सडक बनाउँदा पैदलयात्रुको आवश्यकतालाई बढी ध्यान दिनुपर्छ, गाडीको सुविधा मात्र हेर्ने होइन। सडक त्यो हो, जहाँ मान्छे सुरक्षित हिँड्न सक्छन्।
हिँड्नु भनेको शारीरिक कसरत मात्र होइन। पैदल हिँड्न मिल्ने सडकले वातावरण सुन्दर र सफा मात्र राख्दैन। यस्ता सडकको आर्थिक महत्व पनि छ। यो लेखमा हामी यही आर्थिक महत्वबारे चर्चा गर्नेछौं।
संसारभरि हामी देख्छौं, जुन ठाउँको सडकमा पैदलयात्रुलाई सुरक्षित र सुविस्तासँग हिँड्ने मौका दिइन्छ, त्यहाँको आर्थिक कारोबार फस्टाएको छ। व्यवसायीले लाख कोशिस गर्दा पनि ग्राहक तान्न नसकेका ठाउँमा एउटा सुविधाजनक सडकले नै पासा पल्टाइदिएका अनेक उदाहरण छन्। गाडीको घन्चमन्च र भिडभाडबीच सुकेको आर्थिक कारोबार मान्छेको निर्वाध घुमफिरले चम्काइदिएको छ।
हामीले आफ्नै वरिपरिका सडक हेर्दा पनि ती ठाउँमा बढी किनमेल भइरहेको देख्छौं, जहाँ मान्छेको आउजाउ बेसी हुन्छ। जहाँ मान्छे पसल–पसल चहार्दै, सामान ओल्टाइपल्टाइ गर्दै, मोलतोल गर्दै हिँड्न सक्छन्।
पैदलयात्रुले बजारको आर्थिक कारोबार बढाउन मद्दत गर्छ भन्ने थुप्रै अध्ययनले पुष्टि गरेको छ।
अस्ट्रेलिया हार्ट फाउन्डेसनले सन् २०११ मा गरेको अध्ययनअनुसार पैदल आउजाउ बेसी हुने ठाउँमा व्यवसायीहरु पसल थाप्न आकर्षित हुन्छन्। त्यस्ता ठाउँमा नयाँ-नयाँ व्यवसाय फस्टाएका छन्। त्यहाँको भाडादर उच्च छ। साइकल चलाउन सजिलो भए कारोबार अझ बढी हुन्छ।
[caption id="attachment_126059" align="alignnone" width="826"]
तस्बिरः स्ट्रङ टाउन्स डट ओआरजी[/caption]
सान फ्रान्सिस्को यातायात प्राधिकरणको अध्ययन नतिजा योभन्दा रोचक छ।
‘पैदल हिँड्ने मान्छेको मासिक किनमेल कारमा हुइँकिनेको भन्दा बढी हुन्छ,’ अध्ययनले भन्छ, ‘कारमा आउजाउ गर्नेहरू दिनहुँ बजार जाँदैनन्। महिनाको एकाधपटक मात्र छिर्छन्। हिँड्ने मान्छेले भने दिनहुँ त्यही बजारलाई आफ्नो रूट बनाएका हुन्छन्।’
‘कारमा हिँड्नेको आर्थिक क्षमता बढी हुनसक्छ। उनीहरूले एकैचोटिमा धेरै मूल्यका सामान किन्न सक्छन्। हिँड्नेले दिनहुँ थोरै थोरै किन्दा पनि समग्रमा उसको खर्च बढी हुन्छ। पैदलयात्रु नै बजार गतिशील बनाउने र आर्थिक कारोबार बढाउने माध्यम हुन्,’ अध्ययनको निष्कर्ष छ।
यो सही हो कि होइन तपाईं आफैं परीक्षण गर्न सक्नुहुन्छ।
सहरको कुनै चल्तीको बजार जानुस्, जहाँ चारैतिर पसल छन्, रेस्टुरेन्ट छन् र मान्छेको भिडभाड छ। अब हेर्नुस्, त्यहाँ किनमेल गर्नेहरू को हुन्? उनीहरू कसरी आउँछन्? एउटा पसलबाट अर्को पसल कसरी चहार्छन्? कुनै फेन्सी स्टोरमा कपडा छानिरहेको परिवार कसरी एकैछिनमा खाजा खान रेस्टुरेन्ट छिर्छ? हिँडन गाह्रो भइदिएको भए के उनीहरू त्यो ठाउँमा किनमेल गर्न आउँथे?
