फ्रान्सेली आर्किटेक्ट जिन नोभेलले एक दशकअघि एउटा खेस्रा कागजमा अर्धगोलाकार संरचनाको नक्सा कोरे। त्यो नक्सा उनले कल्पना गरेको संरचनाको गुंबद थियो।
आज त्यही गुंबद खेस्रा कागजबाट स्वरुप पाएर अरब मरूभूमि र पर्सियन गल्फको शोभा बनेको छ।
यो संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी आबुधावीमा भर्खरै खुलेको लुभ्र संग्रहालय हो, जसलाई युएई र फ्रान्सले कूटनीतिक सम्बन्धको माध्यम बनाएका छन्।
बुधबार उद्घाटन भएको यो संग्रहालय आउँदो शनिबारबाट सार्वजनिक खुला हुनेछ। त्यस दिन दर्शकले संग्रहालयको पाँच प्रतिशत भाग मात्र देख्नेछन्, जसमा चीनको एइ वेइवेइद्वारा रचित प्राचीन स्मारकसमेत समावेश छ।
विश्व इतिहास र धर्मलाई मुख्य आकर्षण बनाएको लुभ्र आबुधावीमा तीन विभिन्न धर्मग्रन्थ एकसाथ राखिएका छन्। इस्लामको कुरान, क्रिश्चियनको बाइबल र यहुदीको एमेनी तोरालाई आमनेसामने पाना पल्टाएर प्रदर्शन गरिएको छ। तीनै ग्रन्थमा जुन पाना पल्टाइएका छन्, त्यसले दिने सन्देश एउटै छ।
‘संसारको विविधता बुझाउन यो संग्रहालय डिजाइन गरिएको हो,’ लुभ्र पेरिसका निर्देशक जिन-लक मार्टिनेज भन्छन्।
शादियत टापूमा निर्मित यो संग्रहालय निर्धारित समयभन्दा पाँच वर्ष ढिलो खुला भएको हो। यसको निर्माणमा युएईले केही अप्ठ्यारा सामना गर्नुपरेको थियो। तेल मूल्यमा आएको गिरावट, आर्थिक शिथिलता र क्षेत्रीय राजनीतिक तनावका कारण निर्माण सुस्त भएको अधिकारीहरु बताउँछन्। संग्रहालयमा सहकार्य गर्ने फ्रान्स पनि आलोचनामा घेरिएको थियो।
पेट्रोलियम स्रोत सुनिश्चित गर्न फ्रान्सले आफ्नो धरोहरका कलाकृति तेलको धनी राष्ट्र युएईलाई बेचेको भन्दै निन्दा भएको थियो। यसको नाम र डिजाइन पेरिसस्थित लुभ्र संग्रहालयबाटै लिइएको हो। पेरिसको लुभ्र विश्वविख्यात मोनालिसाको पेन्टिङ र पिकासोका कलाकृतिले चर्चित छ।
[caption id="" align="alignleft" width="305"]
लियोनार्दो दा भिन्चीको ला बेल फेरोनियर पेन्टिङ। तस्बिरः विकिपेडिया[/caption]
लुभ्र आबुधावीमा भने पूर्वीय र पश्चिमी सभ्यता तथा संस्कृतिको मिश्रण पाइन्छ।
उद्घाटन हुनु एक साताअघि घुम्न आएका आर्किटेक्ट नोभेलले संग्रहालय ‘बेग्लै तर उस्तै’ लागेको बताएका छन्।
‘मैले कोरेको नक्साभन्दा धेरै कुरा फेरिएका छन् तर खासै केही फेरिएका छैनन्,’ उनले भने, ‘दुई बेग्ला-बेग्लै सभ्यताको भूगोल, संस्कृति र पहिचान झल्काउने संग्रहालय बनाउने हाम्रो उद्देश्य थियो, जुन पूरा भएको छ।’
लुभ्र आबुधावीमा एक हजार वटाभन्दा बढी तारा आकृति कुँदेर स्टिल र आलुमिनियमका तह-तह बनाइएका छन्। यहाँ सूर्यको प्रकाश छिर्न छिद्र-छिद्र भएका आठ तह पार हुनुपर्छ। प्रकाश भुइँमा पर्दा त्यसले खजुरको बोट वा परम्परागत अरब बजारजस्तो आकृति बनाउँछ। आर्किटेक्ट नोभेलले यसलाई ‘रोशनीको वर्षा’ संज्ञा दिएका छन्।
