भुटानी राजकुमारी असी केसाङ छोदेन टि वाङचुक भुटानको थाङ्का संरक्षण केन्द्रकी कार्यकारी निर्देशक र प्राचीन बौद्ध लिपी तथा सङ्केतहरूको अध्येता हुन्। उनले सांस्कृतिक संरक्षणमा आफ्नी हजुरआमाको बाटो समातेकी छन्। भुटानमा अहिले भइरहेको सांस्कृतिक पुनर्जागरण अभियान अगाडि बढाइरहेकी छिन्। भुटानबारेमा उनले लेखेका तीनवटा किताब र धेरै लेखहरू प्रकाशित भइसकेका छन्।
भर्खरै उनले हङकङ भ्रमण गरिन् जहाँ उनी एसिया सोसाइटी हङकङ सेन्टरको थाङ्का संरक्षण सम्बन्धी एक कार्यक्रममा बोलाइएकी थिइन्। त्यसैबेला
ग्लोबल बुद्धिष्टडोरले उनीसँग लिएको अन्तर्वार्ता
सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।
तपाईंको उद्देश्य भुटानको सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धन गर्नु हो भन्ने मलाई थाहा छ। तपाईंको आकाङ्क्षाको बारेमा केही बताइदिनुहुन्छ ?साँच्चै भन्नुपर्दा यो व्यक्तिगत आकाङ्क्षा भन्दा पनि सामूहिक आकाङ्क्षा हो। मैलेभन्दा बढी काम गरिरहेका अरू धेरै छन्। उदाहरणको लागि मोनास्टिक बडीलाई हेरौं। उनीहरू त वास्तवमा हाम्रो सांस्कृतिक सम्पदाको रक्षक नै हुन्। त्यहाँ पुग्न अरू पनि धेरै छन् जसलाई सबैको एक पाइला सहयोग चाहिएको छ। मैले त्यही एक पाइला दिने प्रयत्न गरिरहेको छु।
भुटानको कति साँस्कृतिक सम्पदा सर्वसाधारणको लागि खुल्ला छन् ?अहिले पाँच प्रतिशत मात्र होलान्। तर म आशावादी छु कि बाँकी पनि खुल्दै जानेछन्। धेरै पवित्र बस्तु तथा चिजहरू गुम्बाहरू भित्र छन्। त्यसैले जबसम्म हामी आठ घण्टाको हाइकिङ गर्न तयार हुँदैनौ त्यहाँ पुग्न र हेर्न सक्दैनौं। खुल्ला भएकाहरू पनि चाडवाडका बेला मात्र सर्वसाधारणहरूको पँहुचमा छन्।
भुटानमा संग्रहालयहरू छन् ?छन्। तर धेरै महत्त्वपूर्ण तथा बहुमुल्य सामानहरू छैनन्। हामीसँग भएका धेरै चिजहरू मैले अगाडि भनेजस्तो गुम्बाहरूमा पवित्र वस्तु भनेर राखिएको छ।
यसको मतलब संग्रहालयमा भएका वस्तुहरू फर्काउने गरी ल्याइएका हुन्?हो। तिनीहरू निश्चित समुदाय तथा गुम्बाहरूका हुन् र उनीहरू तिनलाई फर्काएर लैजान इच्छुक भइहाल्छन्। धेरै मानिसहरू किन पनि चिन्तित भएका हुन् भने हाम्रो बौद्ध परम्परामा धार्मिक र आध्यात्मिक बस्तु आफूसँग हुँदा त्यसले समुदाय र गुम्बालाई आशीर्वाद र आध्यात्मिक फाइदा दिन्छ भन्ने हाम्रो विश्वास छ। ती चिजहरू सँगै नहुँदा मानिसहरू चिन्तित हुनु स्वभाविक हो।
मैले सुनेको थिएँ कि २००८ देखि २०१० सम्म भएको भुटानी कलाको प्रदर्शनी यात्रा, ड्रागन्स गिफ्टको रूपमा अमेरिका र युरोप पठाइएका वस्तुहरूबारे पनि मानिसहरू चिन्तित छन्।हो। मैले बुझेसम्म यो केवल दुई वर्षे प्रदर्शनी यात्रा थियो तर राजाले जनतालाई त्यो कुरा बुझाउन १० वर्ष लाग्यो। गाँउलेहरूले भनेका थिए ‘के रे? यी सामान बाहिर जाने रे? यिनीहरूले त यो आँगन पनि छोडेका छैनन्।’ उनीहरू वास्तवमै चिन्तित थिए।
लैजानुभन्दा पहिला धेरै पूजा पनि गरिएको थियो हैन? हो। धेरै भिक्षुहरू पनि वस्तुहरूसँगै यात्रा गरेका थिए। उनीहरूको लागि त्यो ठूलो जिम्मेवारी थियो।
