जतिबेला ठमेललाई सवारीमुक्त घोषणा गरियो, असन बजारमा त्यही नियम लागू गर्ने तयारी हुँदै थियो। ट्राफिक प्रहरीले ‘सवारी साधन प्रवेश निषेध’ लेखिएका बोर्ड असनको बीच सडकमा ल्याएर तेर्स्याइसकेका थिए।
एकाएक यो तयारी स्थगित भयो।
असनजस्तो व्यस्त बजारमा सवारी आवागमन रोक्दा व्यापार खस्किने भन्दै स्थानीयले असन्तुष्टि जनाए। ट्राफिक प्रहरी पनि हच्कियो।
महानगरीय ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनाल जनप्रतिनिधिहरू चुनावमा व्यस्त भएकाले निर्णय हुन नसकेको बताउँछन्। ‘हामीले अहिल्यै निर्क्यौल गरिसकेका छैनौं,’ उनले सेतोपाटीसँग भने, ‘स्थानीयको राय लिने काम भइरहेको छ। उहाँहरूले भनेअनुसारै अघि बढ्ने सोच छ।’
अब प्रश्न उठ्छ, के सवारी प्रवेश रोक्दा स्थानीयले शंका गरेझैं असनको व्यापार घट्छ? वा, यसले आर्थिक सँगसँगै ऐतिहासिक तथा साँस्कृतिक महत्व पनि बढाउँछ?
यसका लागि सबभन्दा पहिला कात्तिक ५ गतेबाट सवारीमुक्त भएको ठमेलको अनुभव हेरौं।
ठमेलमा वर्षौंदेखि कपडा व्यापार गर्दै आएका राम थापालाई पहिले यही शंका थियो। गाडी नै चल्न नदिएपछि किनमेल गर्न को आउलान् भनेर उनी चिन्तित थिए। सवारीमुक्त भएपछि जुन रूपमा ठमेलको चहलपहल बढेको छ, त्यसले उनी चकित छन्।
‘सुरुमा त हामीलाई विस्थापित नै हुन्छौं कि जस्तो डर लागेको थियो। चार–पाँच दिन बजार सुनसान पनि भयो, अहिले ठ्याक्कै उल्टो छ,’ उनले भने, ‘सधैं गन्जागोल देख्ने बानी परेकाले मात्र हामीलाई सुरुमा खल्लो लागेको रहेछ, खासमा मान्छेको चहलपहल पहिलेभन्दा बढेको छ। विदेशीहरू टहलिन निस्कन्छन्, नेपालीहरू पनि खुब आइरहेका छन्। यसले कारोबार बढेको छ।’
‘पैदल हिँड्नेहरू जति बढी भयो, व्यापार उति बढ्दो रहेछ,’ उनले अनुभव सुनाए।
अर्का व्यवसायी धर्मेन्द्र जयसवाल पनि धूलोधुवाँरहित भएपछि ठमेलको शोभा बढेको बताउँछन्। ‘ठमेलले मुहार फेर्ला भनेर त हामीले सोचेकै थिएनौं,’ उनले भने, ‘पार्किङ समस्या हल गर्ने हो भने अहिलेको नियम कहाँ हो कहाँ बेस!’
त्यसो भए राजधानीको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको असन बजारमा पनि ठमेलको अनुभव किन नअपनाउने?
