काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त भएका छन्।
भित्री बस्तीका ११ वडाध्यक्ष र स्थानीय प्रतिनिधिले ट्राफिक महाशाखाको सहकार्यमा माघ २ बाट इन्द्रचोकदेखि क्षेत्रपाटीसम्म चारपाङ्ग्रे सवारी निषेध गरेको हो।
भिडभाडयुक्त ठाउँमा सवारी निषेध गर्दा आवागमन सहज भए पनि व्यापारिक कारोबार र आपतकालीन अवस्थामा समस्या पर्ने केही स्थानीयले औंल्याएका छन्।
निषेध गरिएका क्षेत्रमा वडा नम्बर १७, १८, १९, २४, २५ र २७ मा पर्ने असन, इन्द्रचोक, मख्खन, त्यौड, ठैंटी, भेडासिंह, नरदेवी, किलागल लगायत पर्छन्। यहाँ बिहान ७ देखि बेलुकी ७ बजेसम्म चारपाङ्ग्रे सवारी गुडाउन पाइने छैन।
‘चारपाङ्ग्रे सवारी निषेध गरिएपछि यी क्षेत्र शान्त र खुला भएका छन्। बिहान हामी आफैं गएर यो नियमको सुरूआत गर्यौं,’ वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले सेतोपाटीसँग भने।
भित्री काठमाडौं छिर्ने सडकमा ‘चारपाङ्ग्रे सवारी निषेध’ का सूचनाबोर्ड राखिएका छन्। ट्राफिक प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ। नयाँ नियमअनुसार कुनै बाटोमा चारपाङ्ग्रे पूरै निषेध गरिएको छ भने कुनैलाई एकतर्फीमा सीमित गरिएको छ।
नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी लैजान सकिन्छ। एकतर्फी गरिएका अन्यमा टेंगलबाट बांगेमुढा र क्षेत्रपाटीबाट ठहिँटी हुँदै बांगेमुढा छन्। क्षेत्रपाटीबाट वसन्तपुर आउने बाटो पनि एकतर्फी बनाइएको छ। त्यस्तै, इन्द्रचोक र भोटाहिटीबाट असन छिर्ने बाटो निषेध छ। इन्द्रचोकबाट जुद्ध शालिकतिर पनि आउन पाइँदैन।
स्थानीय प्रतिनिधिकै समन्वयमा यो निर्णय गरेको भए पनि केही सर्वसाधारण असन्तुष्ट रहेको वडाध्यक्ष मानन्धरले बताए।
‘भिडभाड हुने ठाउँमा चारपाङ्ग्रे गाडी आउन नदिनु सकारात्मक हो, तर केही नकारात्मक पक्ष पनि छन्, जुन हामी यहाँका स्थानीयले झेल्नुपर्नेछ,’ स्थानीय व्यवसायी अमुलकाजी तुलाधरले भने।
बिहान ७ बजेदेखि नै सवारी निषेध गर्दा असन लगायत भित्री काठमाडौंको व्यापारिक क्षेत्रमा सामान ओसारपसार गर्न अप्ठ्यारो पर्ने उनले बताए।
‘असन भनेको ठमेलजस्तो होइन, जहाँ पर्यटक घुम्न आउँछन् र त्यही मौकामा किनेमल गरेर लैजान्छन्,’ असन सेवा समितिका निवर्तमान अध्यक्ष तुलाधरले भने, ‘असन र ठमेलको व्यापारिक कारोबारलाई एकै आँखाले हेरेर हुँदैन।’
भित्री क्षेत्रका बासिन्दालाई अपर्झट परे गाडी खोज्न परसम्म जानुपर्ने समस्या पनि उनले औंल्याए। ‘असनमा बस्नेलाई अपर्झट परेर तुरुन्तै ट्याक्सी चाहिए भोटाहिटीसम्म जानुपर्ने अवस्था छ,’ उनले भने।
