‘तपाईं अहिले नै गुगल इमेज (तस्बिर) मा जानुस्,’ फोटोग्राफर मिहाएला नोरोकले भनिन्, ‘र, ‘ब्युटिफुल वुमन’ टाइप गरेर कस्ता–कस्ता तस्बिर आउँछन् हेर्नुस्।’
मैले उनले भनेजस्तै गरेँ। दसौं लाख तस्बिर आए।
ती तस्बिर विभिन्न देशका मोडल तथा फिल्म अभिनेत्रीका थिए, धेरैजसो अर्धनग्न वा पारदर्शी पहिरनमा। कतिले त भित्री वस्त्र वा ‘स्विमिङ कस्ट्युम’ मात्र लगाएका थिए। ‘हाई हिल’ पहिरिएका थिए। लुगा लगाएकै भए पनि जीउमा टपक्क टाँसिएको थियो, शरीरका बान्कीहरू बाहिरैबाट प्रस्ट झल्किने गरी। उनीहरूको छाला गोरो, सफा र चम्किलो थियो भने शरीर छरितो र कपाल कैलो।
‘हामीकहाँ महिला सुन्दरता भनेकै यही हो,’ मिहाएलाले भनिन्, ‘महिलालाई वस्तुका रूपमा लिनु र अत्यन्तै यौनिक ढंगले प्रस्तुत गर्नु नै उनीहरूको सुन्दरता झल्काउने तरिका बन्दै आएको छ, यो हाम्रो दुर्भाग्य हो।’
[caption id="attachment_101410" align="alignnone" width="825"]
बायाँबाट दायाँ- जर्मनी, इटाली र फ्रान्समा। तस्बिरः मिहाएला नोरोक[/caption]
‘महिला सुन्दरता भनेको यति मात्र होइन। हामीसँग हाम्रो आफ्नै कथा छ, हाम्रा संघर्ष छन्, हाम्रो शक्ति छ, तर हाम्रा यी परिचय उजागर भएका छैनन्। महिला, त्यसमाथि पनि युवती भन्नेबित्तिकै गुगल इमेजले देखाउने तस्बिरजस्तै आकृति धेरैका दिमागमा आउँछन्। यो हाम्रो असली परिचय होइन। हामी जस्तो छौं, हामीलाई त्यही रूपमा हेर्ने र सुन्दर मान्ने साहस सबैमा हुनुपर्छ,’ उनले भनिन्।
‘तर,’ उनले थपिन्, ‘गुगल भनेको के हो? हामी नै त हौं। धेरैले महिलाको सुन्दरतालाई जुन रूपमा बुझ्छन् वा हेर्छन्, गुगलले देखाउने त्यही हो।’
रोमानियन फोटोग्राफर मिहाएलाले आफ्नो कलामार्फत् महिलाको त्यही सुन्दरता खोजेकी छन्, जुन गुगल इमेजले देखाउँदैन। उनले आफ्नो तस्बिरका माध्यमबाट महिलाको त्यही वास्तविक सौन्दर्य उजागर गरेकी छन्, जुन रूपमा हामी अक्सर महिलालाई सुन्दर देख्दैनौं।
[caption id="attachment_101411" align="alignnone" width="825"]
भारतको पुस्करमा मिहाएलाले खिचेको तस्बिर।[/caption]
[caption id="attachment_101412" align="alignnone" width="825"]
कोलम्बिया (बायाँ) र इटालीको मिलानमा (दायाँ)। तस्बिरः मिहाएला नोरोक[/caption]
मिहाएलाले हालै सार्वजनिक गरेको आफ्नो पहिलो फोटो–पुस्तक ‘एट्लास अफ ब्युटी’ मा विभिन्न देशका पाँच सय महिलाको ‘पोट्रेट’ समेटिएको छ। ती विभिन्न उमेरका छन्, विभिन्न पेसाका छन् र उनीहरूको पृष्ठभूमि फरक छ।
किताबमा समेटिएका तस्बिर हेर्दा मिहाएलाको नजरमा सुन्दर महिलाको परिभाषा फरक देखिन्छ। उनले अर्थ्याउन खोजेको परिभाषा हो– महिला सुन्दरताको कुनै परिभाषा हुँदैन।
‘मान्छेहरू मैले खिचेका तस्बिर मन पराउँछन्, किनकि म हाम्रै वरिपरिका अनुहार देखाउँछु, हामीले दिनहुँ टोलछिमेकका सडकमा देख्ने अनुहार,’ उनले भनिन्, ‘अक्सर हामी महिला र सुन्दरताका बारेमा कुरा गर्दा एकदमै अवास्तविक र कृत्रिम ढंगबाट सुन्दरता झल्काउन खोज्छौं।’
‘मेरा तस्बिर भने वास्तविक र सामान्य हुन्छन्। ती तस्बिर हेरेर मान्छेहरू छक्क पर्नुको कारण यही हो। किनकि, धेरैले महिलालाई यो रूपमा देखेकै हुँदैनन्। महिला सुन्दरतालाई यो रूपमा बुझेकै हुँदैनन्।’
