केही दिन यता रत्नपार्क आसपासका सडक सफा र चिल्ला देखिन थालेका छन्। हिँड्दा मास्क नलगाए साससँगै धुलो पनि मुख भित्र पस्ला कि भनेर मुख नछोपे पनि हुन्छ।
महानगरपालिकाले यो क्षेत्रमा बिहान धुलो उठाउने र रात परेपछि सडक पखाल्न थालेपछि यो सम्भव भएको हो।
‘बिहान ब्रुमर लगाएर धुलो उठाउँछौं, ब्रुमरले नभ्याउने खाल्डाखुल्डीमा मान्छे लगाउँछौं,’ महानगरका प्रमुख कार्यकारी अधिकृत धनिराम शर्माले भने, ‘राति ती सडक पानीले पखाल्छौं।’
बिहान धुलो बढार्ने र राति सडक पखाल्ने काम महानगरभित्रका अन्य क्षेत्रमा पनि गर्ने योजना रहेको उनले बताए।
‘धेरै ठाउँमा सडक विस्तार भइरहेकाले धुलो उठाउने र पखाल्ने अवस्था छैन,’ शर्माले भने, ‘बरु विस्तार भइरहेको त्रिपुरेश्वर–कालिमाटी खण्डमा बिहान धुलो मार्न बिहानै पानी छ्यापिरहेका छौं।’