पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरी–जयचौक सडक खण्डमा दुर्घटनामा परेको मालबाहक भारतीय ट्रक एक महिना बितिसक्दासम्म हटाइएको छैन। साँघुरो सडकमा दुर्घटनामा परेको ट्रक नहटाउँदा दुर्घटनाको थप जोखिम बढेको छ।
असोज १९ गते राति भारतबाट काकडभिट्टाहुँदै विश्वकर्मा सिमेन्ट उद्योगको कच्चा सामग्री बोकेर वीरगञ्जतर्फ जाँदै गरेको एच आर ३३ इ ५७१५ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको थियो। ट्रकले पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १७ प ९३१ नं.को मोटरसाइकलमा सवार पथरीशनिश्चरे ३ का वीरकुमार राईलाई ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए।
ट्रक चालक भारतीय नागरिक दुर्घटना गराएर फरार छन्। घटनामा मोटरसाईकल पुरै क्षतविक्षत भएको छ। मोटरसाइकल चालक ४० वर्षीय राईको विराटनगरस्थित न्यूरो अस्पतालको आइसीयूमा उपचार उपचार भइरहेको छ। राईका आफन्तले घाइतेको उपचार नभएसम्म गाडी उठाएर लान नपाउने बताउँदै आएका छन्।
घाइते बिरामीको उपचारमा ५ लाख खर्च भइसकेको र उपचारमा अझ खर्च लाग्ने भएकाले आर्थिक अभावको कारण उपचारमा समेत ढिलाई भएको पीडित पक्षको गुनासो छ। ‘हालसम्म ५ लाख खर्च भइसकेको छ, तर गाडी पक्षबाट कुनै खर्च नआएकाले उपचारनै रोकिएको छ,’ घाइतेकी श्रीमती मनमाया राईले भनिन्।
गाडीले आधा बाटो ढाकेर बस्दासम्म पनि नहटाइकोले थप दुर्घटनाकोझ जोखिम बढेको छ।
सिमेन्टको कच्चा पदार्थ ३७ टन किलिङ्गर बोकेको ट्रक क्रेनको अभावमा हटाउन नसकिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए।
कार्कीले यसै साता दुई वटा ठूला क्रेन ल्याएर ट्रक हटाइने तयारी भइरहेको जानकारी दिए। उक्त घटनाबारे आफूलाई जानकारी नभएको र चाडै हटाउने मोरङ प्रहरी प्रमुख एसपी अरूण बिसीले बताए।
चालक फरार भएपछि प्रहरीले ट्रकका मालिक भारतीय नागरिक राजकुमारलाई पक्राउ गरेको छ। ट्रक मालिकले घाइतेको उपचार नगरेसम्म छोड्न नमिल्ने प्रहरी निरीक्षक कार्कीको भनाई छ।