उपत्यकाको एउटा चिरपरिचित स्मारकसँग अब कलात्मक महत्व जोडिने भएको छ। पाटनको मुख्य नाकामा उभिएको पाटनढोका पहिले संरचना मात्र थियो, अब यसलाई पौभा कलाको नमूनाका रूपमा विकास गरिँदैछ।
यसअघिसम्म फाट्टफुट्ट ‘साइनबोर्ड पेन्टर’ का चित्र वा सन्देश मात्र अटाउन सकेको यो पुरानो ढोकामा एक–दुई दिनभित्रै अष्टमातृका लगायत दृश्य कोरिन सुरु हुनेछन्। र, यसलाई तयार पार्दैछ, मुलुककै अग्रणी पौभा कलाकार लोक चित्रकारले।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार प्राचीन ललितपुरका चारैतिर महत्वपूर्ण नाकामा ढोका बनाइएका थिए।
‘सहर सुरक्षित राख्ने काम नगर सभ्यताको सुरुआतसँगै भएको हो,’ जोशी भन्छन्, ‘यस प्रकारको अभ्यास मल्लकालमा उच्चतम विन्दुमा थियो।’
जोशीका अनुसार त्यस्ता ढोकामा दुईतिर पिलरजस्ता आकृति उभिएका हुन्थे। त्यस्ता पिलरमा खापा बनाएर अग्राखको आग्लो लगाउने र झिक्ने प्रबन्ध मिलाइएको हुन्थ्यो।
दुईतिर पिलर भएको त्यस्ता ढोका अहिले सबैतिर मासिए पनि बगलामुखीबाट शंखमूल ओरालो लाग्दा एक ठाउँमा भने अहिले पनि बचेको छ (हेरौं तस्बिर)।
जोशीका अनुसार ललितपुरको भोलढोका र मदनस्मारक स्कुलको पछाडि पनि यस्ता ढोका थिए। सहर पस्ने महत्वपूर्ण नाकामा रहेका ती सबै ढोका टोलका नामबाटै राखिएको थियो। सबैभन्दा मुख्य र महत्वपूर्ण ढोका भने यही पाटनढोका भएकै स्थानमा थियो।
‘त्यतिबेला पाटन छिर्ने मुख्य नाका नै यही थियो,’ जोशी भन्छन्, ‘त्यसैले यसलाई यलः ध्वाखाः पनि भनिन्थ्यो।’
यलः ललितपुरको पुरानो नाम हो भने ढोकालाई स्थानीय नेपाल भाषामा ध्वाखाः भनिन्छ।
यसरी उभिएको ढोका अग्राखको आग्लो लगाएर थुनिन्थ्यो। बिहान तोकिएको समयमा त्यो आग्लो उघारेर बेलुकी तोकेकै समयमा फेरि लगाइन्थ्यो।
‘शत्रु आउन नसकोस् भनेरै त्यसो गरिन्थ्यो,’ जोशी थप्छन्, ‘त्यसबाहेक नगरवासीकै पनि सुरक्षा निम्ति जथाभाबी ओहोरदोहोर नगरून् भनेर नियन्त्रित गरिएको हुन्थ्यो।’
यो मुख्य ढोकालाई ‘यलः ध्वाखाः’ भनिन्थ्यो भने त्यो सिंगो भेगलाई ‘ध्वाखाः सी’। जोशीका अनुसार अहिले पनि ललितपुरका पुराना बासिन्दा पाटनढोका क्षेत्र चिनाउनुपरे ‘ध्वाखाः सी’ नै भन्छन्।
मल्लकालतिर नाकामा उभिएका यस्ता ढोकाको महत्व कतिसम्म व्यापक थियो भन्ने उतिबेलाबाटै जनजिब्रोमा बसेका भनाइले पनि पुष्टि गर्ने जोशी सुनाउँछन्।
उनका अनुसार नेवारीमा एउटा प्रसिद्ध भनाइ छ, ‘ध्वाखाः मचामले बुअनी हथा’ अर्थात् ‘ढोका बन्द भएकै बेला मान्छेलाई खेतमा जान हतार’।
१९९० सालको भुइँचालोले उपत्यकालाई नराम्ररी बिथोलेका बेला यहाँका लगभग सबैजसो संरचना क्षतिग्रस्त भएका थिए। त्यसपछि तीव्र गतिमा पुनर्निर्माणको काम सुरु भयो।
‘त्यतिबेलै १९९१ सालमा जुद्धशमशेरले पुरानै ढोका भएको ठाउँमा नयाँ डिजाइनका साथ ढोकाको संरचना उभ्याइदिए,’ जोशी भन्छन्, ‘अहिले देखिएको पाटनढोका त्यसरी जन्मेको हो।’
