त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले शितलहर प्रभावित मुसहरको उपचार गर्ने भएका छन्।
रौतहटको गढीमाई नगरपालिकामा शितलहर प्रभावित मुसहरलाई डाक्टर केसीले शिविर चलाएर बिहीबारदेखि उपचार सुरु गर्ने उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए।
केसीसहितको टिम बुधबार काठमाडौंबाट केही थान कम्बल र न्याना लुगा बोकेर रौतहट हिँडेको छ।
एक महिनाअघि तराईमा शितलहर चल्न थालेदेखि उनले शिविर चलाउन जाने योजना बनाएका थिए।
यसैबीच शशी शर्मालाई चिकित्सा शिक्षा अध्ययन संस्थानको डिनमा पुनर्बहाली गर्ने सर्वोच्चको आदेशपछि उनी पुस २४ गते चौधौं पटक अनसन बसेका थिए।
सरकारसँगको सहमतिपछि गत शनिबार अनसन तोडेका केसी चार दिनपछि मुसहरको उपचारका लागि गएका हुन्।
यसपालिको शितलहरले रौतहटमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।