साउन महिनामा परेको अविरल वर्षाका कारण बाढी आएपछि सिङ्गो तराई त्राहिमाम थियो। धुर्मुस सुन्तलीका नामले चिनिएका सिताराम कट्टेल र कुञ्जना घिमिरे राहत वितरण गर्दै रौतहट पुगे।
रौतहट जिल्लाको सनतपुर स्थित मुसहर वस्तीमा पनि अन्त जस्तै बाढी पसेको थियो। यो वस्तीका ४७ घरमध्ये केही घरमात्रै बचेका थिए, जहाँ मान्छे बस्न मिल्थ्यो। धेरैजसो घर भुईँमै लडेका थिए, बस्नै नमिल्ने गरी।
सिन्धुपाल्चोक, काभ्रे र महोत्तरीमा एकिकृत वस्ती निर्माण गरेर विपतमा परेकालाई सहयोग गरेका धुर्मुस-सुन्तलिलाई लाग्यो सनतपुरलाई पनि सहयोग गर्नुपर्छ। उनीहरूका लागि पनि घर बनाउनुपर्छ।
त्यसको २ महिना पछी, असोज २८ गते देखि सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरे।
९९ दिनमा यो वस्ती बनाएर सकियो।
तर घर बनाउँदा सामान किनेको र कामदारलाई दिन बाँकि पैसा भने अव उनीहरुसँग छैन। यो पैसा फर्च्योट नगरी उनीहरु फुक्का हुन पाउने छैनन्। वस्ती निर्माण गर्दा धुर्मुस सुन्तली फाउण्डेसनलाई १ करोड ३० अपुग भएको ‘बाँकि’ लागेको छ।
'हामीले ५ करोड ९५ लाख रुपैँया लागतमा यो वस्ती निर्माणको स्टिमेट गरेका थियौँ। देशविदेशमा बस्ने नेपालीहरुबाट साढे ४ करोड रुपैँया सहयोग मिल्यो। बाँकी एक करोड २९/३० लाख जति अपुग भएको छ,' उनले भने, ‘अझै पनि हामीलाई सहयोग मिल्छ भन्ने अपेक्षा छ।'
सनतपुर वस्तीमा उनीहरुले ४७ वटा दुई तले घर बनाएका छन्। यी घर बालमैत्री र अपाङ्गमैत्री छन्। बर्खामा बाढी नपसोस् भनेर ५ फिट माटो भरेर जग उठाइएको छ। यो वस्तीमा पर्यटकलाई आकर्षित गर्न एउटा भ्यूटावर पनि निर्माण गरिएको छ। बालबालिकाका लागि शिशु कक्षा, केटाकेटी खेल्ने ठाउँ, सामुदायिक भवन, खानेपानीका लागि १ सय २० फिट खनेर राखिएका ५वटा ट्यूवेल र दुईवटा मन्दिर समेत फाउण्डेसनले बनाइदिएको छ।
'खानेपानीका लागि सरकारसँग पहल गरेका छौं, दुई महिनामा यी सबै घरघरमा खानेपानी आउने छ,' कट्टेलले भने।
धुर्मुस-सुन्तलीले घर मात्र बनाईदिएका छैनन्, यो वस्तीका मानिसलाई शिक्षा, स्वास्थ, सरसफाई लगायतका बिषयमा आधारभुत ज्ञान दिने र चेतना फैलाउने काम पनि गरेका छन्। नयाँ वस्तीसँगै मानिसहरुको जीवनयापनमा पनि परिवर्तन आओस् भन्ने उनीहरुको प्रयत्न छ।
अहिले यो वस्तीमा ९२ बालबालिका छन्, जो कहिल्यै विद्यालय गएका छैनन्। धुर्मुस सुन्तली फाउण्डेसनले वस्ति निर्माण गर्न थालेपछि बालबालिकालाई पढाउन पनि थालेका छन्।
स्थानीयमा चर्पी प्रयोग गर्ने चलन थिएन। अहिले यहाँका मानिसले चर्पी प्रयोग गर्न सिकिरहेका छन्।
रक्सीको लत छुटाउन पनि धुर्मुस-सुन्तलीले काम शुरु गरिसकेका छन्। यहाँका मानिसहरु पहिले रक्सी खाएर दिनभरि बरालिने बरालिन्थे। अहिले यूवाहरुले त्यसरी रक्सी खाएर बरालीन छोडेको कट्टेलले बताए।
'हामीले बालबालिकालाई पढ्न र सरसफाइमा बानी बसाल्न सिकाइरहेका छौँ,’ उनले भने ‘ गरिबीका कारण यहाँका मानिसहरुले जे कुरा सिक्न पाएनन् ती सिकाउने हाम्रो कोसिस हो।’
उनीहरुले भनेपछि धेरैले रक्सी छोडेको पनि कट्टेलले बताए।
‘उनीहरुको जीवन सुध्रिएको देखेर हामीलाई एकदमै रमाइलो लाग्छ,’ उनले भने।
अहिले ४७ परिवार वाग्मति नहरको किनारामा छाप्रोमा बसेका छन्। ति अस्थायी छाप्रा पनि धुर्मुस सुन्तली फाउण्डेसनले नै बनाइदिएको हो।
फाउण्डेसनले वस्तीको रेखदेखका लागि एउटा समिति बनाइदिएका छन्। त्यो समितिले नै नियम बनाउने देखि पालना गराउने सम्मका काम गर्छ।
एकीकृत नमुना सनतपुर वस्ती तोकिएको मिति माघ २१मा नै हस्तान्तरण गर्ने कट्टेलले बताए। तर यो वस्ती निर्माण गर्दाको आर्थिक दायित्वबाट भने धुर्मुस-सुन्तली त्यो बेला मात्र मुक्त हुनेछन् जुनबेला सहयोगी हातले उनीहरुको हात थाम्नेछन्।