[caption id="attachment_101413" align="alignnone" width="825"]
अमेरिकाको न्यूयोर्कमा दिदीबहिनी एबी र एन्जेला। तस्बिरः मिहाएला नोरोक[/caption]
[caption id="attachment_101414" align="alignnone" width="825"]
मेक्सिकन फेडरल प्रहरीकी हेलिकप्टर पाइलट क्याप्टेन बेरेनीस टोरेस। तस्बिरः मिहाएला नोरोक[/caption]
मिहाएलाले किताबमा समेटेका सबै पाँच सय पोट्रेटमा विस्तृत ‘क्याप्सन’ राखिएको छ, जसमा फोटो कहाँ खिचिएको भन्ने जानकारी छ। अधिकांश तस्बिरमा विषयवस्तु र पृष्ठभूमिसमेत खुलाइएको छ।
महिला सुन्दरताको परम्परागत परिभाषाविरुद्ध उनीहरूको वास्तविक रूपलाई नै सुन्दरताको अर्थमा झल्काउन खोजेकी मिहाएलाले यसको निम्ति थुप्रै देश चहारेकी छन्। उनको यो किताबमा नेपालसहित तिब्बत, इथियोपिया, इटाली, उत्तर कोरिया, जर्मनी, मेक्सिको, भारत, अफगानिस्तान, बेलायत, अमेरिका र अमेजन रेनफरेस्ट क्षेत्र (उत्तरपश्चिमी ब्राजिल, कोलम्बिया, पेरु लगायत दक्षिण अमेरिकी राष्ट्रहरू) का तस्बिर संकलित छन्।
यी देशमा गएर महिलाको पोट्रेट खिच्नु आफैंमा रोचक अनुभव रहेको उनी बताउँछिन्। उनका अनुसार धेरै देशमा यो अभियान र विषयवस्तु मान्छेले मन पराए। कतिपय ठाउँमा भने यसरी देश–देश डुलेर तस्बिर खिच्दै हिँड्नुको कारण बुझाउन गाह्रो परेको उनको अनुभव रह्यो।
‘मैले यी सबै तस्बिर बाटोमा हिँड्दा हिँड्दै खिचेकी हुँ। म अक्सर तस्बिरको खोजीमा सडक–सडक भौंतारिने गर्छु। वास्तविक सुन्दरता खोज्न सडकमा ओर्लिनुपर्छ भन्ने मलाई लाग्छ। बाटोमा हिँडिरहेकी कुनै महिलाको फोटो खिच्न मन लाग्यो भने म उनलाई सोध्छु। आफ्नो कामका बारेमा बताउँछु। म को हुँ, किन यस्तो गर्दैछु भनेर बुझाउँछु। अनि, अनुमति माग्छु। कतिपयले हुन्छ भनेर तस्बिर खिचाउन मान्नुहुन्छ, कतिपयले मान्नुहुन्न। यो पनि देशअनुसार फरक पर्ने कुरा रहेछ,’ मिहाएलाले भनिन्।
[caption id="attachment_101415" align="alignnone" width="825"]
उत्तर कोरियाको राजधानी प्योङयाङस्थित सैन्य संग्रहालयकी गाइड। तस्बिरः मिहाएला नोरोक[/caption]
अलिकति परम्परागत सोचाइ भएका समाजमा तस्बिर खिच्ने अनुमति पाउन गाह्रो परेको उनले बताइन्।
‘कतिपय समाजमा महिलाले ठूलो दबाब झेलिरहेका हुन्छन्। उनीहरूको दैनिक जीवन नै अरू कसैको नियन्त्रण वा निगरानीमा हुन्छ। त्यस्तो अवस्थामा सजिलै फोटो खिचाउन मान्दैनन्। कसैलाई खिचाउन मन लागे पनि परिवारको कुनै पुरुष सदस्यको अनुमति लिनुपर्छ,’ उनले भनिन्।
‘कुनै देशमा भने महिलाहरू आफैं सतर्क हुन्छन्। व्यक्तिगत सुरक्षाका कारण तस्बिर खिचाइहाल्न मान्दैनन्। खासगरी कोलम्बियामा मैले यस्तै स्थिति सामना गरेँ। धेरै वर्ष पाब्लो एस्कोबार र माफियाको रजगज देखेको कोलम्बियाका महिला अझै पनि आफूलाई सुरक्षित ठान्दा रहेनछन्। उनीहरू भन्छन्, ‘ठिक छ, तपाईं त मेरो तस्बिर खिच्नुहुन्छ, तर यदि तपाईं माफियाको मान्छे हो र आफ्नो परिचय लुकाएर मसँग बोल्दै हुनुहुन्छ भने यो तस्बिर खिचेपछि मेरो अपहरण हुन के बेर?’
