बेलायती प्रसारण संस्था (बिबिसी)ले तलब दिँदा पुरुष र महिला कर्मचारीमाथि गर्ने विभेदबारे स्पष्टिकरण दिनु पर्ने भएको छ।
पुरुष समकक्षीभन्दा आफूलाई कम तलब दिइएको भन्दै बिबिसी चीनकी सम्पादक क्यारी ग्रेसीले राजीनामा दिएपछि बेलायतको समानता र मानव अधिकार आयोगले यस विषयमा बिबिसीसँग स्पष्टिकरण सोध्न लागेको हो।
‘समान कामका लागि पुरुषको जत्ति नै तलब पाउनु महिलाको कानुनी अधिकारी हो,’ आयोगले भनेको छ, ‘ग्रेसीको राजीनामापछि बिबिसीले उसको तलब नीति र यस विषयमा तथ्यगत विवरण हामीलाई दिनुपर्छ।’
आयोगले बिबिसीको जवाफ हेरेर थप छानबिन हुने/नहुनेबारे टुंगो लाग्ने पनि जनाएको छ।
यसअघि आइतबार ग्रेसीले एउटा खुला पत्र लेख्दै बिबिसी चीनको सम्पादकबाट राजीनामा दिएकी थिइन्। ३० वर्षदेखि बिबिसीमा काम गरिरहेकी ग्रेसी सन् २०१४ देखि चीन सम्पादक भएकी थिइन्।
उनले वार्षिक १ लाख ३५ हजार पाउन्ड तलब पाउथिन्। गत वर्ष बिबिसीले सार्वजनिक गरेको तलब सूचीमा बिबिसीका उत्तर अमेरिका सम्पादक जन सपेलले २ लाखदेखि २ लाख ५० हजार पाउन्ड तलब पाउँथे भने मध्यपूर्व सम्पादक जेरमी बोउनले १ लाख ५० हजारदेखि २ लाख पाउन्डसम्म तलब पाउँथे।
आफूजस्तै जिम्मेवारीमा रहेका पुरुष समकक्षीको तलब बढी भएपछि ग्रेसीले राजीनामा दिएकी हुन्।
एक रेडियो अन्तर्वार्तामा उनले बिबिसीले आफ्नो तलब ४५ हजार पाउन्ड बढाइदिने आश्वासन दिए पनि आफूले राजीनामा दिएको बताएकी छन्।
‘मेरो राजीनामा पैसा बढाउनका लागि होइन, समानताका लागि हो, यो ‘स्टार’ कर्मचारीलाई नभई सामान्य कर्मचारीका लागि पनि हो,’ ग्रेसीले भनेकी छन्।
बिबिसीका प्रवक्ताले भने ग्रेसीको आरोपलाई अस्वीकार गरेका छन्। बेलायतका अन्य संस्थाको पारश्रमिकमा हुने लैंगिक विभेदभन्दा बिबिसीमा कम विभेद रहेको उनको दाबी छ।