नयाँ बनेको ढोकामा पिलरबाहेक माथिबाट ‘आर्क’ समेत राखिएको थियो। ‘यो कताको डिजाइन हो थाहा छैन,’ संस्कृतिविद् जोशी भन्छन्, ‘हाम्रो मौलिक संरचना होइन।’
समयसँगै यो संरचना उपत्यकाकै एउटा चिरपरिचित स्मारक भने बनिसकेको छ।

ढोकाको सबैभन्दा माथिल्लो भागमा ग्लोबजस्तो गोलाकार राखिएको छ। त्यसैगरी दुवैतर्फ गणेश र कुमारका मूर्ति छन्। त्यसबाहेक एउटा सेतो र अर्को रातो मच्छिन्द्रनाथको प्रतीकका रूपमा दुईवटा पद्यपाणि राखिएको छ। ढोकाको एकातर्फ निर्माण भएको वर्ष अर्थात् १९९१ अंकित छ भने अर्कोतर्फ रोमन लिपिमा बिडिकेएल लेखिएको छ।
यसरी तयार भएको पाटनढोका निकै पछिसम्म सादा नै थियो। पछि गएर यसमा विभिन्न सन्देश लेख्ने र चित्र बनाउने काम सुरु भयो।
‘नेपाल सम्बतको लहर चलेका बेला हरेकपटक नयाँ वर्षको शुभकामना दिने उद्देश्यले न्हुदया भिन्तुना लेख्न थालियो,’ जोशी भन्छन्, ‘त्यसबाहेक खासै महत्व नबोकेका अनेकथरि चित्र पनि कोरिन्थ्यो।’
निकै पछि स्थानीय बासिन्दाले घरतिर शुभकार्यमा प्रयोग गरिने सुगा र कलशको चित्र पनि बनाए। यस्ता चित्र र सन्देश कोर्ने काम टोलबासीकै पहलमा प्रायः साइनबोर्ड बनाउनेहरूबाटै हुन्थ्यो।
‘जापानको फुकुओका संग्रहालय लगायतमा समेत उनले बनाएका कृति संरक्षित गरिएको लोक चित्रकार पौभाका निम्ति हामीकहाँ सबैभन्दा उच्च कलाकार हुन्,’ जोशी भन्छन्, ‘त्यस्तो कलाकारको सिर्जना यो भित्तामा अटाएपछि अब यो भित्ताले कलात्मक महत्व पनि पाउनेछ।’
त्रिभुवन विश्वविद्यालयमा नेपाल भाषा विभागका पूर्व प्रमुख तुलसीलाल सिंहले दिएको सुझावअनुसार आफूले पाटनढोकामा अष्टमातृकाको चित्र बनाउन लागेको चित्रकार बताउँछन्।
तिहार बेला बर्सेनि एक–दुई दिन लगाएर जसोतसो रंग्याउने काम मात्र हुँदै आइरहेको यो ढोकालाई यसपालि विस्तृत योजनासहित चित्र कोर्न लामै समयदेखि जुटेको उनले सुनाए।
‘सुरुमा रंगको कोट एकदमै बाक्लो बसेकाले भित्ताका पत्र उप्कायौं,’ चित्रकार भन्छन्, ‘त्यसपछि नयाँ पत्र लेपन गरिएको छ।’
यसरी सफा र चिल्लो बनेको भित्ता अब चित्र कोर्न तयार छ। मचानको काम पनि भइसकेकाले एक–दुई दिनभित्रै काम थालिहाल्ने उनी सुनाउँछन्।
यो ढोकामा अष्टमातृकाको चित्र बनाउने निर्णय असाध्यै उपयुक्त भएको संस्कृतिविद् जोशी सुनाउँछन्।
‘गुणकामदेवले यहाँ सहरीकरण सुरु गर्दाखेरि नै सहर संरक्षण गर्ने देवीका रूपमा अष्टमातृकालाई चारैतिर स्थापना गरेका थिए,’ जोशी थप्छन्, ‘पाटनमा पनि अवस्थितिअनुसार सहरका बाहिरी किनारामा अष्टमातृका स्थापना गरिएको छ।’
उनका अनुसार सहरको संरक्षिका मानिने अष्टमातृकाले यसको सुरक्षा गर्छिन् भन्ने अवधारणा छ। र, यो सम्पूर्ण प्रक्रिया तान्त्रिक विधिबाट हुन्छ।
