सरकारले भूकम्प पीडितलाई घर बनाउन दिने आवास अनुदानको दोस्रो किस्ता लिने म्याद पुस सकिएसँगै सकिएको छ। २०७३ पुस मसान्तभित्र पहिलो किस्ता बापतको ५० हजार लिएका लाभग्राहीले यहि पुस मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्रावधान अनुसार उनीहरूको म्याद सकिएको हो।
पुस मसान्त आइसक्दा पनि सरकारले म्याद थपको निर्णय नगर्दा हतारहतार डिपिसी गरेर दोस्रो किस्ताको लागि फारम भर्नेको लाम लागेको छ। २०७२ वैशाख १२ र २९ को विनासकारी भुकम्पबाट अत्याधिक क्षति पुगेको सिन्धुपाल्चोकमा आवास निर्माणको दोस्रो किस्ता रकम लिनको लागि सिफारीस लिन आउनेको संख्या बढेको छ।
सरकारको निर्णय अनुसार एक वर्ष अगाडी पहिलो किस्ता रकम लिने लाभग्राहीले आजसम्म दोस्रो र यही चैत मसान्तभित्र तेस्रो किस्ताको रकम लिईसक्नुपर्ने प्रावधान अनुसार फारम भर्नेको भीड लागेको हो। चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ का गोविन्द बहादुर कुँवरले पनि आजै फारम भरे। निर्माण सामग्री र काम गर्ने जनशक्तिको अभावका कारण बेलैमा आवास निर्माण गर्न नसकेका उनले हिजै मात्र रातारात घरको डिपिसी सकेर दोस्रो किस्ताको रकम लिनको लागि निवेदन दिए। कुवँरले भने ‘काम गर्ने मान्छे पनि नपाइएको कारण बल्लबल्ल हिजो पो डिपिसी गरें।’
चौतारा साँगाचोकगढी कै गौरतीकी रेजीना तामाङले पनि आजै दोस्रो किस्ताको लागि निवेदन दिएकी छिन्। घरमा बुढी भैसकेकी सासुसँग बसेकी उनले यी तीन वर्षमा घर बनाउन भ्याइनन्। सरकारले म्याद नथप्ने सूचना पाएपछि हतारहतार घरको जग हालेर फारम भर्न आएको उनले सुनाइन्। तामाङले भनिन् ‘खेतबारीको काम र सासुको स्याहार गर्दागर्दै बेर्लमा घर बनाउन सकिएन । अनी बल्ल हिजो मात्रै डिपिसी सकाँए।’
चौतारा साँगाचोकगढी नगरपालिककाको पिपलडाँडामा मात्रै पहिलो चरणमा नौ सय ३७ जनाले आवास अनुदान सम्झौता गरेका छन्। पछि दुईपटक गरेर गुनासोमा ९२ र ९४ जनाले आवास अनुदान सम्झौता गरेकोमा आजसम्म करिब सात सय जनाले मात्रै दोस्रो किस्ताको लागि निवेदन दिएको कार्यालयका सचिव उत्तम सापकोटाले बताए।
आफूहरूले म्याद थपको लागि सरकारलाई आग्रह गरेको र यदि म्याद नथपिएमा धेरै लाभग्राही मर्कामा पर्ने वडा नं. ५ का वडाअध्यक्ष नरमान श्रेष्ठले बताए।