स्थानीयका सवारी निम्ति पास र पार्किङ व्यवस्था नगरिएकाले आफ्नै गाडी कहाँ राख्ने समस्या भएको उनको भनाइ छ।
वडाध्यक्ष मानन्धरले भने ट्राफिक महाशाखा रामशाहपथमा पास व्यवस्था गरिएको जानकारी दिए। त्यहाँ एसपी डम्बरविक्रम विश्वकर्मासँग सम्पर्क गर्न उनले सबै स्थानीयसँग आग्रह गरेका छन्।
पार्किङका निम्ति तत्काल यही ठाउँ भनेर तोकिएको छैन। ‘आजको आजै पार्किङ व्यवस्था हुँदैन। अहिलेलाई खुलामञ्च वा अन्य स्थानमा गर्ने हो। विस्तारै यसको विकल्प खोज्दै जानेछौं,’ वडाध्यक्ष मानन्धरले भने।
[caption id="attachment_106240" align="alignnone" width="1200"]
तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी[/caption]
वडा नम्बर १९ का अध्यक्ष शशिलाल श्रेष्ठ पनि स्थानीयका गुनासा सम्बोधन गर्दै जाने बताउँछन्। लगभग दुई महिना परामर्श गरेरै यो नियम कार्यान्वयन गरिएको उनको भनाइ छ।
‘अहिलेसम्म त नकारात्मक प्रतिक्रिया आएको छैन। केही सुझाव भने छन्, विस्तारै सम्बोधन गर्दै जाने छौं,’ उनले भने, ‘स्थानीयको भलाइ निम्ति यो नियम लागू गरेका हौं। उनीहरूको सबै समस्या सुनुवाइ हुनेछ।’
महानगरले काठमाडौंको भित्री सहरको मौलिकता जोगाउन र चाप कम गर्न भन्दै चारपाङ्ग्रे सवारी प्रवेशमा रोक लगाएको हो। सुरुमा धेरै स्थानीयलाई चारपाङ्ग्रे निषेध हुँदा व्यापार घट्ने चिन्ता थियो। केहीमा यो चिन्ता अझै छ।
‘ठमेल सवारीमुक्त भएलगत्तै हामीले असनसहित काठमाडौंका भित्री क्षेत्रमा त्यही नियम लगाउने तयारी गरेका थियौं। सुरुमा केही बाधाअड्चन आए पनि प्रयास जारी राख्यौं,’ अध्यक्ष मानन्धरले भने।
सवारीमुक्त गर्दा भित्री काठमाडौंको आर्थिक कारोबार बढ्नुका साथै ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक सम्पदा पनि सुरक्षित हुने उनको भनाइ छ।
उनका अनुसार पहिलो चरणमा स्थानीयका चारपाङ्ग्रे निषेध गरिने छैन। बाहिरबाट भने त्यस्ता सवारी लग्न पाइँदैन। बिरामी, सुत्केरी र ज्येष्ठ नागरिक बोकेका गाडी, एम्बुलेन्स, खानेपानी ट्यांकर, आपतकालीन सामग्री ढुवानीका गाडीलाई पनि रोक लाग्दैन।
मल्लकालको पुरानो नेपाल राज्य भित्री काठमाडौंलाई ‘जीवित सम्पदा’ का रूपमा लिइन्छ। यहाँका टोल, गल्ली, बहाल र ननीहरूमा बाह्रै महिना कुनै न कुनै जात्रा, पर्व चलिरहन्छन्। सवारी घन्चमन्चले ती जात्रापर्व सञ्चालनमा बाधा पुग्दै आएको छ। यसले काठमाडौं सभ्यताको साँस्कृतिक महत्व नै मासिने खतरा बढेको छ।
यही जोखिम रोकेर काठमाडौं सभ्यतालाई जतिसक्दो पुरानै शैलीमा जीवित राख्न सवारीमुक्त अभियान सुरु भएको वडाध्यक्ष मानन्धरले बताए। ‘यसले सडकको भिडभाड र चापाचाप व्यवस्थापन गर्नुका साथै सम्पदा संरक्षणमा सघाउने छ,’ उनले भने।
