नेपाली हिमाल आरोहणकी ‘इन्साइक्लोपेडिया’ एलिजावेथ हलीको शुक्रबार बिहान निधन भएको छ।
केही दिनअघि निमोनियाले च्यापेपछि राजधानीको सिवेक अस्पतालमा भर्ना भएकी उनको आज बिहान करिब तीन बजे निधन भएको हो। उनी ९५ वर्षकी थिइन्।
९ नोभेम्बर १९२३ मा अमेरिकाको सिकागोमा जन्मिएकी एलिजावेथ पत्रकारको रूपमा ६० को दशकमा नेपाल आएकी थिइन्।
सुरुमा ‘टाइम एण्ड लाइफ म्यागेजिन’को संवाददाताको रूपमा आएकी एिलजावेथले सन् १९६३ देखि नेपाली हिमाल आरोहण गर्नेको विस्तृत विवरण राख्न सुरु गरेकी थिइन्।
‘पहिलो पटक उनी विश्व भ्रमणमा निस्केका बेला नेपाल आएकी थिइन्, विश्वभ्रमण सकेर अमेरिका पुगेपछि फेरि नेपाल आइन्,’ एलिजावेथसँग २० वर्षसँगै काम गरेका उनका सहयोगी जीवन श्रेष्ठले भने।
त्यसपछि उनी निरन्तर नेपालमै बस्दै आइन्। लामो समय बेलायती समाचार संस्था रोयटर्सका लागि नेपालबाट रिर्पोटिङ गरेकी एलिजावेथले अारोहणका क्षेत्रमा सरकारले भन्दा बढी सूचना राख्ने गरेको उनलाई चिन्नेहरू बताउँछन्।
एलिजावेथ नेपाल आएको दशकमा ठूलो मात्रामा पश्चिमाहरू हिमाल आरोहण गर्न आउँथे। सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको चुचुरो चुमेका थिए भने ८ हजार मिटरभन्दा माथिका अरू धेरै हिमालको टुप्पोमा पहिलो पटक पनि कोही चढ्न सकेको थिएन। पश्चिमा मिडियाको चासो नेपाली हिमाल र पर्वतारोहणसँग नै हुन्थ्यो।
नेपालका हिमाल र हिमाल आरोहणबारे रिर्पोटिङ गर्दा विदेशीमात्र होइन स्वदेशी पत्रकार पनि एलिजावेथसँगै कुरा गर्ने गर्थे।
‘कहिलेकाहीँ नेपालको आरोहणबारे पर्यटन विभागमा गएर सोध्दा हामीलाई भन्दा एलिजाबेथलाई सोध्नुस्, उहाँलाई धेरै थाहा हुन्छ भन्ने जवाफ आउँथ्यो,’ लामो समय एलिजावेथसँगै रोयटर्सका लागि रिर्पोटिङ गरेका पत्रकार गोपाल शर्माले भने।
एकचोटि फरक-फरक समयमा सगरमाथा चढेका एक जर्मन र कोरियन महिलाबीच कसले पहिला सगरमाथा चढेको भन्ने विवाद भयो। उनीहरूलाई अरूले दिएको रेकर्ड चित्त बुझेन। दुबै जना एलिजावेथकहाँ पुगे। एलिजावेथले उनीहरूमध्ये को पहिला चढेको हो रेकर्ड हेरेर भनिदिइन्। दुबै जना उनको कुरामा सन्तुष्ट भए।
एलिजावेथ आरोहीहरुलाई आफैं भेटेर किन, कहिले, कसरी, के उद्देश्यले हिमाल चढ्छन् भनेर सोध्ने गर्थिन्। त्यसको जानकारी पनि राख्ने गर्थिन्।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवका अध्यक्ष वसन्त थापाका अनुसार पर्वतारोहणबारे अन्तर्राष्ट्रियस्तरमा विवाद हुँदा इलिजाबेथले राखेको रेकर्डलाई अन्तिम मानेका धेरै उदाहरण छन्।
‘उनले कसले किन हिमाल चढ्यो मात्र होइन, कसको रेकर्ड कसरी ब्रेक भयो भन्ने जानकारी पनि राख्थिन्, पर्वतारोहणमा उनको जति तथ्यांक कसैसँग छैन त्यसैले विवाद हुँदा उनको भनाइलाई नै अन्तिम मानिन्थ्यो,’ थापाले भने।
एलिजावेथका सहयोगी श्रेष्ठका अनुसार उनले सन् १९५३ यता नेपालको पर्वातारोहणको सुक्ष्म तथ्यांक राखेकी थिइन्। ‘हिमालयन डाटा बेसमा राखेका रेकर्डको किताब पनि निस्केको छ, पहिला यो हेर्न सिडी किन्नुपर्थ्यो ,’ श्रेष्ठले भने, ‘दुई वर्षअघिबाट हामीले इन्टरनेटमा राखिदिएका छौं।’
एलिजावेथले लामो समय सम्म हिमालयन ट्रस्टमा पनि काम गरेकी थिइन्। पहिलो पटक सगरमाथा चढेका न्यूजिल्याण्डका एडमन्ड हिलारीले शेर्पाहरूलाई सहयोग गर्न हिमालयन ट्रस्ट खोलेका थिए। यो संस्थाले शेर्पाहरूको जीवनस्तर उकास्न विभिन्न कार्यक्रम गर्दै आएको छ।
हिमालयन ट्रस्टमा गरेको कामको सम्मान गर्दै न्यूजिल्याण्ड सरकारले एलिजावेथलाई महारानी सेवा पदक दिएको छ।
नेपालको पर्वातारोहण र साहसिक पर्यटनको क्षेत्रमा एलिजावेथको योगदानलाई गदर गर्दै नेपाल सरकारले उनलाई पहिलो सगरमाथा पदक दिएको छ भने एक हिमालको उनको नाममा राखेको छ।
लामो समय नेपाल बसेर यहाँको पर्वतारोहण र पर्यटनको पर्वद्धन गरे पनि एलिजावेथले नेपाली नागरिकता लिइनन्। डिल्लीबजारमा भाडामा बस्दै आएकी उनी अविवाहित थिइन्।
सन् १९७० दशकमै मृगौलाको समस्या भएकी एलिजावेथ पछिल्लो समय घरमै लड्दा उनको खुट्टामा समस्या थियो। निमोनिया भएपछि साता उनी अस्पताल भर्ना भएकी थिइन्। उपचारको क्रममै उनको निधन भयो।
‘उनको निधनले नेपालको पवर्तारोहणमा ठूलो क्षति पुगेको छ,’ पत्रकार शर्माले भने, ‘केही समय अझै कसैले उनको जति सूचना संकलन गर्ने अवस्था म देख्दिनँ।’
हिमालयन डाटा बेसमा काम गरिरहेका श्रेष्ठले भने आफूहरुले एलिजाबेथको कामलार्ई निरन्तरता दिने बताए।
‘हामीले नयाँ प्रविधि प्रयोग गरेर सूचना संकलन जारी राखेका छौं, केही आरोही आफैं पनि हाम्रो सम्पर्कमा आएका छन्,’ श्रेष्ठले भने, ‘तर उहाँको जति गर्न गाह्रो छ तर हामी उहाँको कामलाई निरन्तरता दिइराख्नेछौं।’