नक्कली सवारी चालक अनुमति पत्र लाइसेन्स लगायतका सरकारी कागजात बनाउने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले धादिङ घर भइ काठमाडौंको बुढानिलकण्ठमा बस्ने शालिकराम अधिकारी र संखुवासभा घर भइ बानेश्वर बस्ने यज्ञराज कार्कीलाई पक्राउ गरेको हो।
उनीहरुले लाइसेन्स, शैक्षिक गोग्यताको प्रमाणपत्र, नेपाली सेनाको परिचयपत्र लगायतका नक्कली कागजात बनाइदिने गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।
अधिकारी महाराजगन्जमा रहेको कल्की फोटो स्टुडियोको संचालक हुन् । उनले फोटो स्टुडियोबाटै लाइसेन्स लगायतका अन्य सरकारी कागजात तयार पारिदिने गरेको प्रहरीले जनाएको छ।
लाइसेन्स, सरकारी कागजात र शैक्षिक प्रमाणपत्र बनाइदिएको उनीहरुले १० हजार रुपैयाँभन्दा माथि लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ।
प्रहरीले उनीहरुको साथबाट यातायत कार्यालय बागमतीको स्ट्याम्प, नेपालीको सेनाको होलो ग्राम, नेपाल सरकारको होलोग्राम, नक्कली लाइसेन्स, एसएससी, टियुको नक्कली प्रमाणपत्र लगायतका सामग्रीपनि बरामद गरेको छ।
उनीहरुलाई मुलुकी ऐन किर्ते कागजको महल अनुसार मुद्दा चलाइने सिआइबीले जनाएको छ। उनीहरु दोषी भए १ वर्ष कैद सजाय अदालतले तोक्नेछ।