(नेपालको बाटो हुँदै चिम्पान्जी, बाँदर लगायत वन्यजन्तु तस्करी गर्ने गिरोहका केही सदस्य हालै राजधानीमा पक्राउ परे। तिनमा दुई नेपाली, तीन भारतीय र एक पाकिस्तानी नागरिक थिए। प्रहरीले दुई चिम्पान्जी, आठ बाँदर लगायत जनावर बरामद गर्यो। अनुसन्धानमा संलग्न प्रहरीका अनुसार तस्कर गिरोहले ती जनावर अफ्रिकाको नाइजेरियाबाट ल्याएको हो। नेपाल हुँदै भारत, चीन लगायत देशमा ओसारिँदै आएको थियो। नाइजेरियाबाट चिम्पान्जी ओसार्ने ‘सेटिङ’ पाकिस्तानी नागरिकले मिलाएको प्रहरीले जनाएको छ। पक्राउ परेका भारतीय त्यही चिम्पान्जी लिन नेपाल आएका थिए।वन्यजन्तु तस्कर गिरोहले नेपाललाई ‘ट्रान्जिट’ बनाउँदै आएको पटक-पटक खुलासा भएको छ। नाइजेरियादेखि ल्याइएका चिम्पान्जी बरामद हुनुले यसलाई थप पुष्टि गर्छ।द न्यूयोर्क टाइम्स मा चिम्पान्जी तस्करीबारे प्रकाशित खोजमूलक रिपोर्टले नेपाल तस्करी मार्गका रूपमा प्रयोग भएको उल्लेख गरेको छ। टाइम्सको अनलाइन संस्करणमा शनिबार प्रकाशित रिपोर्ट जेफरी गेटलम्यानले लेखेका हुन्। उनले अफ्रिकी मुलुक कंगोबाट दक्षिणपूर्वी एसियामा भइरहेको चिम्पान्जी तस्करी पछ्याएका छन्।नेपालसमेत मुछिएको यो तस्करी मार्गको रिपोर्ट हामीले यहाँ अनुवाद गरेका छौं।)[caption id="attachment_102665" align="alignnone" width="826"]
कंगोको किनशासा बाहिर लोला या बोनोबो रिजर्भमा बसिरहेको बोनोबो जातिको बाँदर। तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
चिम्पान्जी तस्कर गिरोह पछ्याउने ‘अपरेसन’ सामाजिक सञ्जालबाट सुरु भयो। अचेल धेरै यस्ता गिरोह सामाजिक सञ्जालमै सक्रिय छन्।
केन्याका डेनियल स्टिल्स लामो समयदेखि त्यस्तो गिरोह पछ्याइरहेका थिए। उनी गुरिल्ला, चिम्पान्जी तथा अन्य बाँदरका तस्बिरको खोजीमा हप्तौंदेखि इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएप चहार्दै थिए। यही माध्यमबाट वन्यजन्तुको अवैध व्यापार गर्ने गिरोहसम्म पुग्छु भन्ने उनलाई विश्वास थियो। त्यस्तो गिरोहले केही वर्षयता दसौं हजार चिम्पान्जी तथा गुरिल्ला समातेका वा मारेका थिए, जसले यो प्रजाति नै विनाशको संघारमा पुगेका छन्।
‘उनीहरू जसरी तस्करी गर्छन्, माफिया पनि सिकारुजस्ता देखिन्छन्,’ चिम्पान्जी तस्करीबारे स्टिल्सले भने।
सामाजिक सञ्जालमा आएका सयौं तस्बिर खोजेपछि उनले इन्स्टाग्राममा एउटा ‘पोस्ट’ भेटे। त्यसमा चिम्पान्जीका बच्चासहित दर्जनौं लोपोन्मुख जनावर तस्बिरसहित बिक्रीमा राखिएका थिए। केही चिम्पान्जीका बच्चालाई त केटाकेटीका लुगा लगाइएको थियो।
