केपी ओली सरकारको नेतृत्वका बेला भएको भारतीय नाकाबन्दीका कारण चीनसँगको व्यापारिक ढोका खोल्नुपर्छ भन्ने सहमतिकै कारण नेपालका कम्युनिष्टहरुको एकता सम्भव भएको एमाले पोलिटब्युरो सदस्य बिन्दा पाण्डेले बताएकी छिन्।
‘मानवता बिरोधि भारतीय नाकाबन्दीका बेला भारतबेष्ठित होइन भू-परिबेष्ठित नेपाल बनाउन ब्यापार र बाणिज्य लगायत भारत जत्तिकै सबन्ध चीनसँग बढाउनु पर्छ, त्यसको निम्ति नेपालमा बामपन्थी बहुमतको सरकार आवश्यक भएकोले लामो गृहकार्य पछि एमाले माओबादिको सहकार्य सम्भव भएको हो,’ उनले भनिन्।
अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएपछि जेनेभा निवासी नेपाली समुदाय र पत्रकारसँगको अन्तरक्रियामा उनले यो कुरा बताएकी हुन्। बामपन्थीहरुको बहुमत आएपछि अधिनायकबाद आउँछ भन्ने कांग्रेसको आरोपको खण्डन गर्दै उनले भनिन्, देशमा बामपन्थीको स्थायी सरकार बनेर औद्योगिक क्रान्ति भयो भने हामी सकिन्छौँ भन्ने कांग्रेसी चिन्तनका कारण गलत प्रचार गरिएको हो।
ठूला दलका नेताहरू समानुपातिकमा बसेर महिलाहरुलाई अघि सार्नु पर्नेमा आफ्नो दल लगायत सबैले महिलाहरुलाई पक्षपात गरेको उनको भनाइ थियो। ‘एकसे एक महिला प्रत्यक्ष लड्न तयार छन् तर पार्टी भित्रको पुरुष नेतृत्व आफै अघि सर्छ। माधव, ओली, देउवा, प्रचण्ड किन प्रत्यक्ष लड्नु पर्यो? उहाँहरु समानुपातिकमा बसेर हामीलाई अवसर दिए हामी तयार छौं। तर त्यसो हुन्न,’ उनले भनिन्।
प्रवासी नेपाली मञ्चले सम्बाद कार्यक्रमको आयोजना गरेको थियो।