अमेरिकी राज्यहरूमा गाँजा खोल्ने क्रम बढेपछि अमेरिका–मेक्सिको सीमा क्षेत्रमा हुने अपराध कम भएको एक अध्ययनले देखाएको छ।
मेक्सिकोसँग सीमा जोडिएका क्यालिफोर्निया लगायत राज्यमा गाँजा वैधानिक भएपछि १३ प्रतिशत अपराध कम भएको पाइएको हो।
गाँजा खुला गर्दा अमेरिकामा हुने अपराधमा पर्ने असरबारे ‘द इकोनोमिक जर्नल’ ले गरेको अध्ययनले यो नतिजा दिएको हो।
अमेरिकामा प्रयोग हुने गाँजाको ठूलो परिमाण मेक्सिकोबाटै आउँछ। त्यहाँ मुख्यतया सातवटा समूहले अवैधानिक लागुऔषध कारोबार गर्दै आएका छन्। यसमा गाँजा मुख्य छ।
‘अहिलको कानुनले स्थानीय किसानलाई गाँजा खेती गर्ने अनुमति दिन्छ। उनीहरूले उत्पादन गरेको गाँजा कानुनी रूपमै आधिकारिक पसलमा बेच्न सक्छन्,’ अर्थशास्त्री तथा शोधमा सहभागीमध्ये एक इभेलिना ग्याभ्रिलोभाले भनिन्, ‘यसले अवैधानिक लागुऔषध कारोबारीलाई निरुत्साहित गर्छ। किसानले गाँजा कारोबारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले अवैधानिक कारोबार कम भएको छ। र, हुँदै जानेछ।’
[caption id="attachment_121527" align="alignnone" width="920"]
क्यालिफोर्नियामा गाँजा खुला भएपछि आधिकारीक केन्द्रमा गाँजा बिक्री गरिदैँ। तस्बिरः एपी[/caption]
अवैधानिक कारोबार कम भएसँगै यससँग सम्बन्धित अपराध कम भएको हो।
‘अवैधानिक कारोबारी आफूजस्तै अर्को कारोबारीसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ। बिक्री गर्ने इलाकाका निम्ति लड्छ। त्यस्तै अर्काले राखेको गाँजा चोर्छ र आफैं बेच्न खोज्छ। यी सबै प्रक्रियामा उनीहरूबीच झगडा सिर्जना हुन्छ, जसले अपराधको स्वरूप लिन जान्छ,’ ग्याभ्रिलोभाले प्रस्ट्याइन्, ‘यस्ता अपराध लुकाउन पनि उनीहरूले थप अपराध गर्छन्।’
गाँजा खुला भएपछि भने सीमा क्षेत्रमा यस्ता गतिविधि कम भएको उनी बताउँछिन्।
मेक्सिकोका त्यस्ता संगठित कारोबारीले कोकिन, हिरोइन, मेथामफेटामाइनजस्ता लागुऔषध पनि कारोबार गर्छन्। यसमा सबभन्दा धेरै गाँजा नै हो। यसबाट धेरै नाफा हुने भएकाले उनीहरू यसैमा बढी ध्यान दिन्छन्। मेक्सिकोमा करिब आधा किलो गाँजा उत्पादन गर्न ७५ डलरभन्दा बढी लागत लाग्छ। यति लागतमा उत्पादित गाँजा गुणस्तरअनुसार ६ हजार डलरसम्म बिक्ने गरेको छ।
ग्याभ्रिलोभा र उनका सहकर्मी ताकुमा कमाडा र फ्लोरिस जोटम्यानले फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन (एफबिआइ) को तथ्यांक हेरेर यो नतिजा निकालेका हुन्।
एफबिआइको अपराध प्रतिवेदनमा उल्लिखित विवरणअनुसार गाँजा खुला हुँदा सबभन्दा बढी अपराध क्यालिफोर्नियामै कम भएको छ। यहाँ १५ प्रतिशत अपराध कम हुँदा एरिजोनामा ७ प्रतिशत कम भएको छ। यस्ता अपराधमा मुख्यतया चोरी, लुटपाट १९ प्रतिशत कम भएको छ भने हत्या १० प्रतिशत घटेको छ। लागुऔषधसँग सम्बन्धित हत्या ४१ प्रतिशत कम भएको छ।
यो अध्ययनले अमेरिकामा हुने लागुऔषध सम्बन्धी अपराध कम गर्ने नयाँ दृष्टिकोण दिएको अध्ययनकर्ताहरूको दाबी छ।
‘जब अपराध यस्तो उल्लेख्य रूपमा कम भइरहेको छ भने गाँजा पूर्ण खुला गरिनुपर्छ,’ ग्याभ्रिलोभा भन्छिन्, ‘यसलाई अवैध बनाउनुभन्दा बरु मान्छेलाई कर तिर्न लगाउनुपर्छ।’
[caption id="attachment_121528" align="alignnone" width="826"]
क्यालिफोर्नियामा गाँजा खुला भएपछि आधिकारीक केन्द्रमा गाँजा किन्न लामबद्ध ग्राहक तस्बिरः एपी[/caption]
अहिलेसम्म अमेरिकाका २० भन्दा बढी राज्यमा गाँजा खुला भइसकेको छ। कतिमा औषधीय प्रयोजनका निम्ति मात्र खुला छ भने कतिमा मनोरञ्जनका निम्ति पनि। यति हुँदाहुँदै अझै केही राज्य यसको विरोधमै छन्।
जहाँ खुला गरिएको छ, त्यहाँ प्रत्येक ६ वटा औषधि पसलका निम्ति एउटा गाँजा बिक्री केन्द्र सञ्चालन गरिएको छ।
ग्याभ्रिलोभा र उनका साथीको यो अध्ययनले कोलोराडो र वासिङ्टनमा पनि गाँजा पूर्ण खुला गर्दा अपराध न्यूनीकरणमा ठूलो भूमिका खेल्ने देखाएको छ। यी राज्यमा अत्यन्त ठूलो मात्रामा लागुऔषध कारोबार हुन्छ, जसमा गाँजाको परिमाण सबभन्दा धेरै छ।
धेरै जसो अवैधानिक कारोबारी अचेल वैधानिक रूपमा गाँजा बिक्री गर्नतर्फ लागेको बताइएको छ। अध्ययन गर्ने क्रममा त्यस्ता कारोबारी आफैं गाँजा उत्पादनमा होमिएको पाइएको थियो। केहीले भने गाँजा घाटाको व्यवसाय भएपछि अपराधको प्रकृति बदलेका छन्। यसमा मुख्यतया अपहरण र मानवबेचबिखन छन्। त्यस्तै केहीले अन्य किसिमका लागुऔषधमा हात हालेका छन्।