सहरको मुख्य प्रवेश विन्दु भनेर चिनिने पाटनढोकामा परम्परा, संस्कृति र धार्मिक आस्थाका आधारमा तयार भएको कलाकृति अटाउनु महत्वपूर्ण हुने जोशीको ठहर छ।
त्यसैले ढोकाका प्रत्येक ठूला पिलरमा दुवैतिर गरेर आठ देवी महालक्ष्मी, चामुण्डा (महाकाली), बाराही, कौमारी, रुद्रायणी, ब्रह्मायणी, इन्द्रायणी र वैष्णवीका चित्र अंकित हुनेछन्। अष्टमातृकाका प्रत्येक चित्र चार फिट चौडा र साढे पाँच फिट अग्ला हुनेछन्।

चित्रकारका अनुसार अष्टमातृकाबाहेक ढोकामै दुवैतिर कुँदिएका गणेश र कुमारका मूर्ति पनि रंग्याइने छ। यसरी रंग लगाउँदा ती मूर्तिको प्रभामण्डल पनि थपिनेछ। त्यसैगरी पुष्पवृष्टि गरिरहेका दुईवटा परी पनि ढोकामा अटाइनेछ।
‘दुईतिरका दुईवटा साना ढोकामा भने तोरण बनाउने विचार गरेका छौं,’ चित्रकार भन्छन्, ‘ढोकामा यी चित्र कोरिसकेपछि त्यसलाई सुहाउँदो बनाउन अन्य आकृति पनि थप्न सकिनेछ।’
ढोकाको सबैभन्दा माथिल्लो भागमा रहेको ग्लोबजस्तो गोलोलाई भने के गर्ने भनेर अझै टुंगोमा पुग्न सकिएको छैन। त्यो गोलाकृति किन राखिएको भन्ने पनि थाहा नभएकाले त्यसबारे निर्णय लिन अप्ठेरो भइरहेको चित्रकार बताउँछन्।
यो सबै तयार पार्न काम सुरु गरेपछि उनको छ जनाको टिमलाई केही महिना लाग्ने चित्रकारको अनुमान छ।
‘योजनादेखि कागजमा ढाँचा उतार्नै लामो समय लागिसकेको छ,’ उनी थप्छन्, ‘ढोकाको काम छिट्टै सम्पन्न गरेर हाम्रो नियमित काममा फर्कन पनि हतार भइसक्यो।’
कागजमा उतारिएको ढाँचालाई नै भित्तामा लगेर सारेपछि त्यसमा रंग लगाउने योजना बनाइएको छ।
रंगका निम्ति भने पानीबाट बचाउने गरी इमल्सनकै प्रयोग गरिनेछ। तयार भइसकेपछि त्यसलाई पानी र धूलोबाट बचाउन माथिबाट एक पत्र ‘ल्याकर’ लगाइनेछ।

पाटनढोकामा तयार पारिने पौभा चित्रले दस्तावेजीकरणको एउटा नयाँ मानक पनि तयार गर्ने चित्रकार सुनाउँछन्।
हाम्रो मौलिक चित्रकारिताका रूपमा रहेको पौभाकला परम्परादेखि दरबार तथा गुम्बादेखि मठमन्दिरका भित्तामा प्रयोग हुँदै आएका छन्। तीमध्ये कसैको पनि दस्तावेजीकरण गरिएको छैन।
‘हाम्रो कलाको यो ठूलो कमजोरी रहँदै आएको छ,’ चित्रकार भन्छन्, ‘दस्तावेजीकरण नहुनुले नै त्यस्ता भित्ताको जिर्णोद्धार गर्नुपर्दा समस्या पर्ने गरेको छ।’
यस्तो अवस्थामा पाटनढोकामा बनाइन लागेको चित्रका सम्पूर्ण रेकर्ड तयार पारेर दस्तावेजका रूपमा सुरक्षित राखिने भएको छ। त्यो रेकर्ड हाल पाटनढोकाको निर्माणमा मुख्य पहलदेखि व्यवस्थापनसम्मको काम गर्दै आएको शान्ति युवा क्लबले सुरक्षित राख्ने प्रबन्ध मिलाएको चित्रकारले बताए।
‘यसो गर्दा धेरै वर्षपछि अरू कसैले यही प्रतिरुप उतार्नुपरे समस्या हुने छैन,’ उनले थपे, ‘नत्र लगातार भुइँचालो गइरहने हामीकहाँ यस्ता भित्ते पौभा चित्र लगभग समाप्त हुने क्रममा गइसकेका छन्।’