स्टिल्सले इमेल पठाए, ‘चिम्पान्जीका बच्चाहरूको आवश्यकता छ।’
केही दिनपछि जवाफ आयो।
‘दुईवटा बच्चा, एउटाको मूल्य साढे ७ हजार, विशेष अफर।’
अवैध रूपमा चिम्पान्जी बेच्ने ती व्यक्तिले आफूलाई ‘टम’ भनेर चिनाए। उनी दक्षिणपूर्वी एसियामा बस्थे। स्टिल्सले टमको इच्छा बुझेका थिए। उनी चिम्पान्जी तथा गुरिल्लाका बच्चा निजी संकलक वा चिडियाखानालाई बेच्न चाहन्थे, जहाँ ती जनावरलाई शारीरिक यातना दिई मनोरञ्जनमा लगाइन्छ। खासगरी ड्रम बजाउन वा बक्सिङ खेलाउन बढी प्रयोग हुन्छ। दक्षिणपूर्वी एसियामा चिम्पान्जीको बेचबिखन बढ्दो छ, जबकि अन्तर्राष्ट्रिय नियमअनुसार यस्ता लोपोन्मुख जनावरको बेचबिखन गैरकानुनी हो।
टमसँग केही सन्देश आदानप्रदानपछि स्टिल्स बैंकक उड्न तयार भए।
टमले उनलाई आश्वस्त पारेका थिए, केही दिनअघि नै सूचना पाउने हो भने उनी चिम्पान्जी, गुरिल्ला लगायत जस्तोसुकै वन्यजन्तु उपलब्ध गराउन सक्नेछन्।
संसारभर वन्यजन्तुको अवैध व्यापार अर्बौं डलर बराबर हुन्छ। चिम्पान्जी ओसारपसार र बेचबिखन पनि विस्तारै फस्टाउँदै गरेको छ। हात्तीको दाँत, गैंडाको सिंग, बाघको हड्डीभन्दा यो अलि फरक हो। यसमा जीवित जनावरकै तस्करी हुन्छ। त्यसमाथि चिम्पान्जी पृथ्वीकै लोपोन्मुख, बुद्धिमान र संवेदनशील जनावरको श्रेणीमा पर्छ। बजारमा यसको माग बढी छ।
[caption id="attachment_102674" align="alignnone" width="825"]
उद्धार गरेर ल्याएका बोनोबो बाँदरका बच्चाहरूसँग रिजर्भका कर्मचारी। लोला या बोनोबो रिजर्भ यसरी उद्धार गरी ल्याइएका जनावरको घर हो। तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
७२ वर्षीय स्टिल्स मानवशास्त्रमा स्नातक गर्दागर्दै चिम्पान्जी अध्ययनमा लागेका थिए। उनले यो क्षेत्रमा गहन अनुसन्धान गरेर राष्ट्रसंघका लागि ‘स्टोलन एप्स’ भन्ने प्रतिवेदन लेखे। सन् २०१३ को उक्त प्रतिवेदनलाई चिम्पान्जीको अवैध व्यापारमाथि लेखिएको पहिलो बृहत दस्तावेज मानिन्छ। उनी र अन्य अनुसन्धानकर्ताले संसारभरि २२ हजार चिम्पान्जी तस्कर गिरोहको फन्दामा परेको अनुमान गरेका छन्। तीमध्ये कतिपय बेचिए, केही मारिए।
अवैध बिक्री गर्न लगिएका चिम्पान्जी फ्रान्स, नेपाल, थाइल्यान्ड, कंगो र कुवेतजस्ता देशका भन्सार नाकाबाट बरामद भएका छन्। ती अत्यन्तै दुर्बल र त्रसित हालतमा थिए।
