राजधानीको कमलादीबाट स्वचालित पेस्तोलसहित पक्राउ परेका २ जना भारतीय सुटर रहेको प्रहरीले पुष्टि गरेको छ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार भारतको पञ्जावका जसवीर सिंह र हरविरेन्द्र सिंह पक्राउ परे लगत्तै गरिएको प्रारम्भिक अनुसन्धानमा उनीहरु सुटर रहेको खुलेको हो ।
उनीहरु मंगलबार भारतीय गाडी लिएर काठमाडौं आएको खुल्न आएको छ। कमलादीको हेरिटेज प्लाजास्थित गण्डकी खाजा घरमा खाजा खाइसकेपछि विल महँगो भएको भन्दै उनीहरुले निहुँ खोजेका थिए।
खाजाको बिल २२ सय उठेपछि उनीहरुले नतिर्ने बताउँदै आफूहरु प्रहरी भएको भन्दै पेस्तोल निकालेर एक राउण्ड फायर गरेको प्रहरीले जनाएको छ। फायर गरेपछि उनीहरु भागेका थिए।
उनीहरुले गोली चलाएको जानकारी प्रहरीले पाएपछि कमलपोखरी र दरबारमार्गबाट खटेको टोलीले उनीहरु भाग्दै गर्दा पक्राउ परेका हुन् । उनीहरुका साथबाट प्रहरी पेस्तोलसहित ५१ राउन्ड गोली पनि बरामद गरेको छ।
२ जना पक्राउ परेपछि देबेन्द्र सिंह नाम गरेका अर्का भारतीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरु बसेकाे ठमेलस्थित होटलमा पनि छापा मारेको छ।