उनीहरूले फिल्म सेटमै हंगामा मच्चाए। निर्देशकको कपाल भुताले। फिल्मका पोस्टर जलाए। मुख्य अभिनेत्रीको शिर छेदन गर्छौं भनी ललकारे। नभए नाक काट्ने धम्की दिए।
यी सबै घटना जोडिएका छन्, फिल्म ‘पद्मावत’ सँग।
राजस्थान, चितौडकी रानी पद्मावतीमा आधारित फिल्म रिलिज रोक्ने यी सबै प्रयास अन्ततः असफल भएका छन्। पछिल्लो समय बलिउडमै सम्भवतः बढी विवादित ‘पद्मावती’ नाम परिवर्तन गरी ‘पद्मावत’ का रूपमा यो साता रिलिज हुँदैछ। जनवरी १ मा रिलिज गर्ने भनिएको यो फिल्म विवादकै कारण जनवरी २५ मा सरेको हो।
सञ्जयलीला भन्साली निर्देशित यस फिल्मका केही विवादित दृश्य काटिएका छन्, तर विवाद टुंगिएको छैन।
दिपिका पादुकोण, शाहिद कपुर र रणवीर कपुर अभिनित ‘पद्मावत’ सुटिङ सुरू भएदेखि नै विवाद र आक्रमणले घेरिएको थियो। अहिले सेन्सर बोर्ड र सर्वोच्च अदालतले फिल्म रिलिज गर्न अनुमति दिइसक्दा पनि धेरै भारतीय दर्शक हलसम्म जान डराइरहेका छन्। फिल्म रिलिजपछि केही दृश्यले हलमै हुलदंगा मच्चाउला भन्ने धेरेको शंका छ। प्रहरीहरू विशेष सुरक्षा तयारी गर्दैछन्।
फिल्मले भारतका दुई संवेदनशील क्षेत्र उजागर गरेको छ– हिन्दु-मुसलमान सम्बन्ध र परम्पराका नाममा भइरहेका आक्रमण।
फिल्म विवाद एक वर्षअघि सुरु भएको हो, जब निर्देशक भन्सालीलाई केही आक्रमणकारीले सेटमै थप्पड हाने। उनको आधा सेतै फुलेको कपाल भुताले।
यो क्रम यतिमै टुंगिएन।
मार्च महिनामा सुटिङस्थलमा हमला गरी सेट ध्वस्त पारियो। महँगा लुगाफाटा जलाइयो।
जुलाईसम्म आइपुग्दा विवाद अझ गम्भीर भयो। फिल्मले ‘ऐतिहासिक तथ्य बंग्याएको’ आरोप राजपुत कार्निक सेनाले लगायो।
राजपुत समुदायको यो संगठनले राजस्थान, उत्तरप्रदेश र हरियाणा राज्यमा फिल्मविरुद्ध प्रदर्शन गर्यो। यी तीनै राज्यमा हिन्दुवादी दल भारतीय जनता पार्टी (भाजपा) ले घोषित रूपमै विरोधमा साथ दियो। हरियाणाका एक भाजपा क्षेत्रीय नेताले नै भन्साली र दिपिकाको टाउको काट्नेलाई १० करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरे।
राजस्थान मुख्यमन्त्री बसुन्धरा राजेले ‘कुनै पनि समुदायको भावनामा ठेस पुग्ने खालका दृश्य नहटाएसम्म’ फिल्म रिलिज हुन नदिने बताइन्।
उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले निर्देशक भन्सालीलाई कारबाहीको धम्की नै दिए।
सत्तारुढ दल र राजपुत समुदायबाटै समर्थन पाएपछि राजस्थानको पूर्व शाही परिवारका सदस्य चुप बसेनन्। आफ्नै खलककी एक महारानीको गरिमासँग जो जोडिएको विवादमा उनीहरू पनि खनिए।
राजस्थान शाही परिवारका एक सदस्य महेन्द्र सिंहले राजपुत महारानीलाई नाचेको देखाएर ‘मानमर्दन’ गरिएको टिप्पणी गरे। ‘इतिहासमाथि धोकाधडी’ को संज्ञा दिए।
विरोधीहरूले फिल्ममा राजपुत खलककी रानी पद्मावती र मुसलमान राजा अल्लाहुद्दिन खिलजीबीच ‘आपत्तिजनक’ दृश्य रहेको आरोप लगाउँदै आएका छन्। फिल्म टोलीसहित पूरै फिल्म हेरिसकेकाहरूले भने रानीको इज्जतमा आँच आउने कुनै दृश्य नभएको बताएका छन्। विपक्षीले विरोध गर्न भने छाडेका छैनन्।
