तीनदेखि जारी झापाको विर्तामोडको निषेधाज्ञा प्रशासनले नहटाउँदा सर्वसाधारण मारमा परेका छन्। पूर्वपश्चिम राजमार्गको मुत्तिचौकदेखि ४ सय मिटर क्षेत्रलाई लक्षित गरी प्रशासनले निषेधाज्ञा आज बिहान पनि कायमै राखेको स्थानीय सर्वसाधारणले बताएका छन्।
अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि तीन दिनदेखि विर्तामोडको शान्तिसुरक्षा भड्किएको थियो। विर्तामोडमा हिंसा भड्किएपछि मुत्तिचौकको पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा झापा प्रशासनले निषेधाज्ञा घोषणा गरेको थियो।
प्रहरीले स्थिति नियन्त्रण लिने बहानामा चलाएको गोली लागेर झापा अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको ज्यान समेत गएको थियो। अन्य ९ जना घाइते भएका छन्। घाइते सबैको विर्तामोड, भद्रपुर र काठमाडौंमा उपचार भइरहेको छ। घाइते मध्ये १ जनाको अवस्था गम्भिर छ।
निषेधाज्ञाका कारण विर्तामोड क्षेत्र आज पनि बिहानैबाट सुनसान छ। विर्तामोडका अधिकांश पसल बन्द छन्। विर्तामोड हुँदै लामो तथा छोटो दूरीका सवारीका साधन सञ्चालनमा आउन सकेका छैनन् भने विर्तामोड क्षेत्रका विद्यालय , क्याम्पस , उद्योगधन्दा, कलकारखाना बन्द रहेका छन्। पूर्वबाट पश्चिम जाने यातायाताका साधनलाई बसपार्क हुँदै महानन्द चौकबाट वाईपास गरिएको छ भने पश्चिमबाट पूर्व जाने यातायातका साधनलाई सोही मार्गको प्रशासनले अख्तियारी दिएको छ। यस्तै, भद्रपुरबाट आउने सर्वसाधारण र यातायातका साधनलाई गारामूनिबाट विर्तामोड बसपार्क प्रवेश दिइएको छ।
विर्तामोडमा भएको झडपमा परी प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि हिजो नेपाली सेनाको हेलिकप्टरद्धारा काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टर पुर्याइएको छ।
उनको अवस्था गम्भिर रहेको झापाका प्रमुख जिल्ला अधिकारी ऋषीराम तिवारीले बताए। उनले गएराति पनि अवान्छित गतिविधि गर्ने समूहले निषेधाज्ञा तोडेर सडकका टायर बाल्ने प्रयास गरेकाले निषेधाज्ञा लम्बिएको जानकारी दिए। विर्तामोडको अवस्था हेरेर निषेधाज्ञा खुकुलो हुँदै जाने बताए।
यता भद्रपुरको मेची अञ्चल अस्पताल र विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा प्रहरीको गोली लागि घाइते भएको अवस्था सुधारोन्मुख भएको बताइएको छ। बीएण्डसी अस्पताल विर्तामोडका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार विएण्डसीमा उपचारत सबै घाइते खतरामुक्त छन्।