‘दाइ मलाई पनि चित्र बनाउन सिकाइदिनुस् न!’
हातमा साइकलको सानो पांग्रा लिएर खेल्दै गरेका ५ वर्षीय बालकले सानो स्वरमा आग्रह गरे।
उनले पनि मुसुक्क हाँस्दै भने, ‘हुन्छ, मैले चित्र बनाएको हेर्दै सिक न।’
बालकले भने, ‘हुन्छ तर मलाई तपाईंले कलम समातेको तरिका नै पहिला सिकाउनु पर्छ है। त्यही नै गाह्रो लाग्छ के।’
‘हुन्छ,’ उनले भने।
उनी कुनै नामी चित्रकार होइनन्। न व्यवसायिक नै। न त उनको कुनै ग्यालरी नै छ।
उनी आनन्द पासवान हुन्, दुवै हात र दाहिने खुट्टा नभएका। भारतको सानो गाउँबाट १७ वर्ष अगाडि नेपाल आएका उनका चित्रले भने धेरैको मनमा ठूलो छाप बनाएको छ।
‘दुवै हात र एक खुट्टा नभएका आनन्दले चित्र कसरी बनाउँदा हुन्?’
अर्को खुट्टाले वा मुखले?
होइन, हातले नै हो।
कुइनोमा टुंगिएको उनको आधा हातले उनी कागजमा चित्र बनाउँछन्। रङ भर्छन्। उनलाई हेर्ने सबैलाई चकित खुवाउँछन्।
२१ वर्षीय आनन्दको कलम समात्ने तरिका बेग्लै छ।
उनी कुइनाका टुप्पोले कलमको बिँड समात्छन्।
त्यही तरिकाबाट सायद ती बालक प्रभावित थिए। उनी आनन्दको छेउमा गए, आनन्दले चित्र बनाउन चलाएको कलम ध्यान दिएर हेर्न थाले। खेल्न कुदेका उनलाई आनन्दको चित्र बनाउने तरिकाले नै तान्यो, सिकाइ नमागी बस्न सकेनन्।
आनन्दको कलम कागजमा खरखर सर्न थाल्यो। सुगाको चित्र बन्यो। बालक घोरिएर हेर्न थाले। चित्र कोर्ने र रङ भर्ने तरिका नियालिरहे।
कागजमा हरियो सुगा जीवन्त देखियो।
‘अर्को पनि बनाउनु न,’ बालकले भने।
आनन्दका ‘शिष्य’ बनेका बालकलाई हामीले सोध्यौं।
‘तिमीलाई आउँदैन?’
‘हेरेर मात्र कहाँ जानिन्छ र?’ उनले भने, ‘अलिअलि त बनाउँछु तर उहाँको जस्तै बनाउन फिटिक्कै आउँदैन।’
बालक सधैंजसो आनन्दलाई घेरेर बस्छन्, केही सिक्न पाइन्छ भनेर।
आनन्द पनि उनी जस्तै अरू केटाकेटीलाई आफ्नो कला सिकाउन पाउँदा दंग पर्छन्।
‘दाइ, मलाई पनि सिकाइदिनु न भन्दै धेरै केटाकेटी आउँछन्। म उनीहरुलाई मैले गरेको हेर अनि विस्तारै सिकिहाल्छौ नि भन्छु,’ आनन्दले भने।
यो उनका निम्ति गर्व हो।
बसन्तपुर परिसरको एक मन्दिर छेउमा उनको दैनिकी बित्छ, यसैगरी। चित्र बनायो, बेच्यो।
उनको कला यहाँमात्र भने सीमित छैन। उनलाई कसैकसैले चित्र बनाइदिन भन्छन्। घरमै बसेर क्यानभासमा पनि बनाउँछन्। तै उनको रुचि बसन्तपुर आउनेजानेको भिडमा छ, आफूलाई त्यहीँ देखाउन चाहन्छन्।
‘मलाई यहीँ बसेर चित्र बनाउँदै बेच्न मन लाग्छ,’ उनले भने, ‘केटाकेटी आउँछन्, सिकाइदिनू न भन्छन्, आउजाउ गर्नेले हेर्छन्। मलाई यही रमाइलो लाग्छ।’
‘चित्र बनाउन कहाँ सिक्नुभयो?’