दुई वर्षअघि इजिप्टको कायरो अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले चिम्पान्जीको एउटा बच्चालाई हातेझोलाबाट बरामद गरेका थिए। यसै वर्ष क्यामरुनमा एक महिनाभन्दा कम उमेरको चिम्पान्जी प्लास्टिकको झोलाभित्र फेला परेको थियो।
यसरी तस्करी गर्दागर्दै बरामद हुनेभन्दा आँखा छलेर सीमा कटाइने चिम्पान्जीको संख्या कता हो कता बढी छ। वन्यजन्तु विशेषज्ञका अनुसार १० मध्ये पाँचवटा चिम्पान्जी तस्करी गर्न गिरोह सफल हुन्छ। एउटा चिम्पान्जी तस्करी गर्दा अरू थुप्रै मारिन्छन्। चिम्पान्जीका सबैजसो प्रजाति समूहमा बस्छन्। एउटा बच्चा समात्न उसको पूरै परिवार सफाया गर्नु सिकारीहरूका लागि सजिलो हुन्छ।
’चिम्पान्जी ओसार्नु भनेको डायनामाइट बोकेर हिँड्नुजस्तै हो,’ चिम्पान्जी संरक्षणमा केन्द्रित एक राष्ट्रसंघीय कार्यक्रमका पूर्व प्रमुख डग क्रेसले भने, ‘वयस्क चिम्पान्जी अत्यन्तै आक्रामक र खतरनाक हुन्छ। त्यही भएर सिकारीहरू साना बच्चा ताक्छन्।’
[caption id="attachment_102676" align="alignnone" width="824"]
केन्यामा बसेर चिम्पान्जीबारे अनुसन्धान गरिरहेका ड्यानियल स्टाइल्स। तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
वन्यजन्तु अनुसन्धानकर्ताका अनुसार चिम्पान्जीको तस्करी जालो मध्य-अफ्रिकाको घना जंगलबाट दक्षिणपूर्वी एसियासम्म फैलिएको छ। तस्करले भन्सार नाका खुकुलो भएका विकासोन्मुख तथा गरिब देशलाई ओसारपसारको बाटो बनाउँछन्। तस्करबाट फेला परेका केही कागजपत्र हेर्दा वन्यजन्तु ओसार्न सम्बन्धित देशका भ्रष्ट अधिकारीले सहयोग गरेका छन्। केही देशका अधिकारी गलत ढंगले निर्यात अनुमतिपत्र जारी गरेको भन्दै पक्राउ परेका उदाहरण पनि छन्।
चिम्पान्जी तस्करी आफैंमा ठूलो व्यापार हो। यसको एउटा बच्चालाई २ लाख ५० हजार अमेरिकी डलरसम्म पर्छ। यसका खरिदकर्ता को हुन् भन्ने प्रस्ट छैन। अनुसन्धानकर्ताले फेसबुकमा राखिएका तस्बिर वा वन्यजन्तु संकलन गर्ने धनी व्यक्तिहरूको युट्युब भिडियो हेरेर तस्कर गिरोह पछ्याउने गरेका छन्।
‘यो अत्यन्तै दुःखद हो,’ लिपिस्टिक लगाएको एउटा सानो चिम्पान्जीको तस्बिर देखाउँदै स्टिल्सले भने, ‘मान्छेले चिम्पान्जीको बच्चालाई आमाबाट अलग्याउँछ, आफूले भनेको नमान्दा शारीरिक यातना दिन्छ र आफ्नो मनोरञ्जनमा प्रयोग गर्छ।’
चिम्पान्जी तस्करीमा पश्चिमी व्यापारीहरू पनि संलग्न रहेको वन्यजन्तु अधिकारी बताउँछन्। तीमध्ये केही पक्राउ परेका छन्। बहुसंख्यक तस्कर भने अफ्रिका वा दक्षिणपूर्वी एसियाका छन्। ती तल्लो स्तरका कामदार हुन्, जो चिम्पान्जी समातेर डिलरसम्म पुर्याउँछन्। अवैध निर्यात र ओसारपसारमा भने ठूलै व्यापारी संलग्न रहेको अनुमान छ।
