माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारले छोरा प्रकाशको परम्परागत तरिकाले किरिया नगर्ने भएको छ।
आइतबार निधन भएका प्रकाशको अन्त्येष्टि भने हिन्दु परम्परा अनुसार भएको थियो। पशुपति आर्यघाटमा प्रकाशको चितामा बुवा दाहालले दागबत्ती दिएका थिए।
स्रोतका अनुसार प्रकाशको कोही किरियापुत्री बसेको छैन न त परिवारका कुनै सदस्यले कपाल खौरिएर सेतो लुगा पहिरिएका छन्। खाना भने उनीहरुले सादा खाइरहेका छन्।
लाजिम्पाट निवासमा प्रकाशको तस्बिर र शोक पुस्तिका राखिएको छ। समवेदना दिन आउनेहरू प्रकाशको सोही तस्बिरमा श्रद्धाञ्जली अपर्ण गर्छन्।
जम्मा भएका परिवारका सदस्य पनि मंगलबारदेखि छुट्टिन थालेका छन्। माओवादी अध्यक्ष दाहाल मंगलबार चुनावी सभामा सहभागी हुन चितवन गएका छन्।
प्रकाशको निधनको खबर पाएपछि उनकी जेठी पत्नी सिर्जना त्रिपाठी, कञ्चनपुरबाट कान्छी पत्नी बिना मगर र भरतपुरकी मेयर दिदी रेणु दाहाल काठमाडौं आएकी थिइन्।
दाहाल परिवारले मंसिर ७ गते लाजिम्पाटमा प्रकाशको श्रद्धाञ्जली सभा गर्नेछ। त्यसपछि परिवारका अन्य सदस्य पनि छुट्टिने स्रोतले जानकारी दियो।