हामीले यही प्रश्न असनका एक दर्जनभन्दा बढी व्यवसायीसँग सोध्यौं।
उनीहरूको प्रतिक्रिया मिश्रित थियो। कतिले सवारीमुक्त गर्दा असनको महत्व अझ बढ्ने बताए। मोटरसाइकलमा आउनेले सुरु–सुरुमा केही अप्ठ्यारो महशुस गरे पनि पछि बानी पर्दै जाने उनीहरूको भनाइ थियो। कमलाक्षी, भोटाहिटीदेखि जनबहालसम्म सवारीमुक्त गर्दा प्राचीन काठमाडौंको झझल्को फर्किने भन्दै केही स्थानीय दंग देखिन्थे। राजधानीको किनमेलमा असनको छुट्टै महत्वलाई सवारीमुक्तिले कुनै असर नपार्नेमा उनीहरू विश्वस्त थिए।
जस्तो, बासुकृष्ण वैद्यको कुरा सुनुँ।
उनी जडिबुटी बेच्छन्। उनको पसल आफैंमा ऐतिहासिक महत्वको छ, १८३२ सालदेखि चल्दै आएको।
असनलाई सवारीमुक्त गर्दा हानि नहुनेमा वैद्य ढुक्क छन्। बरु गाडीको घाइँघुइँ र धूलोधुवाँ साम्य हुँदा व्यापार बढ्ने उनी बताउँछन्। ‘मेरो पसलमा विभिन्न ठाउँबाट बिरामी आउँछन्। व्यक्तिगत रूपमा मलाई केही समय बेफाइदा होला, तर दीर्घकालमा फाइदै छ, त्यसैले यो लागू गर्नुपर्छ,’ उनले भने।
दिउँसोको व्यस्त समय कुनै पनि गाडी नचल्ने भएपछि बिरामीलाई आउजाउ गर्न सजिलो हुने उनको भनाइ छ।
उता, १० वर्षदेखि तामाका भाँडाको व्यापार गर्दै आएका दिपेन्द्र भण्डारी असनको ऐतिहासिक व्यापारिक महत्वले नै अरू सबै गौण बनाइदिने बताउँछन्।
‘असन भनेको सस्तो, सुलभ र नुनदेखि सुनसम्म पाइने ठाउँ हो, यसलाई सवारीमुक्त गर्दा कसैलाई घाटा हुन्न,’ उनले भने, ‘बरु अहिलेको गन्जागोलमा असन छिर्न झिँझो मान्नेहरू पनि टहलिँदै आउन थाल्नेछन्। ओहोरदोहोर गर्नेको संख्या नै बढ्नेछ, जुन समग्र व्यापारका लागि राम्रो हो।’
पायक ठाउँमा निःशुल्क पार्किङ र सवारी प्रवेशको निम्ति निश्चित समय तोक्नुपर्ने उनको सुझाव छ।
सबै व्यवसायी भने यस्तै सोच्दैनन्। केहीलाई सवारीमुक्त गर्नासाथ कारोबार खस्केला भन्ने धूकचुक छ।
जस्तो, सीता श्रेष्ठको कुरा सुनुँ।
उनी अन्य सवारी प्रतिबन्ध गरे पनि मोटरसाइकल आउजाउ गर्न दिनुपर्ने बताउँछिन्। ३० वर्षदेखि व्यापार गरिरहेकी उनलाई मोटरसाइकलधरि छिर्न नदिने हो भने कारोबार चौपट हुने डर छ।
असन सेवा समितिका पूर्व अध्यक्ष अमुलकाजी तुलाधर पनि यसलाई ठमेलसँग दाँज्नै नमिल्ने बताउँछन्। ‘ठमेल भनेको पर्यटन क्षेत्र हो, त्यहाँ मान्छे किनमेल गर्न होइन, घुमफिर गर्न जान्छन्,’ उनले भने, ‘असन नितान्त व्यापार केन्द्र हो, अचेल मान्छे सुविधाभोगी भएका छन्, गाडी छिर्न नदिने हो भने यहाँ को आउँछ? सवारीमुक्त गर्ने प्रस्ताव गलत हो।’
यति भन्दाभन्दै उनी सवारीमुक्त अभियानको विरोधी नभएको प्रस्ट पार्छन्। एकैचोटि नभई एकतर्फी बाटो हुँदै अभियान थाल्नुपर्ने उनको सुझाव छ। ‘पहिलो चरणमा मिनी ट्रक, टाटा मोबाइलजस्ता ठूला सवारी रोक्नुपर्छ,’ उनले भने, ‘होइन भने हामीले सरसामान कहाँबाट ल्याउने?’
