जर्जिया भनेको युरोप र मध्य पूर्वबीचको उर्वर उपत्यका हो, जहाँ मानव सभ्यतामै पहिलोचोटि अंगुर खेती सुरु भएको थियो।
अब जर्जियाले नयाँ चिनारी पाएको छ।
संसारभरका वाइनप्रेमी ‘टोस्ट’ उठाउँदै जर्जियाका नाममा चियर्स गर्नेछन्।
यसको श्रेय जान्छ, अमेरिकाको पेन्सिलभेनिया विश्वविद्यालयका पुरातत्व अनुसन्धानकर्ता टोलीलाई।
प्याट्रिक म्याकगभर्न आफ्ना सहकर्मीसँग जर्जियाका दुई पुरातात्विक क्षेत्रमा अनुसन्धान गर्दै थिए। उनीहरूको अनुसन्धान राजधानी टिबिलिसीबाट करिब ५० किलोमिटर दक्षिणका दुई गाउँ गाडाच्रिली गोरा र शुलाभेरिस गोरामा केन्द्रित थियो। ती गाउँ नियोलिथिक युग अर्थात् ढुंगे युग अन्त्यदेखिको बस्ती मानिन्छ।
गाउँमा रहेका पुरातात्विक अवशेष उत्खनन् क्रममा प्याट्रिक र उनको टोलीले केही यस्ता सामान फेला पारे, जसले आजभन्दा ८ हजार वर्षअघिको कथा भन्थ्यो। त्यही सामानले अन्ततः जर्जियालाई नयाँ रूपमा चिनायो।
पुरातत्व अनुसन्धानकर्ताले फेला पारेका सामान थिए– माटाका टुक्राटाक्री।
उनीहरू ती टुक्राटाक्री बोकेर प्रयोगशाला आए। तिनलाई जोडे। संयोगले सबै टुक्रा जोडेर हेर्दा माटोको सग्लो भाँडो बन्यो, जुन नेपालमा प्रयोग हुने घ्याम्पोजस्तो थियो।
उनीहरूले जम्मा आठवटा घ्याम्पा भेट्टाए। बाहिरी भागमा नाचिरहेका मान्छेका बुट्टा कुँदिएका थिए। भित्री तहमा भने हजारौं हजार वर्षदेखि बाक्लो पत्र जमेर बसेको थियो। अनुसन्धानकर्ताहरूले त्यो बाक्लो पत्रको रासायनिक परीक्षण गरे, जसको नतिजाले उनीहरूलाई अचम्म पार्यो।
जमेर बसेको पत्र ईसापूर्व ६००० मा बनेको मदिरा थियो। त्यो जर्जियामा पाइने युरेसियन अंगुरबाट उत्पादित ‘वाइन’ भएको पुरातत्वविदहरूले पुष्टि गरेका छन्।
उनीहरू के निष्कर्षमा पुगेका छन् भने, अंगुर खेती सुरु गर्ने जर्जियाली सभ्यताले हजारौं वर्षअघि त्यही अंगुरको वाइन बनाएर चाखिसकेको रहेछ।
‘अब वाइनको कुरा गर्दा जर्जिया बिर्सनै नहुने देशको श्रेणीमा परेको छ,’ प्याट्रिकलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्स लेख्छ, ‘हामीले जुन अवशेष फेला पार्यौं, त्यसले ८ हजार वर्षअघि नै जर्जियामा वाइन उत्पादन हुने पुष्टि गरेको छ।’
उनीहरूको यो निष्कर्ष ‘नेसनल एकेडेमी अफ साइन्सेस’ नामक जर्नलमा प्रकाशित भएको न्यूयोर्क टाइम्सले जनाएको छ।
यो अनुसन्धान आयोजनाको नामै 'ग्रेप' अर्थात् अंगुर हो। यसको काम जर्जियामा मदिरासम्बन्धी अनुसन्धान गर्ने हो।
‘ढुंगे युगमा जर्जियाका मान्छेले वाइनलाई दैनिक जीवनमा समेटेका थिए,’ अनुसन्धानमा सहकार्य गर्ने टोरोन्टो विश्वविद्यालयका वरिष्ठ अनुसन्धानकर्ता स्टेफन बट्युकले भने, ‘जन्मदेखि मृत्यु र औषधिका रूपमा पनि उनीहरूले वाइन पिउँदै आएका थिए।’
[caption id="" align="alignnone" width="825"]
जर्जियामा भेटिएको माटोका घ्याम्पोको पिँध जहाँ वाइनको बाक्लो पत्र जमेको थियो। तस्बिरः जुडिटा ओस्जेस्की/दी न्यूयोर्क टाइम्स[/caption]
यो अनुसन्धानले वाइन उत्पादन इतिहासलाई ६ सय वर्ष पछाडि धकेलिदिएको छ। यसमा सबभन्दा बढी चिन्ता र चासो चीनलाई भएको हुनुपर्छ।
अहिलेसम्म पत्ता लागेको अवशेषअनुसार चीनमा सबभन्दा पहिले मदिरा उत्पादन भएको मानिँदै आएको छ। आजभन्दा ९ हजार वर्षअघि ईसापूर्व ७००० मै चीनमा ‘ककटेल’ उत्पादन भएको प्रमाण पुरातत्वविदले फेला पारेका थिए। त्यो ‘ककटेल’ चामल, मह, बेरी जातको सानो रातो फल र जंगली अंगुरको मिश्रणबाट बनेको थियो।
जर्जियामा भएको नयाँ खोजपछि चिनियाँ रेकर्ड मेटिने त होइन भन्नेमा धेरैले चासो दिए। तर, यहाँ कसैले कसैको रेकर्ड तोडेन। बरू दुई देशले आ-आफ्ना रेकर्ड बनाए, चीनले ककटेल उत्पादनमा र जर्जियाले वाइनमा।
जर्जियाले अंगुरबाट वाइन बनाउन मात्र होइन, त्यसलाई लामो समय जोगाएर राख्ने विधि पनि जानेको थियो।
उत्खननमा फेला परेका घ्याम्पा तीन सय लिटर अट्ने आकारका थिए। यो भनेको अहिलेका ४ सय बोतल वाइन बराबर हो। प्राचीन जर्जियालीले वाइन उत्पादन गर्न अंगुर लगायत चिज मिसाएर घ्याम्पामा राख्थे। र, जमिनमुनि गाड्थे।
अहिले पनि जर्जियामा वाइन बनाउने विधि यही हो।
यी घ्याम्पा निकै मूल्यवान् भएको अनुसन्धानकर्ता बट्युकले बताएका छन्। उनका अनुसार यसलाई जर्जियाको संग्रहालयमा राखिनेछ।
यसअघि शुद्ध रूपमा अंगुरबाटै बन्ने वाइन उत्पादनको सबभन्दा पुरानो रेकर्ड इरानमा थियो। इरानको जाग्रोस हिमालयमा बन्ने उक्त वाइन ईसापूर्व ५००० मा उत्पादन भएको अनुसन्धानकर्ताले पुष्टि गरेका थिए।