अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक सह-सचिव चुडामणि शर्माविरूद्ध ४ करोड २९ लाख बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
शर्माले सरकारी सेवामा प्रवेश गरेदेखि २०७३ मंसिरसम्म कमाएको ३ करोड ६३ लाख ७२ हजार ९६१ रूपैयाँको स्रोत खुलेको तर उनले यही अवधिमा ७ करोड ९३ लाख २७ हजार ०८५ रूपैयाँ खर्च गरेको अख्तियारको अनुसन्धानबाट देखिएको छ।
'४ करोड २९ लाख ५४ हजार १२४ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएबाट निजको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आयो,' आयोगले भनेको छ, 'शर्मा र निजको परिवारले अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरी आफ्नो हैसियतभन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिएको, विभिन्न वित्तीय संस्था तथा प्रा.लि. एवं कम्पनीहरुका शेयर खरिद तथा लगानी गरेको ,सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गा लगायतका चल अचल सम्पत्तिहरु खरिद गरेको देखिन आएको छ।'
शर्माले राष्ट्रसेवक भएपश्चात के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण एेन बमोजिमको कसुर गरेको देखिएको भन्दै अख्तियारले सोमबार विशेष अदालत मुद्दा दर्ता गरेको हो।
अख्तियारले शर्माले सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू श्रीमती कल्पना उप्रती शर्माको नाममा राखेको तथा लुकाए-छिपाएको राखेको देखिएको भन्दै कल्पनालाई पनि प्रतिवादी बनाएको छ।
यसअघि अख्तियारले जेठ १९ गते शर्मालाई राजस्व निर्धारणमा अनियमितता गरेको आरोपमा पक्राउ गरेको थियो।
आफ्ना श्रीमानलाई पक्रेर गैरकानुनी रूपमा थुनामा राखेको भन्दै कल्पनाले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट हालेकी थिइन्।
कल्पनाको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले शर्मालाई रिहा गर्न आदेश दिएको थियो।