सेवा सुविधा बढाउनु पर्ने लगायत ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका नर्स सरकारबीच सहमति भएको छ।
स्वास्थ्य मन्त्रालय र नेपाल नर्सिङ संघका प्रतिनिधिबीच बिहीबार नर्सहरुले उठाएका सबै माग सम्बोधन गर्ने सहमति भएको नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले सेतोपाटीलाई जानकारी दिइन्।
‘हाम्रा ११ वटै माग उहाँहरुले सम्बोधन गर्ने सहमति भएको छ, सरकारसँगको सहमति पछि हाम्रो आन्दोलन पनि स्थगित भएको छ,’ थापाले भनिन्, ‘सहमति कार्यान्वयन भएन भने हामी १ महिनापछि फेरि आन्दोलन गर्छौं।’
भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएकी नर्स त्रजिना जतिको पुनर्बहाली लगायतका ११ बुँदे माग राखेर देशभरका नर्सहरु पुस २६ गतेदेखि आन्दोलनमा थिए।
नर्सिङ सेवा महाशाखा पुनर्स्थापना, सरकारी तथा निजी क्षेत्रका नर्सलाई लुगा भत्ता, रात्रिकालीन भत्ता, विदा सुविधा र जोखिम भत्ता दिनुपर्ने, दुर्गममा काम गर्नेलाई उचित पारिश्रमिक र सुरक्षा प्रत्याभूति गर्नुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्ति विकासको प्रस्ट खाका तयार गर्नुपर्ने, योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई ब्याचलर, ब्याचलरलाई मास्टर र मास्टर नर्सिङलाई पिएचडीसम्म तलबी अध्ययन विदाको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुले राखेका थिए।
आन्दोलनका क्रममा नर्सहरुले दुई कालोपट्टी काम गरेका थिए भने तीन १ घन्टा काम बहिष्कार गरेका थिए भने ३ दिन तीन घन्टा काम बहिष्कार गरेका थिए।
बिहीबार देशैभरि नर्सहरुले काम गरेका थिएनन्।