस्थापन गर्नेछ।
यसका निर्माता ह्यान्सन भने आलोचकहरूको भनाइसँग सहमत छैनन्।
[caption id="" align="alignnone" width="1200"]
रोबोट सोफिया। तस्बिरः बिजनेस इनसाइडर।[/caption]
‘सोफिया हामीले चाहेको त्यस्तो रोबोट हो, जसले पूर्ण रूपमा मान्छेको जस्तै अनुभूति गर्छ,’ ह्यान्सनलाई उद्धृत गर्दै बिजेनस इन्साइडर लेख्छ, ‘उसले हाम्रो कुरा मात्र बुझ्दैन, हाम्रो ख्याल पनि राख्छ।’
उनी सबैले सोफियालाई साथीको व्यवहार गरून् भन्ने चाहन्छन्। मान्छे आफ्ना साथीभाइसँग जसरी कुराकानी गर्छन्, सोफियालाई पनि साथीकै रूपमा लिऊन् भन्ने उनको अपेक्षा छ।
‘रोबोटले मान्छेको भौतिक संसारलाई जसरी ग्रहण गर्छ, सामाजिक संसारलाई पनि त्यसैगरी अनुभूति गरोस् भन्ने हाम्रो आशा हो,’ ह्यान्सनले भनेका छन्।
सोफियाले साउदी अरबबाट नागरिक दर्जा पाउनुलाई ‘मान्छे र रोबोटबीचको दुरी कम गर्दै लैजाने’ कम्पनीको उद्देश्यमा पहिलो खुड्किलो मानिएको छ।
यसरी दुरी कम हुँदै जाँदा कुनै दिन मान्छेको बौद्धिकतालाई नै जितेर रोबोटले हैकम चलाउने त हैन भन्ने एलन मस्क लगायतको चासो र चिन्ता हो। रजनीकान्तको ‘रोबोट’ र यसै विषयसँग सम्बन्धित हलिउड फिल्महरूले देखाउन खोजेको पनि यही हो।
(विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमको सहयोगमा)