सवारीमुक्त अभियान स्थानीयकै उत्थान र भलाइ निम्ति गरिएको उनको भनाइ छ। सवारी चाप बढ्ने क्रमसँगै सडक विस्तारको दबाब सुरु हुने र यसले स्थानीयको उठिबास हुनसक्ने उनले औंल्याए।
‘सडक विस्तारका नाममा धेरै स्थानीयको उठिबास भएको छ। सम्पदा मासिएका छन्। अब भन्नुस्, सवारीमुक्त अभियानले स्थानीयलाई फाइदा हुन्छ कि बेफाइदा? काठमाडौं सभ्यतालाई फाइदा गर्छ कि बेफाइदा?’ उनले भने।
उनले सोह्रखुट्टेको उदाहरण दिए। यहाँ काठमाडौंको पुरानो सम्पदा सोह्रखुट्टे पाटी नै मासिएको छ।
भित्री काठमाडौंमा यस्ता सम्पदा पाइला–पाइलामा रहेकाले त्यसलाई जोगाउन सवारीमुक्त गर्नैपर्ने आवश्यकता उनले औंल्याए। यहाँ बाटा–बाटामा किराँत र लिच्छविकालदेखिका मन्दिर, शालिक, भगवानका मूर्ति, स्मारक, अभिलेख छन्। यिनको संरक्षणमा सवारीमुक्त अभियानले ठूलो भूमिका खेल्ने उनले बताए।
‘बाहिर देखिने ठूल्ठूला संरचना मात्र हाम्रा सम्पदा होइनन्,’ उनले भने, ‘यो क्षेत्र नै यस्तो छ, जहाँ पाइला–पाइलामा हाम्रो इतिहास जोडिएको छ।’
असन भनेको लिच्छविकालदेखिकै व्यापार क्षेत्र हो। यहाँको फराकिलो चोक सामान किनमेल र जात्रापर्व निम्ति बनाइएको सम्पदाविद् बताउँछन्। त्यही संस्कृतिले मल्लकालमा निरन्तरता पायो। र, आजको दिनसम्म असनले आफ्नो व्यापारिक महत्व गुमाएको छैन।
यहाँ सयदेखि तीन सय वर्ष पुराना दर्जनौं पसल भेटिन्छन्, जुन पुस्तान्तर हुँदै अहिलेसम्म चल्दै आएका छन्। सम्पदा श्रेणीमा पर्ने यस्ता पसल सवारी घन्चमन्चले विस्थापित हुने जोखिममा छन्। भिडभाड जति बढी भयो ग्राहकको ध्यान पसलतिर उति कम हुन्छ। सवारीमुक्तपछि मान्छे टहलिन र असनको साँस्कृतिक झलक हेर्न आउने हुँदा त्यसै पनि कारोबार बढ्ने व्यवसायी बताउँछन्।
‘सवारी चाप नहुँदा मान्छे खुलेर हिँडडुल गर्न पाउँछन्। यताउति चहार्न पाउँछन्। उनीहरूका आँखा पसलतिर दौडिन्छन्, गाडीमा हिँड्दा कसले हेर्छ,’ असनका आयुर्वेद औषधालय सञ्चालक वासुकृष्ण वैद्यले भने।
सवारी निषेध नियम उल्लंघन गर्नेलाई पाँच सयदेखि हजार रुपैयाँसम्म जरिवाना हुने ट्राफिक महाशाखा प्रमुख सर्वेन्द्र खनालले जानकारी दिए। ‘नियम उल्लंघन नहोस् भनेर उल्लेख्य संख्यामा प्रहरी खटाउनुका साथै जरिवानाको व्यवस्था पनि गरिएको छ,’ प्रमुख खनालले भने, ‘यसलाई व्यवस्थित बनाउन केही समय भने लाग्छ।’
काठमाडौंको भित्री क्षेत्रलाई हरसम्भव मौलिक स्वरूपमा फर्काउने उद्देश्यले यो कदम चालिएको बताउँदै वडा नम्बर १७ का अध्यक्ष मानन्धरले भने, ‘सवारीमुक्त अभियान यसैको सुरुआत हो।’