अब आफैं भन्नुस्, बजारको आर्थिक कारोबार बढाउनु छ भने गाडीको सुविधा हेर्ने कि पैदलयात्रुको?
[caption id="attachment_126058" align="alignnone" width="826"]
तस्बिरः स्ट्रङ टाउन्स डट ओआरजी[/caption]
मान्छेले जुन ठाउँमा हिँड्न सुविस्ता ठान्छ, उसले त्यही ठाउँमा बढी समय बिताउने गरेको अध्ययनले देखाएको छ। यसको मतलब ऊ बिनाप्रयोजन सडकमा बरालिने होइन। ऊ माथि भनेजस्तै कहिले फेन्सी स्टोर छिर्छ, कपडा किन्छ। त्यहाँबाट रेस्टुरेन्ट छिर्छ, खाजा खान्छ। फेरि केही बेर किनमेलमा अलमलिएला, अनि क्याफे छिर्ला। यसले समग्रमा बजारको आर्थिक गतिविधि बढाउँछ।
उपभोक्ताको यस्तो व्यवहार त्यो ठाउँमा बढी देखिन्छ, जहाँ कम दुरीमै विभिन्न खालका पसल हुन्छन्। थोरै हिँडेरै थरीथरीका सामान किनमेल गर्न पाइन्छ भने मान्छे गाडीमा होइन, हिँडेरै जान रुचाउँछन्।
हिँड्नु राम्रो शारीरिक कसरत हो भन्ने मान्यताले पनि यहाँ काम गर्छ। एकछिन हिँड्दा कसरत हुन्छ र किनमेल गर्न पाइन्छ भने किन गाडी चढ्नु?
गाडी छल्न कुनातिर ढेपिएर हिँड्नुपर्ने सडकमा कुम ठोक्दै किनमेल गर्ने रुचि धेरैलाई हुँदैन। यस्ता ठाउँमा दुई–चार गाडी पार्क गरिएका छन् भने त अझ बढी समस्या ल्याउँछ। गाडी बढी ओहोरदोहोर गर्ने ठाउँमा साना पसल त्यसै छेकिन्छन्। पैदल हिँड्ने यात्रुको आँखा जाँदैन। जब सडक शान्त हुन्छ र मान्छे निश्चिन्त भएर हिँड्न पाउँछन्, छेकिएका पसल आँखामा पर्छन्।
त्यसैले, गुजमुज्ज परम्परागत बजारमा आर्थिक कारोबार बढाउनुछ भने गाडीलाई होइन, मान्छेलाई हिँड्ने सुविधा दिनुपर्छ भन्ने अध्ययनको निष्कर्ष छ।
अमेरिकाका विभिन्न सहरमा गरिएको अर्को अध्ययनले पैदलयात्रुलाई ध्यान दिइएका ठाउँबाट राजस्व बढी उठेको पाइएको छ। धेरै गाडी ओहोरदोहोर गर्ने ठाउँको तुलनामा त्यस्ता पैदलमैत्री ठाउँको प्रतिएकड राजस्व असुली दर बढी छ।
त्यस्ता ठाउँका केही खास विशेषता छन्। जस्तो– सडक साँघुरो हुन्छ। पैदलयात्रु हिँड्न फुटपाथ बनाइएको हुन्छ। सडकमा ठाउँ–ठाउँ रूख रोपिएका हुन्छन्। त्यस्ता ठाउँमा पसलहरुले आफ्नो कारोबार फुटपाथसम्मै फैलाउँछन्। फराकिलो ठाउँ छ भने रेस्टुरेन्टले बाहिरै छाता हालेर खानेकुरा बेच्छन्।
यति मात्र होइन, घरको दोस्रो तल्लाभन्दा माथि विभिन्न अफिस खुल्न सक्छन्। गाडीले व्यस्त सडकको तुलनामा पैदलयात्रुले भरिएका सडक बढी शान्त हुन्छन्, अफिस खोल्न। यसले घरभाडा महँगो हुनुका साथै राजस्व असुली बढी हुन्छ।
