त्रिभुवन शिक्षण अस्पतालका प्राध्याक डा. गोविन्द केसीको माग सम्बोधन गर्न भन्दै सरकारले चिकित्सा शिक्षा अध्यादेश पारित गरे पनि अझै राष्ट्रपतिबाट प्रमाणिकरण भएको छैन।
सरकारले राष्ट्रपतिसमक्ष अध्यादेश पठाएको ९ दिन भइसकेको छ। साता भन्दा बढी समय सम्म पनि राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण नभएपछि डाक्टर गोविन्द केसीलगायत वार्ता टोलीका केही सदस्यहरू त्यसबारे बुझ्न मंगलबार शिक्षा मन्त्रालय पुगेका थिए।
मन्त्रालय पुगेको टोलीलाई राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको जानकारी आएको वार्ता टोलीका सदस्य डा. अभिषेकराज सिंहले सेतोपाटीलाई बताए।
मंगलबार दिउँसो शिक्षा मन्त्रालयको पुगेको टोलीलाई मन्त्रालयले सरकारका तर्फबाट आवश्यक गृहकार्य सकेर एक साताअघि नै अध्यादेश राष्ट्रपतिलाई पठाएको जानकारी दिएका थिए।
‘राष्ट्रपतिकोमा अध्यादेश पुगेर थन्किएको रहेछ, किन हो त्यसबारे जानकारी छैन। अध्यादेश कहिले प्रमाणिकरण हुने हो र किन रोकियो हामीलाई कुनै जानकारी आएको छैन,’ सिंहले भने।
गत कात्तिक ६ गते डा. गोविन्द केसीको सुझाव र माथेमा प्रतिवेदनमा आधारित रहेर सरकारले अध्यादेश पारित गरेको थियो। राष्ट्रपतिबाट अध्यादेश जारीपछि कार्यान्वयनमा आउनेछ।