वन्यजन्तु अधिकारीले एक संदिग्ध अमेरिकी नागरिक यो धन्दामा संलग्न रहेको अनुमान गर्दै आएका थिए। ‘जोय’ भनिने ती अमेरिकीले थाइल्यान्डमा तस्करी जालो फैलाएको आशंका थियो। थाइल्यान्डलाई चिम्पान्जी तस्करीमा संसारकै केन्द्र मानिन्छ।
‘जोयले भर्खरै यो धन्दा छाडेका छन्,’ टमलाई उद्धृत गर्दै स्टिल्सले भने।
मध्य-अफ्रिकी सहरहरूमा चिम्पान्जी घरमै पाल्ने चलन छ। कंगोका राष्ट्रपति जोसेफ कबिलाले राजधानी किनशासास्थित नदीकिनारको दरबारमा एउटा चिम्पान्जी पिँजडामा थुनेर राखेका थिए। सहरबाट टाढा घना जंगल बीचमा भने चिम्पान्जीको प्रयोग अर्कै कामलाई हुन्छ। दक्षिणपूर्वी एसियाका दुर्गम क्षेत्रमा बस्नेहरू प्रायः गरिब हुन्छन्। उनीहरू आफूलाई चाहिने प्रोटिन यिनै चिम्पान्जीको मासुबाट पूरा गर्छन्।
बच्चा चिम्पान्जीको छुट्टै बजार छ, जहाँ एउटाको मूल्य कम्तीमा १० डलर पर्छ। स्थानीय व्यापारीले त्यही बच्चा राजधानी किनशासा पुर्याउँछन् र त्योभन्दा कयौं गुणा बढी मूल्यमा विदेशी तस्करलाई बिक्री गर्छन्।
[caption id="attachment_102679" align="alignnone" width="825"]
कंगोको एक होटलमा थुनेर राखिएको चिम्पान्जी। एन्टोइन नामको यो चिम्पान्जी गत जनवरीमा भागेपछि प्रहरीले गोली हानेको थियो। तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
‘स्टिङ अपरेसन’स्टिल्सले अफ्रिकी देशहरूमा हुने वन्यजन्तु तस्करी लामो समय पछ्याए। उनी यसपालि अफ्रिकी महादेशबाट बाहिर निस्केका छन्।
उनले आफ्नो परिचय बदले। नक्कली नाम स्थापित गर्न नक्कली कागजपत्र तयार पारे। केही नक्कली वेबसाइट पनि बनाए, जसमा उनले आफूलाई लोपोन्मुख जनावरका सक्रिय खरिदकर्ता भनी चिनाएका छन्।
अधिकांश वन्यजन्तुको अवैध कारोबार अनलाइनबाट सुरु हुन्छ। खासगरी इन्स्टाग्राम वा ह्वाट्सएपमा खरिदकर्ता र बिक्रेताको भेट हुने स्टिल्स बताउँछन्। किनबेचको सुरुआत पनि त्यहीँबाट हुन्छ।
पछिल्लो समय स्टिल्सले धेरैचोटि संयुक्त अरब इमिरेट्स (युएई) भ्रमण गरे। युएईलाई उनी वन्यजन्तु व्यापारको नयाँ केन्द्र मान्छन्। मध्यपूर्वी क्षेत्रका धेरै वन्यजन्तु डिलरले बिक्रीमा रहेका चिम्पान्जीको तस्बिर पोस्ट गर्छन्। कहिलेकाहीँ त ‘केटाकेटीसँग खेल्न उपयुक्त जनावर’ भनी विज्ञापन पनि गरिन्छ।