‘यही फोटो कथा मैले पुरुषमाथि तयार पार्न खोजेको भए निश्चित रूपमा धेरै सजिलो हुने थियो,’ उनले थपिन्, ‘पुरुषले तस्बिर खिचाउन दुईचोटि सोच्नुपर्दैन, आफ्नी पत्नी, दिदी वा आमाको अनुमति लिइरहनुपर्दैन।’
[caption id="attachment_101416" align="alignnone" width="825"]
साइप्रसबाट आएकी टर्किस अभिनेत्री पिनारलाई इस्तानाबुलमा मिहाएलाले भेट्दा खिचेको तस्बिर।[/caption]
मिहाएला आफूले खिच्ने तस्बिरलाई ‘फोटोसप’ बाट सम्पादन पनि गर्छिन्, तर उनले गर्ने सम्पादन मोडलिङ तस्बिरमा भन्दा भिन्न हुन्छ। उनले पात्रलाई बढी गोरी र ज्यान छरितो देखाउन सम्पादन गर्ने होइन। उनी आफ्ना पात्रलाई वास्तविक स्वरुपमै देखाउन चाहन्छिन्।
‘जब हामी तस्बिर खिच्छौं, त्यो एकदमै कच्चा हुन्छ। वास्तविक आँखाले हेर्दा जुन तहको रंग पात्रमा देखिन्छ, त्यही रंग तस्बिरमा नआएको वा कम आएको हुनसक्छ,’ उनले भनिन्, ‘मैले फोटोसपमा गर्ने सम्पादन भनेको त्यो तस्बिरलाई पात्रको वास्तविक रंगमा ढाल्नु हो। उनीहरूको शरीरलाई छरितो वा रंग गोरो देखाउनु होइन।’
पात्रलाई छरितो वा गोरी देखाउन गरिने सम्पादन उनलाई ‘दुःखद’ लाग्छ।
‘म पनि महिला हुँ, महिलाका रूपमा हुर्कंदा समाजमा के–कस्ता कठिनाइ झेल्नुपर्छ भन्ने थाहा छ। म पनि छरितो हुन चाहन्छु, कहिलेकाहीँ कुनै विशेष तरिकाले देखिउँ भन्ने पनि चाहन्छु। तर, महिला सुन्दरता भन्नेबित्तिकै सबैलाई एउटै रूपमा झल्काउनु इमानदार फोटोग्राफी होइन। हामीले आफ्नो दैनिक जीवनमा देख्ने त्यस्ता तस्बिर प्रायः नक्कली हुन्,’ उनले भनिन्।
[caption id="attachment_101417" align="alignnone" width="825"]
नेपालको पोखरा (बायाँ) र म्यानमारको नामपानमा किनमेल गर्दै गरेकी महिला (दायाँ)। तस्बिरः मिहाएला नोरोक[/caption]
[caption id="attachment_101418" align="alignnone" width="825"]
सिरिया युद्धबाट भागेर ग्रिसको इडोमेनी शरणार्थी शिविरमा बसेकी महिला (बीच) र उनका छोरीहरु (दायाँ-बायाँ)। तस्बिरः मिहाएला नोरोक[/caption]
मिहाएलाको यो फोटो–किताब यस्तै किसिमका अन्य पुस्तकभन्दा फरक छ। खासगरी ‘रियालिटी स्टार’ किम कार्दसिनले आफ्ना सेल्फी समेटेर २०१५ मा निकालेको किताबभन्दा नितान्त भिन्न।
‘अचेल ब्लगर तथा संसारका लोकप्रिय व्यक्तिले सुन्दरताको कृत्रिम र गलत मापन बनाएका छन्। त्यो मापनसम्म पुग्नु धेरैका लागि असम्भव हो। हामी महिलालाई त्यो स्थितिमा अभ्यस्त हुन गाह्रो पनि छ,’ उनले भनिन्।
‘रियालिटी स्टार किम कार्दसिनलाई इन्स्टाग्राममा १० करोडले पछ्याइरहेका छन्। मलाई पछ्याउनेको संख्या भने २ लाख मात्र छ। यसैबाट तपाईं यी दुई फोटो–किताबबीचको अन्तर थाहा पाउन सक्नुहुन्छ,’ उनले भनिन्, ‘प्राकृतिक र सामान्य सुन्दरता नै असली हो भन्ने सन्देश विस्तारै विश्वभरि फैलिन्छ भन्ने मलाई लाग्छ।
[caption id="attachment_101419" align="alignnone" width="825"]
बायाँबाट दायाँ- पेरिसको पोमपिड्यु सेन्टर, इथियोपियाको ओमो उपत्यका र ग्रिसको डेल्फीमा। तस्बिरः मिहाएला नोरोक[/caption]
[caption id="attachment_101420" align="alignnone" width="825"]
बर्लिनमा झोला बोकेर हिँडिरहेकी लिसा। तस्बिरः मिहाएला नोरोक[/caption]
त्यसो भए फोटोग्राफीमा रुचि राख्ने महिलालाई मिहाएलाले दिने सुझाव के होला? उनीहरूले स्तरीय क्यामरा किन्नुपर्ने हो कि लेन्स र कोण सिक्नुपर्ने हो?
मिहाएला यी दुवैको खाँचो देख्दिनन्।
‘राम्रो जुत्ता किन्नुस्,’ उनले हाँस्दै भनिन्, ‘राम्रो तस्बिर खिच्न तपाईंले दिनभरि हिँड्नुपर्छ र राम्रो विषयवस्तु खोज्नुपर्छ।’