केही राज्यका मुख्यमन्त्रीबाटै आफ्नो क्षेत्रमा फिल्म प्रतिबन्ध गर्ने प्रयास जारी छ। फिल्म चलाए गम्भीर हिंसा सुरु हुनसक्ने भन्दै उनीहरूले तर्साएका छन्। मुख्यमन्त्रीहरूको यस्तो भनाइले ‘आगोमा घिउ थप्ने’ काम गरेको निर्माण पक्षको भनाइ छ।
‘यो साँच्चै नै लज्जास्पद छ,’ फिल्म निर्माता श्याम बेनेगलले भने, ‘यी नेताहरू फिल्म बन्द गराएर भोट तान्ने आसमा छन्। हिंसाबारे उनीहरूको कुनै सरोकार छैन।’
धेरै टिकाटिप्पणीपछि फिल्म रिलिजबारे निर्णय गर्ने जिम्मा अन्त्यमा सर्वोच्च अदालतलाई दिइयो। अदालतले सुनुवाइपछि गत बिहीबार फिल्म रिलिज गर्ने फैसला गरेको हो।
अदालतले फैसला गर्दा भनेको थियो– जब रचना मर्छ, तब सभ्यताका मूल्यमान्यता पनि भ्रस्ट हुन्छन्। त्यसैले फिल्म चल्नुपर्छ।
फिल्म भारतभरका सयौं हलमा चल्ने अनुमान छ। ‘मलाई लाग्छ धेरै दर्शक यो फिल्म हेर्न आउनेछन्,’ फिल्म निर्माता बेनेगलले भने, ‘यति धेरै विवाद आखिर किन भयो भनेर हेर्न आउने धेरै हुनेछन्।’
यता अतिवादी हिन्दुहरू आक्रामक हुँदै विरोधमा ओर्ले पनि फिल्म कथाका अर्का समुदाय मुस्लिम भने चुप नै बसे। जबकि, फिल्ममा मुस्लिम समुदायलाई आक्रमणकारीका रूपमा देखाइएको छ।
राजपुतहरू भारतका ऐतिहासिक योद्धा जाति हुन्। देशभरमै उनीहरूको पकड बलियो छ। विभिन्न क्षेत्रमा छरिएका राजपुतलाई एकत्रित गरेर उनीहरूको भोट तान्न नेताहरू फिल्मको विरोधमा लागेको केही विश्लेषकले बताएका छन्।
‘हाम्रो विरोध जारी छ,’ फिल्म रिलिजबारे बोल्दै राजपुत कर्निक सेनाका अध्यक्ष लोकेन्द्र सिंह कल्भीले भने। हिंसाजन्य क्रियाकलाप नगरे पनि उनले फिल्म बहिस्कार गर्न ‘समर्थकको कर्फ्यू’ लगाउने जस्ता गतिविधि गर्ने बताए।
‘पद्मावती’ कथायो फिल्म १४ औं शताब्दीका राजपुत महारानी पद्मावती र दिल्लीका तुर्की शासक अल्लाहुद्दिन खिलजीमाथि आधारित छ।
हिन्दी साहित्यको प्रसिद्ध महाकाव्य ‘पद्मावत’ मा रानी पद्मावतीबारे वर्णन छ। मोहम्मद मलिक जायजीद्वारा रचित उक्त महाकाव्यका अनुसार पद्मावती श्रीलंकाका राजा गन्धर्व सेनकी छोरी थिइन्। त्यसबेला उच्च घराना र लच्छिनकी स्त्रीलाई ‘पद्मिनी’ भन्ने चलन थियो। गन्धर्वसेनका १६ हजार पद्मिनी रानी थिए, जसमध्ये चम्पावती सर्वश्रेष्ठ महारानी थिइन्। यिनै चम्पावतीकी छोरी थिइन्, पद्मावती।
पद्मावतीले सुगा पालेकी थिइन्। सुगाको नाम हीरामन थियो।
एक दिन पद्मावती नभएका बेला हीरामनलाई बिरालोले आक्रमण गर्छ। बिरालोबाट बच्न भागेको सुगा शिकारीको पिँजडामा कैद हुन्छ। शिकारीबाट एक ब्राह्मणले किनेर चित्तौडगढका राजा रतनसिंहलाई बेच्छ।
रतनसिंहले त्यही सुगाबाट पद्मावतीको सुन्दरता वर्णन सुन्छन्। मोहित भएर पद्मावतीलाई खोज्न योगीको भेषमा श्रीलंका जान्छन्। अनेकौं वन र समुद्र पार गरेर सिंहल भन्ने ठाउँ पुगेपछि सुगाकै माध्यमबाट पद्मावतीसम्म प्रेम सन्देश पठाउँछन्। पद्मावती रतनसिंहलाई भेट्न आउँछिन्। उनलाई देख्नासाथ रतनसिंह बेहोस हुन्छन्।