[caption id="attachment_119583" align="alignleft" width="382"]
भुटानी राजकुमारी असी केसाङ छोदेन टि वाङचुक। तस्बिरः ग्लोबल बुद्धिष्टडोर[/caption]
तपाईंको भनाइको मतलब स्थानीय मानिस साँस्कृतिक सम्पदासँग धेरै नै जोडिएका छन् हैन? जब उनीहरू साना थिए, परम्परा अघिल्लो पुस्ताबाट उनीहरूमा सर्यो। उदाहरणको लागि मेरो हजुरआमाले गुम्बाहरूमा जाँदा जहिल्यै पनि मलाई कथाहरू सुनाउनुहुन्थ्यो। ती कथाहरू प्राय इतिहास र आध्यात्मिक विषयबारे हुन्थे। त्यसरी कथा प्राय सबैले सुनाउँछन्।
किशोर अवस्थासम्म त ठिकै हो तर जब उनीहरू २० वर्ष पुग्छन् उनीहरू आध्यात्मिक रूपमा बाँधिइसकेका हुन्छन्। यस्तो हस्तान्तरण जरुरी छ। मलाई आशा छ अहिलेको पुस्ताले पनि आफ्नो सँस्कृतिलाई त्यसै गरी हस्तान्तरण गर्नेछ र संरक्षण गर्नेछ।
डोसङ्गर खेन्से रेम्पोचेले भुटान ब्रोडकास्टिङ सँगको एक अन्तर्वार्तामा भनेका छन् कि भुटानी कला तथा तिनको सरहाना गर्ने उनीहरूको कला असाध्यै बलियो छ। किनकि भुटानीहरू आफ्नो पुरानो परम्परा जोगाउन अतिनै संवेदनशील छन्। हो?रेम्पोचे एक तहसम्म एकदमै सही छन्। धेरैजसो पुराना पुस्ता बौद्ध चालचलनहरूमा अन्धभक्त भएर लागेका छन्। तर धेरै युवा पुस्ता भने त्यसबारेमा जवाफ खोज्दै प्रश्न गर्न पनि थालेका छन्। मलाई लाग्छ यस्तो विषयमा सम्वाद गर्नु नयाँ पुस्तालाई कुनै बस्तु किन महत्वपूर्ण भन्ने कुरा बुझाउने सजिलो उपाय हो।
उदाहरणको लागि हामी गर्मी महिनामा हाइ स्कुलका विद्यार्थीहरूसँग समर रिट्रिटमा जान्छौं। उनीहरू दीयोहरु किन बालिएको हो र त्यसको के महत्त्व छ भनेर प्रश्नहरू सोधिन्छ। हामी ध्यान किन गर्छौं भन्ने पनि सोधिन्छ। म शिक्षक हैन तर मैले जति बुझेको थिएँ त्यति उनीहरूलाई बताएँ।
मैले भनेँ कि खास गरी दिमागलाई तालिम मार्फत परिवर्तन गर्न गरिन्छ। उनीहरूले त्यही रूपमा बुझे। मैले उनीहरूलाई ध्यान गर्दा कसरी दिमाग परिवर्तन हुन सक्छ भन्ने बारेमा गरिएका वैज्ञानिक अनुसन्धानहरू पनि सुनाएँ। मैले भनेका कुराहरू उनीहरूसँग सम्बन्धित थिए। र उनीहरूले पत्याए। यसरी नै गर्ने हो। अन्धविश्वासमा आधारित हैन कि व्यवहारिक रूपमा आधारित भएर त्यस्ता कुराहरू उनीहरू पत्याउँछन्। मलाई लाग्छ परिवर्तन यसरी नै हुनुपर्छ।
मैले पढेको छु कि भुटानमा युनेस्को विश्व सम्पदा सूचीमा परेका कुनै पनि सम्पदा छैनन्। तर २०१२ देखि यता आठवटा परेका थिए। त्यसको बारेमा केही अपडेट छ? हामी अझै यसमा काम गरिरहेका छौं। हामीले दर्ता गरेका ती आठमध्ये वाङ्डु फोड्राङ जोङ केही वर्ष पहिला जलेर नष्ट भयो। तर सरकार ती सम्पदाहरूलाई पुनः सूचीकृत गराउन लागिपरेको छ। यो आगामी वर्षसम्ममा होला भन्ने आशा लिएका छौं।