सवारीमुक्त गर्नुअघि पार्किङको राम्रो सुविधा पनि हुनुपर्ने उनको भनाइ छ।
जहाँसम्म कारोबार घट्छ र सरसामान कहाँबाट ल्याउने भन्ने शंका छ, ठमेलको अनुभवले त्यसलाई निराधार साबित गर्छ। सवारीमुक्त भएपछि पनि ठमेलका होटल, रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर तथा पसलहरूले निर्वाध सामान ओसारिरहेकै छन्। निश्चित ठाउँसम्म साँझ–बिहानको समय छुट्टयाइएको छ। त्यहाँबाट ट्रलीमा राखेर सामान ओसारिन्छ। स्थानीयलाई बाधा नपुगोस् भनेर सवारी पास व्यवस्था गरिएको छ। पार्किङ समस्या हल गर्न पनि प्रयास भइरहेको ट्राफिकले जनाएको छ।
लामो समयदेखि काठमाडौंमा साइकल मार्ग अभियान चलाउँदै आएका भूषण तुलाधर सवारीमुक्त निर्णयले संसारको कुनै सहरलाई घाटा नभएको जिकिर गर्छन्।
‘संसारका ठूल्ठूला सहरमा मुख्य चोकभित्र गाडी लैजान पाइँदैन, तैपनि व्यापार खस्किएको छैन,’ उनले भने, ‘गाडी जति कम भयो, सडक उति खुकुलो र सुरक्षित हुन्छ, यसले बढीभन्दा बढी मान्छेलाई जान प्रेरित गर्छ। मान्छे जति बढी घुम्न गयो, व्यापार उति फस्टाउने त हो!’
असनको ऐतिहासिक र पुरातात्विक महत्व उजागर गर्न पनि सवारीमुक्त उपयुक्त विकल्प भएको उनी बताउँछन्।
उनका अनुसार अहिलेको गन्जागोलमा यहाँको महत्व दबिएको छ। मन्दिर तथा कलाकृति सवारीको घन्चमन्च र भीडभाडमा हराएका छन्। वरपर बसोबास गर्ने स्थानीयलाई एकअर्काको घर आउजाउ गर्न बाधा पुगेको छ। ‘खासगरी वृद्धवृद्धा र केटाकेटीलाई आफ्नो कोठा छाडेर बाहिर निस्कन समस्या छ, सवारीमुक्त भएपछि उनीहरू निस्फिक्री हिँडडुल गर्न सक्छन्,’ उनले भने, ‘यसले असनको शोभा नै बढ्नेछ।’
असन काठमाडौं महानगको २५ र २६ वडामा पर्छ। यो प्राचीन टोलमध्ये एक हो। यससँग जोडिएका अनेक किम्बदन्तीले साँस्कृतिक महत्व बढाएको छ।
काष्ठमण्डपमा रहेको कल्पवृक्षको हाँगा असनसम्म पुग्थ्यो रे। त्यो हाँगा पुगेको ठाउँमा विहार थियो। त्यसलाई अशोक मण्डप भनिन्थ्यो। त्यही अशोक मण्डपलाई ‘असं’ हुँदै असन भनिन थालेको नेपाल भाषा टाइम्सका सम्पादक सुरेश मानन्धर बताउँछन्।
अन्वेषक तीर्थमान महर्जनले पनि ‘अन्नपूर्ण मन्दिर र अन्नपूर्णदेवी जात्रा’ किताबमा यो बजार नामाकरणसँग सम्बन्धित किम्बदन्ती उल्लेख गरेका छन्।
धैरैअघि ठिमीका एक व्यापारीले बाँसको नोलमा चामल बोकेर काठमाडौं आउँदा यहीँ असन आइपुगेपछि गह्रौं भएर भारी बिसाएका थिए रे। पछि त्यो भारी उठाउन खोज्दा उनले हल्लाउनै सकेनन्। रित्तै घर गए।