होसमा आएपछि उनले पद्मावतीको सन्देश पाउँछन्। सन्देशमा भनिएको हुन्छ, ‘तिमी मलाई त्यसबेला मात्र पाउन सक्छौ, जब सात आकाशको उचाइ जत्रो सिंहलगढ दरबारसम्म उक्लेर आउँछौ।’
यहाँ रतनसिंहलाई हीरामनले मद्दत गर्छ। उनी गोप्यमार्गबाट सिंहलगढभित्र प्रवेश गर्छन्। पद्मावतीका बाबु गन्धर्वसेनले यो थाहा पाएर रतनसिंहलाई सूली चढाउने आदेश दिन्छन्। तर, जब हिरामनले रतनसिंहको वीरगाथा सुनाउँछ, गन्धर्वसेन आफ्नी छोरी पद्मावतीको विवाह गर्न राजी हुन्छन्।
रतनसिंहको राज्यमा एक जना तान्त्रिक हुन्छ। झूटो बोलेको भन्दै राज्यबाट निकालिएपछि उनी अल्लाहुद्दिन खिलजीको सेवामा लाग्छ।
अल्लाहुद्दिनलाई खुसी पार्न रानी पद्मावतीको अद्भूत सुन्दरता बयान गर्छ। यो सुनेर मन्त्रमुग्ध अल्लाहुद्दिनले चित्तौडगढमा धावा बोल्छ। रतनसिंहलाई बन्दी बनाएर दिल्ली पठाउँछ।
पतिलाई बन्दीगृहबाट छुटाउन पद्मावती जुक्ति निकाल्छिन्। उनी सोह्र सय डोली साथ लिएर अल्लाहुद्दिनलाई भेट्न जान्छिन्। ती सोह्र सय डोलीमा चितौडका सैनिक हुन्छन्।
अन्ततः मौका छोपेर पद्मावती र रतनसिंह भाग्न सफल हुन्छन्।
उता, आफू बन्दी भएकाबेला कुम्भलनेरका राजा देवपालले पद्मावतीलाई प्रेम प्रस्ताव पठाएको रतनसिंहले थाहा पाउँछन्। दुई देशबीच घमासान लडाइँ हुन्छ। देवपाल मारिन्छन्। रतनसिंह पनि गम्भीर घाइते हुन्छन्। लडाइँको मैदानबाट घर पुग्नासाथ उनको मृत्यु हुन्छ।
रानी पद्मावती उनको शव काखमा लिएर सती जान्छिन्। पद्मावतीलाई पछ्याउँदै चितौडगढ आइपुगेका अल्लाहुद्दिन चिता जलेको देखेर विह्वल हुन्छन्।
राजपुत दरबारले पद्मावतीको गरिमालाई आफ्नो आत्मसम्मानसँग जोडे पनि उनी महाकाव्यकी काल्पनिक पात्र हुन् कि ऐतिहासिक भन्नेमा विवाद छ। अलिगढ मुस्लिम विश्वविद्यालयका इतिहासकार इरफान हबिब पद्मावती ‘काल्पनिक पात्र’ भएको बताउँछन्।
इतिहासकारहरूका अनुसार नयाँदिल्लीका सुल्तान अल्लाहुद्दिनले चितौडगढमाथि हमला गरेको ऐतिहासिक तथ्य भए पनि पद्मावतीको कथा पुष्टि गर्ने आधार छैन। त्यसमाथि यो महाकाव्य चितौडगढ हमलाको दुई सय वर्षपछि १६ औं शताब्दीमा लेखिएको हो। कवि मोहम्मद मलिक जयजीले पद्मावतीबारे सुनिँदै आएको लोककथालाई आधार बनाएको हुनसक्ने इतिहासकारको भनाइ छ।
उक्त महाकाव्यले ‘सती प्रथा’ लाई बढाइचढाइँ प्रस्तुत गरिएको भन्दै आलोचना गर्नेहरू पनि छन्।
यता दिल्ली विश्वविद्यालयका इतिहास प्राध्यापक सायिद जाहिर हुसेन जेफ्रीले पनि पद्मावतीबारे कुनै सन्दर्भ नभेटिएको बताएका छन्। ‘मैले त्याबेलाका सबै ऐतिहासिक दस्तावेज र ग्रन्थ एकदमै ध्यानपूर्वक पढेँ। तर, पद्मावतीबारे कहीँ उल्लेख भेटिनँ,’ उनले भने।
अन्य केही विज्ञ पनि जेफ्रीसँग सहमत छन्।
यसरी ऐतिहासिक प्रमाणधरि नभएको विषयवस्तु समातेर यति ठूलो बितन्डा मच्चाउनु ‘हंगामा गर्ने बहाना’ र ‘राजनीति’ मात्र मानिएको छ।