आबुधावीमा संग्रहालय निर्माण गर्दा फ्रान्सलाई पनि भ्याइनभ्याइ थियो। गत सेप्टेम्बर महिनायता प्रत्येक दुई दिनमा पेरिसबाट कार्गो जहाज उड्थ्यो, फ्रान्सका ‘बहुमूल्य’ कलाकृति आबुधावी ओसार्न।
यसमा फ्रान्सको शान मानिएका कृति समावेश छन्। भ्यान गगको व्यक्ति पेन्टिङ, मोनेटले सन् १८७७ मा बनाएको सेन्ट लजार रेलवे स्टेसनको पेन्टिङ, ज्याक्स लुइस डेभिडले बनाएको सेतो घोडामा सवार नेपोलियनको पेन्टिङ र भिन्चीकै ला बेल फेरोनियर पेन्टिङ यहाँ राखिएका छन्। यी सब फ्रान्सका ऐतिहासिक गहना मानिन्छन्।
[caption id="" align="alignleft" width="305"]
ज्याक्स लुईस डेभिडले बनाएको सेतो घोडामा सवार सम्राट नेपोलियनको पेन्टिङ। तस्बिरः भर्सालिस संग्रहालय/ दी न्युयोर्क टाइम्स[/caption]
सम्झौताअनुसार यी कलाकृति ‘ऋण’ का रूपमा दिइएका हुन्। विस्तारै यी लुभ्र पेरिसमै फर्काइनेछ, तर यसको सट्टा त्यत्तिकै महत्वका अन्य कलाकृति आबुधावीलाई दिनुपर्नेछ।
विश्वविख्यात कलाकृति जगेर्नामा भने आबुधावीको तापक्रमका कारण होसियार हुनुपर्ने विज्ञहरु बताउँछन्। फ्रान्सेली विज्ञको सहकार्यमा युएईकै सुरक्षा अधिकारीले यिनको निगरानी गरिरहेका छन्।
६५ करोड डलर लागतमा बनेको यो संग्रहालय निर्माण सम्झौता सन् २००७ मै भएको थियो। युएईले ३० वर्षसम्म 'लुभ्र' ब्रान्ड प्रयोग गरेबापत फ्रान्सलाई ४६ करोड ४० लाख डलर तिरेको छ। यतिमात्र होइन, यो संग्रहालय निर्माण गर्न प्राविधिक सहयोग रकमसमेत जोड्दा कुल १ अर्ब १० करोड डलर तिरेको छ। यही सर्तमा रहेर फ्रान्सका पोम्पिडु, मुसे डी’ ओर्से र भर्सालिससहित १७ संग्रहालय तथा संस्थाबाट तीन सय कलाकृति यस वर्ष आबुधावी ओसारिए।
आफ्ना ऐतिहासिक कलाकृति बाँडेर ‘विश्वव्यापी संग्रहालय’ निर्माण गर्ने फ्रान्सको उद्देश्य हो। आबुधावीको लुभ्र संग्राहलय उद्घाटन गर्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल माक्रों बुधबार युएई पुगे। सञ्चालनको निगरानी अधिकार पनि अबको ३० वर्षसम्म फ्रान्सले नै गर्नेछ। उसले १५ वर्षसम्म यहाँ विभिन्न प्रदर्शनी पनि गर्नेछ।
‘अहिलेको जमानामा सैन्य र आर्थिक शक्ति मात्र ठूलो कुरा होइन। एकअर्काको मूल्य-मान्यता र सभ्यता आत्मसात गर्नु पनि प्रभावकारी कूटनीति हो,’ युएईका राज्यमन्त्री जाकीअन्वरले भने। उनी संग्रहालय निर्माणमा सुरूआतदेखि नै परामर्शदाताका रूपमा संलग्न छन्।
युएईले हालै आफ्नो छिमेकी देश कतारसँग सम्बन्ध तोड्दै सीमानाका बन्द गरेको छ। फ्रान्ससँगको यो सहकार्य र राष्ट्रपति माक्रों भ्रमणमा आउनुले युएईले पश्चिमको समर्थन खोजेको देखिएको छ।
‘हामी राजधानीलाई विश्वव्यापी सहरका रूपमा प्रवर्द्धन गर्न चाहन्छौं,’ मन्त्री जाकीअन्वरले भने, ‘यो संग्रहालय दुई सभ्यता जोड्ने सेतु हो।’