घरपरिवारले सोध्दा डराएर ‘अन सं’ मात्र भन्न सकेछन्। नेपाल भाषामा ‘अन सं’ को अर्थ ‘त्यहीँ नै छ’ भन्ने हुन्छ। यसबारे तान्त्रिकसँग सोधपुछ गर्दा भारी बिसाएको ठाउँमा देवी अन्नपूर्ण विराजमान भएको बताएछन्। सबै मिलेर जमिन खन्दा अन्नपूर्ण देवीको मन्दिर फेला परेको र यही ‘अन सं’ बाट कालान्तरमा असन नाम रहन गएको महर्जनको भनाइ छ।
मानन्धरका अनुसार अहिले व्यापार केन्द्रमा सीमित असन राणाकालमा राजनीतिक जमघटको केन्द्र पनि थियो।
ए, बी, र सी ग्रेडका राणा खलकबीच किचलो हुँदा असनमा एउटा सभा भएको उनले बताए। ‘त्यतिबेला राणाहरूले चलाएको गोली लागेर न्हुच्छेसुन्दर तुलाधरको मृत्यु भएको थियो,’ उनले भने, ‘तुलाधरको शोकसभामै बालकृष्ण समले आफ्नो नामबाट शमशेर जबरा हटाएर सम मात्रै राख्ने घोषणा गरेका थिए।’
२०१७ र २०४६ सालका आन्दोलनमा पनि असनमा केहीको ज्यान गएको मानन्धर बताउँछन्।
यहाँको अर्को विशेषता दसैंसँग सम्बन्धित छ।
‘असनका स्थानीय दसमीको भोलिपल्ट मात्र दसैं मनाउने गर्छन्,’ मानन्धरले भने, ‘असनका बासिन्दाले मनाउने दसै अरू समुदाय र नेवारकै भन्दा फरक छ।’
यति मात्र होइन, काठमाडौंमा हुने सबै जात्रा कुनै न कुनै रूपमा असन छिरेकै हुने उनले जानकारी दिए। यसमा कुमारी रथयात्रादेखि सेतो मच्छिन्द्रनाथको जात्रा, अशोक विनायक जात्रा, मरु गणेश जात्रा लगायत छन्।
व्यापार केन्द्रको कुरा गर्दा, असन बजार आफैंमा सिंगो ‘डिपार्टमेन्ट स्टोर’ हो, जहाँ नुनदेखि सुनसम्म पाइन्छ। यस्तो ठाउँको सवारी आवागमन व्यवस्थित गर्दा ऐतिहासिक र साँस्कृतिक महत्व ख्याल राख्नुपर्ने वडा नम्बर २६ का अध्यक्ष चिनियामान ब्रजाचार्य बताउँछन्।
‘तत्कालै सवारीमुक्त बनाएर बजार धराशयी हुनसक्ने जोखिम मोल्नुभन्दा पहिले एकतर्फी सवारी रोक्ने गृहकार्य भइरहेको छ,’ उनले भने।
सहरी विकास अभियन्ता तुलाधर भने ऐतिहासिक र साँस्कृतिक महत्व हेरेर सवारीमुक्त घोषणा गर्नु टड्कारो भएको बताउँछन्। ‘ठमेलको शंका निवारण भइसक्यो, अब पालो असनजस्ता भित्री क्षेत्रको,’ उनले भने, ‘गाडी वा मोटरसाइकल चढेर असनमा किनमेल गर्न आउनेभन्दा ‘सर्ट कट’ (छोटो बाटो) खोज्दै यहाँ पस्नेहरू धेरै हुन्छन्, तिनले व्यापार त बढाउँदैनन्, उल्टै हुलमुल मात्र गर्छन्।’
‘मूलबाटोबाट छड्किएर पस्ने त्यस्ता सवारीका नाममा असनलाई अहिलेजस्तै अव्यवस्थित राख्नु उचित हुन्न। ट्राफिक प्रहरीले स्थानीयलाई विश्वासमा लिएर सवारीमुक्त गर्ने हो भने असनका बासिन्दा नै सबभन्दा बढी लाभान्वित हुनेछन्,’ उनले भने।