तस्बिर जति सुन्दर देखिए पनि भित्री यथार्थ अर्कै हुन्छ।
तस्करहरूले चिम्पान्जी सम्हाल्न सजिलो होस् भनेर लागुऔषध वा रक्सी खुवाएका हुन्छन्। कतिलाई त चुरोट तान्ने र बियर पिउने तालिमसमेत दिइन्छ। चिडियाखानाहरूमा भनेको नमान्दा पाइपले कुट्ने गरेको अनुसन्धानकर्ता बताउँछन्। केही वर्षअघि इन्डोनेसियाका वेश्यालयबाट केही पोथी चिम्पान्जी बरामद भएका थिए, जहाँ तिनलाई रौं खोरेर यौनकर्मीका रूपमा राखिएको थियो।
‘त्यस्ता चिम्पान्जीलाई उद्धार गरेपछि जंगली अवस्थामा फर्काउन गाह्रो हुन्छ,’ चिम्पान्जी संरक्षणसम्बन्धी राष्ट्रसंघीय कार्यक्रमका पूर्व प्रमुख क्रेसले भने, ‘रक्सीले मताएर राखिएका चिम्पान्जीका हात कामिरहेका हुन्छन्। लामो समय रक्सी सेवन गर्ने मान्छेमा जस्तो समस्या देखिन्छ, चिम्पान्जीहरू त्यस्तै समस्याबाट ग्रसित हुन्छन्।’
अन्तर्राष्ट्रिय वन्यजन्तु नियमावलीले व्यावसायिक प्रयोजनका लागि लोपोन्मुख चिम्पान्जीको बिक्री प्रतिबन्धित गरेको छ। चिडियाखाना र केही शैक्षिक संस्थाहरूलाई भने चिम्पान्जी राख्ने अनुमति छ। उनीहरूले जंगलबाट समातेर ल्याएको होइन भनी पुष्टि गरेर अनुमतिपत्र लिनुपर्छ।
नियमावली कार्यान्वयन प्रभावकारी छैन। तस्करहरूले सरकारी कर्मचारीकै मिलेमतोमा सजिलै नक्कली अनुमतिपत्र बनाइदिन्छन्। इराक, चीन, दुबई र बैंककका सफारी चिडियाखानामा समेत अवैध रूपमा बेचिएका चिम्पान्जी फेला परेको वन्यजन्तु अनुसन्धानकर्ताले बताएका छन्।
त्यस्ता चिडियाखानामा चिम्पान्जी तथा गुरिल्लालाई बक्सिङ पन्जा लगाएर एकअर्कामाथि मुक्का हान्न सिकाइन्छ। उनीहरूको त्यही खेल हेरेर मान्छे मनोरञ्जन लिन्छन्।
अवैध बेचिएका चिम्पान्जी प्रयोग गरिएको भन्दै दस वर्षअघि एक सफारी वर्ल्ड चिडियाखाना कारबाहीमा परेको थियो। त्यहाँ इन्डोनेसियाको जंगलबाट अवैध ओसारिएका चिम्पान्जी फेला परेका थिए। वन्यजन्तु अधिकारीले उद्धार गरी सकुशल जंगलमा फिर्ता पठाए। इन्डोनेसियाली राष्ट्रपतिकी पत्नीले यो कदमको स्वागत गरेकी थिइन्।
[caption id="attachment_102678" align="alignnone" width="825"]
कंगो नदी किनारमा जंगली जनावरको मासु खरिदबिक्री गरिदैं। तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
यो कारबाहीपछि पनि चिडियाखानामा चिम्पान्जीको बक्सिङ खेल रोकिएको छैन। संरक्षण अभियन्ताको विरोधबीच वन्यजन्तुको यस्तो प्रयोग खुलेआम छ। ती अभियन्ता केही सेलिब्रिटीका गतिविधिबाट पनि बेखुसी छन्।