‘कहीँ होइन,’ उनले भने, ‘मेरो कल्पनामा।’
आफू कल्पनाशील भएकैले चित्र बनाउन सक्ने भएको उनी बताउँछन्।
‘म धेरै कल्पना गर्छु। अनि तिनै कल्पनालाई चित्रमा उतार्छु,’ उनले भने, ‘रङ पनि निकै कल्पना गरेरै भर्छु। मेरा चित्रमा कुन रङ सुहाउँछ भन्ने सोच्छु।’
उनले त्यही कल्पना र त्यसबाट उब्जेका कलालाई बसन्तपुर क्षेत्रको बाटोमै सजाएर प्रशंसक बटुलेका छन्– २ वर्षदेखि।
उनको अवस्था सधैं यस्तो भने थिएन।
जन्मदै दुई हात र दाहिने खुट्टा नभएपछि परिवारले उनलाइै सडकमा माग्न पठायो। केही वर्ष बाटोमा मागेरै बिताएको उनी बताउँछन्।
उनका आत्मबलले सधैं माग्न दिएन।
‘माग्दा–माग्दा मलाई दिक्क लाग्यो। हात छैन त के भयो, केही न केही त गर्न सकिन्छ होला भन्ठानेँ। बाटोमा आफ्नो अशक्तता देखाएर माग्ने काम साह्रै दुःख लाग्दो। अनि बिस्तारै कइनोबाट टुंगिएका हातका मांसपेशीले माटोमा कोर्दै बस्न थालेँ। आफ्ना कल्पनाका चित्र माटोमा कोर्न थालेँ,’ उनले विगत सम्झँदै भने।
उनका अनुसार सुरुसुरुमा उनी आफू बसेकै ठाउँमा भएको माटोमा आफ्ना कुइनाका स–साना मांसपेशी चलाउन थाले। केही बन्थेन। उनले हिम्मत हारेनन्। भगवान सम्झिए, स्वरूप कोर्न थाले। आफूले बनाएका भगवानका आँखा, नाक उनलाई राम्रो लाग्न थाल्यो।
आँखा र नाकबाट चित्र बनाउन सुरु गरेका उनी अहिले गणेश, शिव, काली, बुद्धको फरक–फरक अवतारमा चित्र बनाउन सक्छन्।
उनी आफ्नै तस्वीर पनि बनाउँछन्, जुन उनका निम्ति सबैभन्दा प्रिय हो। किन्नेहरुले पनि उनको त्यो रुपको तस्वीर निकै मन पराउँछन्।
काठमाडौंकी एक महिलाले आनन्दको आफ्नै चित्र किनिन्। उनले आनन्दको यो कला निकै प्रेरणादायी भएको बताउँदै भनिन्,‘ खिचेर लैजाउँ भन्ने सोचेकी थिएँ तर किनेँ। छोरीलाई देखाउँछु। फेसबुकमा पनि हाल्छु।’
‘सामान्य मान्छेलाई सानो घाउ हुँदा त केही काम गर्न सक्दिनँ भनेर पछि हट्छन्। उनको दुई हात नहुँदा पनि यस्तो कला छ,’ उनले भनिन्, ‘असम्भव कुरा सम्भव बनाएको छ। हात हुनेहरुलाई यो चुनौती हो।’
उनी यो प्रेरणा आफ्नी छोरीलाई दिन चाहन्छिन्। जस्तो सुकै परिस्थितिमा पनि मिहेनतले काम गरेर जीवन गुजारा गर्न सकोस् भनेर।
एक विदेशी महिलाले आनन्दले चित्र कोरेको हेरिरहिन्। अनि भनिन्, ‘उनीसँग जे कला छ त्यो निकै अभुतपूर्व छ। उनको काम प्रेरणा हो।’
यति भन्दै उनले आनन्दले बनाएको एक चित्र किनिन्।
करिब एक घण्टा लगाएर बनाएको चित्र उनी २ सय ४० रुपैयाँमा बेच्छन्।
‘किन्नेले महंगो भयो भन्दैनन्,’ उनले भने, ‘मेरो कला कदर होस् र मेरो समस्यामा पनि केही मद्दत होस् भनेर मूल्य तोकेको हो।’
बाटोमा चित्र किन्नेहरुले किन्छन्, नकिन्नेले पनि उनलाई सहयोग गर्छन्। अरूले गरेको सहयोगमा उनी कुनै आपत्ति जनाउँदैनन्।
‘दिनमा ३–४ वटा चित्र बिक्छ। अनि मलाई हेर्नेहरुले माया गरेर १०, २० रुपैयाँ सहयोग पनि गर्छन्। तर मलाई बनाएको चित्र किनिदिए बढी खुसी लाग्छ। हौसला मिल्छ,’ उनले भने।
उनी बाटोमा बस्न थालेकै १९ वर्ष भयो। हरेक दिन उनी सामान बोकेर आफैं आउँछन्, बैसाखी टेक्दै। साँझ परेपछि फेरि उसैगरी डेरा फर्कन्छन्। देख्नेहरुलाई उनको आउजाउ यात्रा कठिन लाग्छ, उनलाई सामान्य भइसक्यो।
उनको परिवारमा अहिले उनी र आमा छन्।
‘बुबा बिरामी भएर बित्नुभयो। उहाँको उपचारमा धेरै ऋण लाग्यो। अहिले चित्र बेचेको पैसाले ऋण तिर्दैछु,’ उनले भने।
आनन्दको सपना चित्रकार बन्ने मात्र होइन, गायक बन्ने पनि हो।
‘म चित्र कोर्छु, आर्टिस्ट बन्ने सपना थियो। गायक बन्ने सपना अधुरै छ,’ उनले भने, ‘हात, खुट्टा नभएर के भो, भगवानले कला दिएका छन्। त्यसकै भरपुर उपयोग गर्छु। मन दुखाउने एउटा बहाना भएपनि अगाडि बढ्ने सयौं विकल्प छन् मसँग।’
त्यसैले त उनी केही जान्दिनँ भनेर रोकिँदैनन्।
स्कुल पढ्न नपाए पनि आनन्दले अंग्रजी सिक्न २ महिना तालिम लिए।
नेपाली लेख्न र पढ्न राम्ररी सक्छन् भने आफ्ना हरेक चित्रमा लेख्न सक्छन्– आर्ट बाइ आनन्द।
सबै तस्वीरः नारायण महर्जन/सेतोपाटी