यी त आर्थिक सम्भाव्यताका कुरा भए।
अध्ययनले के पनि देखाउँछ भने, जुन ठाउँमा गाडीभन्दा पैदलयात्रुलाई प्राथमिकता दिइन्छ, त्यहाँ सार्वजनिक लगानीको प्रतिफल उच्च छ।
यसका तीन कारण छन्।
[caption id="attachment_126057" align="alignnone" width="1000"]
तस्बिरः स्ट्रङ टाउन्स डट ओआरजी[/caption]
पहिलो, बढीभन्दा बढी गाडी अट्ने फराकिलो सडकभन्दा हिँड्न सुविस्ता सडक कम खर्चिलो हुन्छ।
दोस्रो, ट्राफिक चिह्न, प्रहरी परिचालन लगायत खर्च कमै हुन्छ। ठाउँ–ठाउँमा रूख रोप्न र पैदलयात्रुको आराम निम्ति कुर्सी व्यवस्था गर्न पनि ठूलो लागत पर्दैन। लागतको तुलनामा आर्थिक कारोबारबाट हुने प्रतिफल उच्च हुने अध्ययनले देखाएको छ।
तेस्रो, सडक मर्मतसम्भार लागत कम हुन्छ। गाडी आउजाउ बढी हुने सडक धेरैपटक मर्मत गर्नुपर्छ। पैदलयात्रु बढी हिँड्ने सडक कम मर्मत गरे पुग्छ। त्यहाँको आर्थिक कारोबारको तुलनामा यो मर्मत लागत नगन्य हो।
भन्नुको मतलब, पैदलयात्रु हिँड्ने सामान्य सडक पनि थोरै मर्मतसम्भारले दशकौं टिक्नसक्छ। दशकौंसम्म त्यहाँको स्थानीय कारोबारलाई टेवा पुग्छ। गाडी ओहोरदोहोर धेरै हुने सडक मर्मतसम्भारमा सरकारले बर्सेनि करोडौं खर्च गरे पनि स्थानीय आर्थिक कारोबार खासै फस्टाउँदैन।
यतिले पनि विश्वास नभए पैदलयात्रु बढी हिँड्ने ठाउँको आर्थिक गतिविधि हेरौं। त्यहाँ एउटै घरमा विभिन्न खालका व्यवसाय, अफिस चलिरहेका हुन्छन्। घरधनीलाई बढी आम्दानीको अवसर प्राप्त हुन्छ। गाडीलाई मात्र प्राथमिकता दिइएका ठाउँले विविध आर्थिक गतिविधि फस्टाउने मौका विरलै पाउँछन्।
सडक भनेको गाडी गुडाउनकै लागि हो भन्ने हामी धेरैको धारणा छ। जति धेरै गाडी गुड्यो, आर्थिक कारोबार उति बढी हुन्छ भन्ने भ्रम पनि हुनसक्छ। यथार्थ फरक छ। जति बढी मान्छेको ओहोरदोहार भयो, सडकले सिर्जना गर्ने गतिविधिको दायरा उति फराकिलो हुँदै जान्छ। यसले स्वतः कारोबार बढाउँछ।
पछिल्लो समय संसारभरका ठूला सहरले भित्री बस्तीका सडकमा गाडीभन्दा मान्छेलाई प्राथमिकता दिन थालेका छन्। ती सहरले आफ्नो सडक पूर्वाधार स्वरूप परिवर्तन गरी पैदलयात्रु अनुकूल निर्माण गरिरहेका छन्। बढीभन्दा बढी साइकल लेन बनिरहेका छन्।
हामी पनि आफ्नो सहर यस्तै बनाउने कि?
फाइदा हामीलाई नै छ। हाम्रा स्थानीय व्यवसायीलाई छ। यो फाइदा जति छिटो बुझ्यौं, हाम्रो सहर र हाम्रा सहरबासी उति छिटो लाभान्वित हुन थाल्नेछन्।
र, यो लाभ दशकौंसम्म रहनेछ।