बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङ ३ सय ३० मिटर मात्र खन्न बाँकी छ। सुरूङको सिन्धु अडीटदेखि ग्याल्थुससम्मको क्षेत्रमा मात्रै खन्न बाँकी रहे पनि अन्य काम बाँकी रहेकोले पानी काठमाडौं पुग्ने मितिमा भने अन्यौलता कायम भएको हो।
२६ किलोमिटर लामो मुख्य सुरूङ मध्ये २५ किलोमिटर ६ सय ७० मिटर सुरूङ खनिसक्दा पनि पूर्वाधारका अन्य काममा भएको ढिलाईले आयोजना समयमै सम्पन्न हुनेमा अन्यौलता देखिएको हो।
पटक पटक समय परिवर्तन गर्दै अन्तीम समयमा २०७५ को नयाँ वर्षसँगै पानी राजधानी भित्र्याउने लक्ष्य लिए पनि सुरुङको फिनिसिङ, पानी लाने ड्याम निर्माण, सुरूङबिचको कनेक्सन आदिले आयोजनाले तोकेको समयमा पानी राजधानी पुग्न कठिन रहेको आयोजनाका कर्मचारीहरू बताउँछन्।
‘आयोजनाको मुख्य काम सुरूङ निर्माणले अपेक्षित सफलता हासिल गरेका छौ,’ आयोजनाका मेलम्ची साइटका सिनीयर इन्जीनियर उज्ज्वल प्रजापतीले भने, ‘यही फेब्रुवरीको अन्तिमसम्म सुरूङको काम भने सकिने लक्ष्य राखेका छौं।’
सुरूङ बनिसक्ना साथ पानी काठमाडौं पुग्दैन। सुरूङ चार वटा बनाइएको छ। तिनीहरू बिचको कनेक्सन पनि बनाउनुपर्छ। त्यसका लागि पनि अस्थायी बाँध बनाएर पानी सुरुङमा छिराउनुपर्छ। आयोजनाले पानी प्रसोधन केन्द्र रहने सुन्दरीजलदेखि सिन्धु अडिट सम्मको ९ दशमलव दुई, ग्याल्थुमबाट अम्बाथान ७ किलोमिटर र अम्बाथानदेखि मुहानसम्मको ८ सय ५ मिटर सुरुङ छेड्ने काम भने सम्पन्न भइसकेको छ।
प्रजापतीका अनुसार सिन्धु ग्याल्थुम खण्डको सात किलोमिटर मध्ये कठिन खण्डको ३ सय ३० मिटर खन्ने काम बाँकी छ। उनका अनुसार अहिले दैनिक ८ देखि १० मिटर सुरूङ खन्ने काम भइरहेको छ। अहिले प्राविधिक भाषामा ‘रक क्लास’ ५ को चट्टान फेला परेको छ। यस्तो खाले चट्टानमा सुरूङ खन्न ढिला हुन्छ। ‘रक क्लास’ ४ वा सो भन्दा तल्लो तहमा भने काम गर्न छिटो हुने उनले बताए।
सुरूङ छेड्ने काम अन्तिम चरणमा पुगेसँगै सुरूङमा पानी लान आवश्यक ‘फाइनल सपोर्ट र इन्भर्ट लाइनिङ’ निर्माणको काम पनि सुरू गरिएको छ।
आयोजना समयमै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहे पनि भौगोलिक र अन्य कारणले तल माथि हुनसक्ने उपकार्यकारी निर्देशक भोजविक्रम थापाले बताए। ‘ठ्याक्कै यही मितिमा सम्पन्न हुन्छ भन्नु भन्दा पनि लक्ष्य पूरा गर्ने रफ्तारमा आयोजनाले आफ्नो काम अघि बढाएको छ’, थापाले भने, ‘भूकम्पका कारण ड्याम क्षेत्रको र सुरूङकै काममा केही समस्या आएकाले तलमाथि हुन्छ कि भन्ने अनुमान हो ।’
आयोजनाले समयमै काम सक्ने लक्ष्य लिए पनि ड्याम क्षेत्रमा कामले खासै गति लिन नसक्दा समयमै सम्पन्न हुनेमा शंका उव्जाएको हो। उपकार्यकारी निर्देशक थापा भने ड्यामको काम र पानी लाने काम सँगै अघि बढ्ने बताउँछन्। ‘पानी छिटो पुर्याउन कफर ड्याम र डाइभर्सन टँनेल बनाएर ६० मिटर लामो पाइपको प्रयोग गरी मुख्य सुरुङमा छिराइनेछ’, थापाले भने, ‘पानी काठमाडौं पुर्याउने कामसँगै स्थायी बाँध बनाउने काम सुरु गर्न सकिन्छ, यसका लागि प्राविधिक अध्ययन भइसकेको छ।’
२५ अर्ब भन्दा बढी लगानीमा निर्माणाधीन आयोजनाको सुरूङ निर्माण इटालियन कोअपरेटिभ मुरातोरी सिमेन्ट डि रभेन्ना सिएमसी कम्पनीले आठ अर्ब ७० करोडमा ठेक्का लिएको हो। यसअघि चिनियाँ कम्पनी फिप्टीन रेल्वे व्यूरोले ४० करोड रूपैया भुक्तानी लिएको थियो। चिनियाँ कम्पनीले सन् २०१० अप्रिलमा काम सुरू गरेर २०१२ सेप्टेम्बरमा ठेक्का रद्ध गरेपछि सन् २०१३ अक्टोबरबाट सिएमसीले सुरूङ खन्न सुरु गरेको हो।