अमेरिकामा सन् २००१ सेप्टेम्बर ११ मा भएको आतंकवादी हमलापछि इस्लाम धर्मलाई हेर्ने अन्तर्राष्ट्रिय दृष्टि संकुचित भएको छ। त्यसयता इस्लाम धर्मका नाममा फ्रान्स, बेलायत लगायत अमेरिकी तथा युरोपेली देशमा पटक-पटक हमला भइसकेका छन्।
‘केही समूहले आफ्नो राजनीतिक लाभका निम्ति इस्लाम धर्म नै बदनाम गराएका छन्,’ मन्त्री जाकीअन्वरले भने, ‘युएई त्यही अतिवादविरूद्ध आफूलाई उभ्याउन चाहन्छ।’
कतारमाथिको नाकाबन्दी र संग्रहालय निर्माण यही अभियानको हिस्सा भएको उनको भनाइ छ। कतारले अतिवादी इस्लाम समूहलाई समर्थन गरेको आरोप युएईले लगाउँदै आएको छ।
[caption id="" align="alignleft" width="305"]
भ्यान गगको व्यक्ति पेन्टिङ। तस्बिरः मुसे डी’ ओर्से संग्रहालय/दी न्युयोर्क टाइम्स[/caption]
उता फ्रान्समा भने यो संग्रहालय निर्माणमा हिस्सेदार भएको भन्दै सरकारले नै विरोध खेपिरहेको छ। विश्व संग्रहालय समुदायले दस वर्षअघि सम्झौता हुँदा नै फ्रान्सका धरोहर कलाकृति अन्य देश ओसार्न खोजको भनेर आलोचना गरेको थियो। समयक्रममा आलोचना मत्थर हुँदै गए पनि अझै असन्तुष्ट समूहको संख्या उल्लेख्य छ।
‘म यो परियोजनाविरूद्ध छु,’ फ्रान्सको अनलाइन आर्ट प्रकाशन ला ट्रिब्युन डे ला’आर्टका निर्देशक डिडियर रेक्नरले भने, ‘यो भावनाभन्दा राजनीतिक र आर्थिक स्वार्थको उपज हो। सम्झौता नै गरिसकेपछि त्यसको पालना त हुनैपर्छ। यस हिसाबले यो संग्रहालय बन्नै पर्थ्यो। मेरो आपत्ति यत्ति हो, जुन किसिमले बनेको छ, त्यसरी बन्न हुँदैन थियो।’
संसारका बहुमूल्य कलाकृति जुन ढंगमा ओसारपसार गरिन्छन्, त्यसमा रेक्नरको आपत्ति छ। यस किसिमको स्थानान्तरणले कलाकृति नष्ट हुने, बिग्रिने सम्भावना बढ्ने उनको भनाइ छ।
लुभ्र आबुधावीको एक सानो हिस्सा समकालीन र आधुनिक कलामा समर्पित छ भने बाँकी भागले विश्व इतिहास र धर्मको कथा भन्छ। यसले फ्रान्सका कलाकृति मात्र नभएर युएईले निजी स्तरबाट पनि ६ सयभन्दा बढी कलाकृति संकलन गरेको छ।
'लुभ्र आबुधावी भनेको के हो? यो संग्रहालय मानव सभ्यताको इतिहास र ज्ञानलाई कलाका माध्यमबाट अभिव्यक्ति गर्ने थलो हो,’ आयोजनाका प्रमुख संरक्षक तथा एजेन्स फ्रान्स संग्रहालयका निर्देशक जिन फ्र्यांक्वीस चार्नियरले भने, ‘जसले समय विकास क्रमका दृश्य झल्काउँछ।’
लुभ्र आबुधावीका केही तस्बिरः[caption id="" align="alignnone" width="846"]
तस्बिरः लुभ्र आबुधावी/दी वासिङटन पोस्ट[/caption]
[caption id="" align="alignnone" width="869"]
तस्बिरः लुभ्र आबुधावी/दी वासिङटन पोस्ट[/caption]
[caption id="" align="alignnone" width="807"]
तस्बिरः मार्क डोमेज/दी न्युयोर्क टाइम्स[/caption]
[caption id="" align="alignnone" width="787"]
तस्बिरः दी न्युयोर्क टाइम्स[/caption]
[caption id="" align="alignnone" width="807"]
तस्बिरः दी न्युयोर्क टाइम्स[/caption]
[caption id="" align="alignnone" width="831"]
तस्बिरः लुभ्र आबुधावी/दी वासिङटन पोस्ट[/caption]