थाङ्का संरक्षण केन्द्रको बारेमा केही बताइदिनुहोस् न। त्यसको तपाईं कार्यकारी निर्देशक पनि हुनुहुन्छ। कस्ता कस्ता समस्याहरू आइरहेका छन्? र थाङ्का कुन संस्थासँग सम्बन्धित कुरा हो? पहिलो कुरा त हामी सम्पदा संरक्षण जहिल्यै पनि सरकारी तवरबाट मात्र गर्छौं। हामीसँग सँस्कृति विभाग छ र गृह मन्त्रालयले संरक्षण कामलाई सहयोग गर्छ। अर्को पक्ष भनेको गुम्बाहरू नै हुन्। १२ वर्ष पहिला एसियन आर्ट कन्जर्भेटरले भिक्षुहरूलाई तालिम दिने निर्णय गर्यो। हामीले एउटा समूह पठायौं। हामीले भोगिरहेको समस्या भनेको महिनावारी खर्च हो। मलाई लाग्छ संरक्षणमा लाग्नेहरू सबैलाई पर्ने यो विश्वव्यापी समस्या हो।
दोस्रो कुरा हाम्रो भौगोलिक अवस्था एकदमै कठिन छ। अरू देशहरूमा यस्तो समस्या अलिक छैन होला। मानिसहरू पवित्र वस्तुहरू ल्याउँछन्, संग्रहालयमा राख्छन् र फर्काउँछन्। तर भुटानमा त्यसरी ल्याउन सबै घरसम्म पुग्ने पर्याप्त सडक छैन। त्यसैले पनि धेरै संग्रहालयहरूमा सबै धार्मिक चिजहरू पाइँदैनन्। गएको वर्ष एक भिक्षु गुम्बासम्म पुग्न सात वा आठ घण्टासम्म हिँडेर काम गर्नुपर्यो। हामीसँग लगभग दुई हजारभन्दा धेरै गुम्बाहरू छन् त्यसैले तिनले समय र प्रयत्न माग्छन् नै।
भिक्षुहरू अब पुरै तालिमप्राप्त भए त? भए। उनीहरूमध्ये तीनजना त शिक्षक छन्। उनीहरू दोस्रो पुस्ताका भिक्षुहरूलाई आफूले सिकेको सीप सिकाइरहेका छन्। यो काम गत वर्षबाट नै सुरु भैसक्यो। नयाँ भिक्षुहरू आफ्नो कामलाई लिएर असाध्यै उत्सुक छन्। त्यो देखेर मलाई खुसी लाग्छ।
[caption id="attachment_119585" align="alignnone" width="835"]
तस्बिरः ग्लोबल बुद्धिष्टडोर[/caption]
मलाई लाग्छ सुरुआतमा केही भिक्षुहरूले संरक्षणलाई लिएर प्रतिरोध पनि गरेका थिए, हैन?हो। तर त्यसबेला सायद उनीहरूले समग्र अवधारणा बुझेनन्। संरक्षणबारे भुटानी अवधारणा भनेको योग्यतामा आधारित छ। योग्य बनाउन आफ्नो शरीरलाई उपलब्ध गराउनै पर्छ। उदाहरणको लागि तपाईंले कुनै थाङ्का वा गुम्बा पुनर्निर्माण गर्न सक्नुहुन्छ। पुरानो बेलामा भए परम्परागत उपकरण जस्तै ढुंगा¸ माटो वा खानीको रङ्ग प्रयोग गर्न सक्नुहुन्थ्यो।
तर अहिले उनीहरू सजिलो र छिटो तरिका खोजिरहेका छन्। भन्छन्- कुनै सिन्थेटिक रङ्ग किनौ वा नयाँ सिल्क किनौं। तर त्यो शतप्रतिशत सिल्क नहुन सक्छ। त्यसैले एसियन आर्ट कम्जर्भेटरका इदिले भने उनीहरूले त्यसो गर्न पाउँदैनन्, यो खेलाँची हैन। पुरानै तरिका र गुणस्तरमा बनाउनु एकदमै जरुरी छ। तब उनीहरू भन्छन् ‘हामीसँग समय छैन। यसले समय लिन्छ।’ आधुनिक देश भएर आर्थिक विकासमा लागेपछि यही घाटा छ। तर हामीले संरक्षण गर्दा बरु समय लागोस् तर उत्कृष्ट तरिकाले बनाउनु पर्छ ताकि त्यसको कला र आध्यात्मिक महत्त्व नहराओस्।
तपाईंहरूले रङ्ग जापानबाट ल्याउनुहुन्छ भन्ने सुनेको छु। साँचो हो ? पहिला तिब्बतको खानीबाट ल्याउने गर्थ्यौं। अहिले त्यो एकदमै गाह्रो भइसकेको छ। त्यसैले अहिले जापानबाट ल्याउँछौ। यहाँको परम्परागत रङ्ग मिसाएर मात्र प्रयोग गर्छौं।