गत वर्ष पेरिस हिल्टनले बच्चा चिम्पान्जी बोकेको तस्बिर सार्वजनिक गरेकी थिइन्। उनले चिम्पान्जीलाई बच्चाको लुगा लगाइदिएकी थिइन्। अभियन्ताहरूले त्यसको विरोध गरेका थिए। उनीहरूका अनुसार चिम्पान्जी खेल्ने साधन होइनन्, न त घरपालुवा जनावर हुन्।
स्टिल्सको ‘स्टिङ अपरेसन’ यही संरक्षण अभियानकै हिस्सा हो।
उनी आफ्नो अपरेसन क्रममा बैंककको ल्यान्डमार्क होटलमा बसेका थिए। होटलको शान्त कोठाबाट उनले वन्यजन्तु तस्कर टमलाई ह्वाट्सएपमा सन्देश पठाए।
एक परिचित तस्करसँग यसरी जिस्कनु खतरनाक हुनसक्छ भन्ने स्टिल्सलाई थाहा थियो। उनले वन्यजन्तु तथा मानव तस्करी नियन्त्रणमा काम गर्ने गैरनाफामूलक संस्था ‘फ्रिल्यान्ड’ लाई अनुसन्धानमा सामेल गराए। फ्रिल्यान्ड आफ्ना खुफिया एजेन्टमार्फत् भूमिगत काम गर्ने संस्था हो। यसका कर्मचारी जुन कोठामा बसेर काम गर्छन्, त्यहाँ बाहिरबाट कसैलाई छिर्नधरि दिइँदैन। यो संस्थाले थाई प्रहरीसँग पनि सहकार्य गर्छ।
यता स्टिल्स ह्वाट्सएपमार्फत् टमसँग भेट्ने चाँजो मिलाउँदै थिए। थाई प्रहरीका इन्स्पेक्टर भने मौकाको ताकमा थिए। स्टिल्सले एक–दुईचोटि टमसँग टेलिफोन कुराकानी गरे। टमको वास्तविक परिचय भने अझै खुलेन। उनी मलेसियन वा इन्डोनेसियन लवजमा बोल्थे। उनको अंग्रेजी धाराप्रवाह थियो। उनलाई अंग्रेजी बोल्दा शब्दको कमी हुन्थेन।
‘तिमीलाई एकदमै रमाइलो हुनेछ,’ टमले चिम्पान्जीका बच्चाको वर्णन गर्दै फोनमा भने, ‘तिमी केही यादगार रात बिताउन तयार छौ?’
[caption id="attachment_102680" align="alignnone" width="816"]
लोला या बोनोबो रिजर्भमा एक वयस्क बोनोबो। तस्बिरः द न्यूयोर्क टाइम्स[/caption]
अघिल्लो डिसेम्बरमा टमसँगको भेट तय भयो। मध्य-बैंककस्थित सुपरमार्केटको पार्किङमा उनी आउन तयार भए। यही मौका कुरिरहेका इन्स्पेक्टर र अन्य थाई एजेन्टहरूले त्यो ठाउँ पहिल्यै घेरा हाले। सुरक्षा कारबाहीमा चालक पक्राउ परे। गाडीको पछाडि सिटमा दुईवटा बच्चा चिम्पान्जी फेला परे। ती चिम्पान्जी एकअर्कालाई अंगालो मारेर बसेका थिए। ती त्रसित देखिन्थे, तर स्वस्थ थिए। तिनलाई तुरुन्तै थाई वन्यजन्तु आरक्षण केन्द्र पठाइयो।
यो कारबाहीमा टम भने फेला परेनन्।
स्टिल्सलाई दुईवटा चिम्पान्जी सकुशल उद्धार गर्न सकेकोमा खुसी थियो। यत्रो मिहिनेत गर्दा पनि तस्कर नसमातिएकोमा भने उनी दुःखी थिए।
त्यो अपरेसनपछि उनी फेरि इन्स्टग्राममा फर्केका छन्, अरू चिम्पान्जी र गुरिल्लाको खोजीमा।
अर्को टमको खोजीमा।