युवा उद्यमी मनिषकुमार अग्रवालको आइतबार बिहान निधन भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति तथा कार्यकारिणी सदस्य अग्रवालकाे नयाँ दिल्लीकाे मेदान्त अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे।
एचपी ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक अग्रवालको रक्त क्यान्सरकाे कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएकाे छ।
चिनी, घ्यु, तेल, प्लास्टिक उद्योगमा संलग्न अग्रवाल पछिल्लो दशकदेखि निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा सामेल थिए।
महासंघमा हुँदा उनले श्रम सम्बन्ध सुधारको क्षेत्रमा उल्लेख्य योगदान गरेको उनलाई नजिकबाट चिन्ने व्यवसायीहरुको भनाइ छ।
औद्योगिक क्षेत्रका हरेक समस्याको गहिराइसम्म पुगेर अध्ययन, त्यसको समाधानको पहल गर्ने अग्रवालको अभाव निजी क्षेत्रले बेहोर्ने बताउँछन् उनीसँगै एक दशकदेखि काम गर्दै आएका महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका।
‘उहाँको ज्ञान र क्षमतबाट निजी क्षेत्र, श्रमिक र समग्र औद्योगिक क्षेत्रले पाउनुपर्ने धेरै कुरा थिए’ उनले भने,‘तर उहाँलाई अल्पायुमै गुमाउँदा यो क्षेत्रकै ठूलो सम्पत्ति हामीले गुमाएका छौं।’