संरक्षणबारे मानिसहरूको बुझाई फरकफरक छन्। केही भन्छन् यसलाई पुरानै शैली र महिमा सहित पुनर्जिवित गर्नु हो। केही भन्छन् यो अलिक अति नै भयो। तपाईं के भन्नुहुन्छ? भिक्षुहरू र म पनि यही कुरामा दिनहुँ तर्क गर्छौं। हामीले निश्चित स्तर निर्धारण गरेका छौं। जस्तै बौद्ध धर्ममा बिम्ब र सङ्केतहरू एकदमै पूर्ण हुनपर्छ। यदि कुनै चित्रकला चर्किएको वा आँखा हराएको छ भने त्यसलाई थोरै मात्र बनाउँछौ। ताकि परबाट हेर्दा त्यो पूर्ण भगवान् देखियोस्। बुझ्नुभयो होला हामी यसलाई दृश्यको लागि प्रयोग गर्छौं। त्यसका निम्ति भगवानको स्वरूप पूर्ण देखिनुपर्छ। त्यसले हामीले पाउने आशीर्वादलाई प्रतिबिम्बित गर्न सक्नुपर्छ। तर पश्चिमा संरक्षणकर्मीहरू भने भत्किएकोलाई सफा गर्छन्, किरा लागेको ठाँउ सफा गर्छन् र चर्किएको वा भत्किएको चिजलाई जस्ताको तस्तै छोडिदिन्छन्। अरू कुनै चिजहरूमा हामी त्यस्तो गर्छौं तर हरेक थाङ्का हेरेर यो फरक पर्छ।
पुनर्जिवित गरिएका चित्रकलाबारेमा बताउनु पनि हुन्छ? बताउछौं। हाम्रो आशीर्वाद लिने समारोह नै हुन्छ। तिनीहरूबाट आशीर्वाद लिएन भने भुटानीहरू राम्रो मान्दैनन्।
भुटानमा भेटिएकामध्ये सबैभन्दा प्राचीन थाङ्का कुन हुन् ? हामीले भेटेमध्ये अहिलेसम्म १४ औं शताब्दीको सबैभन्दा पुरानो हो। त्यो केन्द्रीय भुटानमा छ। पेमा लिङ्पा भन्ने गुरुले स्थापना गरेको एक गुम्बामा राखिएको छ। त्यो उनले गुरु रेम्पोचेको स्वर्ग भेट्न गएको भन्ने सोचमा बनाइएको छ। आउने दुई वर्षसम्म हामी हेर्दैछौं। हेरौं त्योभन्दा अगाडिको पनि पाउन सकिएला।
ती चिन्ह र सङ्केतहरू तिब्बती थाङ्कासँग मिल्छन् कि फरक छ? थाङ्का भएकाले केही समानता त पक्कै छन्। धेरै पक्षहरू जस्तै ल्याण्डस्केप आदि तिब्बत, चीन तथा भारतबाट सापटी लिइएका छन्। तर भुटानी थाङ्काले आफ्नै सम्पदा र संस्कृतिका बनस्पती र जीवहरूलाई बोक्छन् जुन भुटानमा मात्र पाइन्छ। त्यसै आधारमा पनि तपाईं यो थाङ्का भुटानी हो भनेर चिन्न सक्नुहुन्छ। साथै हाम्रो थाङ्काले लामाहरूलाई पनि स्थान दिन्छ जुन तिब्बतमा खासै थिएन।
के तपाईंलाई लाग्छ बौद्ध धर्मालम्बी हुनुले भुटानी पहिचान परिभाषित गर्छ?केही हदसम्म हो। हाम्रो सँस्कृति र इतिहासमा बुद्ध धर्मको ठूलो प्रभाव छ। हाम्रो राष्ट्रिय पोसाक तथा शिष्टाचार पनि बौद्ध उत्पत्तिबाटै प्रभावित छ। तर भुटानको साँचो सार भनेको मानवीयता हो। माया, दया र इमान्दारिता हो। यिनै कुराहरूले हामी मानव हुनुको परिचय दिन्छन्।
भुटान आधुनिक हुँदै गर्दा के भुटानीहरू अहिले पनि बज्रायान प्रति इच्छुक छन्? मलाई लाग्छ हामी अहिले दोबाटोमा उभिएका छौं। हामीले अहिले पनि अर्थतन्त्र बलियो बनाउनुछ। त्यो सन्तुलन जरुरी छ। केही समाज अहिले पनि छन् जो उत्कृष्ट छैनन्। त्यहाँ अपराध छ, साना केटाकेटीहरू लागुऔषध लिइरहेका छन्। उनीहरू भत्किएको परिवारबाट आएका छन्। अरू देशहरूले जस्तै हामीले पनि यो समस्या भोगिरहेका छौं। तर मलाई लाग्छ सकारात्मक रूपले सोच्ने ठाँउहरू पनि छन्।
[caption id="attachment_119584" align="alignnone" width="874"]
तस्बिरः ग्लोबल बुद्धिष्टडोर[/caption]