विरोधकै बीच जारी निर्माण रोक्न रानीपोखरी संरक्षण अभियन्ताहरुले निर्माणक्षेत्रमा तालाबन्दी गरेका छन्।
मंगलबार बिहान महानगरपालिका उपमेयर हरिप्रभा खड्गीको अनुगमनपछि संरक्षण अभियन्ताले त्यहाँ तालाबन्दी गरेका हुन्। यसमा उपमेयर खड्गीसहित सम्पदाविद् र पुरातत्वविद्को समर्थन रहेको अभियन्ता आलोक तुलाधरले सेतोपाटीलाई बताए।
‘बिहान उपमेयर आउनुभयो। उहाँको अनुगमन सकेपछि हामीले तालाबन्दी गर्याैं,’ तुलाधरले भने, ‘उपमेयरले आफ्नो पनि समर्थन रहेको जनाउनु भएको हो।’
उनका अनुसार विश्वज्योति हल अगाडिको गेटमा तालाबन्दी गरिएको छ। यही गेटमा निर्माण सामग्री ओसारपसार हुन्थ्यो। तालाबन्दीपश्चात् रानीपोखरीभित्र कोही कामदार नभएको पनि तुलाधरले जानकारी दिए। डोजर लगायतका निर्माण सामग्री भने त्यहीँ छन्।
तालाबन्दी पश्चात् अभियन्ता शैलेश शाक्यले महानगरमा फोन वार्तालाप गरेका पनि तुलाधरले जानकारी दिए। उनका अनुसार महानगरले ‘कसले तालाबन्दी गरेको हो? हामीसँग कुरा गर्न आउनु’ भन्ने जवाफ दिएको छ।
तुलाधरका अनुसार स्थानीय, सम्पदा र पुरातत्वविदसँग छलफल गरी उपमेयरसहितको समर्थनमा तालाबन्दी गरिएको हो। ठेकेदार कम्पनीले पनि हाल आफ्नो काम रोकेको छ। ‘यसमा कसैको विरोध छैन,’ तुलाधरले भने, ‘काम रोकिएको छ, कामदार बाहिर छन्। महानगरले कुनै प्रतिक्रिया जनाइहालेको छैन।’
[caption id="attachment_118560" align="alignnone" width="960"]
तस्बिर सौजन्यः दर्शन शाक्य[/caption]
सरोकारवाला र स्थानीयको चौतर्फी विरोध भइरहँदा पनि महानगरले रानीपोखरीमा कंक्रिट पर्खाल लगाउने र माटो खोस्रने काम जारी राखेको थियो। सोमबार दिउँसो मात्र उसले पूर्वी भाग खन्ने काम लगभग सकेर उत्तरतर्फ सुरु गरेको थियो। सोमबारै बेलुकी उपमेयर खड्गीले आफू मंगलबार अनुगमनमा जाने र निर्माण काम रोक्न पहल गर्ने बताएकी थिइन्।
पुरातत्व विभागको स्वीकृतिबिना नै मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कंक्रिट संरचना बनाउन सुरू गरेको आरोप लगाइन्। उपत्यकाको सम्पदा नै लोप हुनेगरी निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचना निर्माणको काम अघि बढाउन नदिने दाबी समेत गरिन्।
रानीपोखरी निर्माणबारे मेयर शाक्यले आफूसँग सामान्य परामर्श समेत गर्न नचाहेको भन्दै पुरातत्व विभागको स्वीकृतिबिना कुनैपनि सम्पदा पुनर्निर्माणको काम अघि बढाउन नमिल्ने बताइन्।
महानगरले १० करोड लागतमा रानीपोखरी पुनर्निर्माण गर्ने योजना बनाएको छ। कंक्रिट पर्खालबाहेक महानगरको योजनामा यहाँ कफी पसल, बगैँचा र ‘म्यूजिकल वाटर फाउन्टेन’ बनाइनेछ।
३५० वर्ष पुरानो रानीपोखरी पुनर्निर्माण पुरानै शैलीमा हुनुपर्ने सम्पदा र वास्तुविद्हरुको भनाइ छ। महानगरपालिका मेयर भने आधुनिकतातर्फ उन्मुख हुनपर्ने भन्दै सरोकारवालाको भनाइ वेवास्ता गर्दै आएका छन्।
https://www.facebook.com/setopati/videos/1707785972625302/