बेलायतका वैज्ञानिकले सन् १९९६ मा एक भेडीलाई जन्म दिए।
कुनै जवान भेडीको कोष निकालेर अर्को भेडाको अन्डसँग अप्राकृतिक सेचन गरी प्रयोगशालामा जन्माइएको त्यो भेडीको नाउँ थियो– डली।
उनी ‘क्लोनिङ’ विधिबाट जीवन पाउने पहिलो जनावर हुन्।
बीस वर्षपछि चीनको सांघाईस्थित चाइनिज एकेडेमी अफ साइन्सेसका वैज्ञानिकले त्यही विधिबाट दुइटा बाँदर जन्माएका छन्। लामो पुच्छर भएका ती बाँदरको नाउँ झोङ झोङ र हुआ हुआ राखिएको छ।
यो बाँदर प्रजातिको पहिलो ‘क्लोनिङ’ हो। चिनियाँ प्रयोगशालामा केही साताअघि जन्मेका यी बाँदर दुरुस्तै छन्। दुवैको डिएनए आमासँग मिल्छ, जसको कोषबाट यिनको जन्म भयो।
अनुसन्धानमा संलग्न चिनियाँ वैज्ञानिक किङ सुनले मानव रोग निवारणमाथि अध्ययन गर्न वंशाणुगत रूपले दुरुस्त बाँदर खाँचो पर्ने बताए। ‘क्लोनिङ विधिबाट त्यस्ता बाँदर जन्माउँदा मानव रोग अध्ययनमा सहयोग पुग्नेछ,’ अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले किङ सुनलाई उद्धृत गर्दै लेखेको छ।
बिबिसीका अनुसार झोङ झोङको जन्म आठ साताअघि भएको हो भने हुआ हुआ जन्मेको छ साता भयो। चीनमा बोलिने मन्डारिन भाषामा यी नामको अर्थ देश र जनता भन्ने बुझिन्छ।
दुवै बाँदरलाई वैज्ञानिकले प्रयोगशालामै शिशिको दूध खुवाएर हुर्काइरहेका छन्। उनीहरूको हुर्काइ सामान्य छ। आगामी दिनमा यही विधि प्रयोग गरेर थप बाँदर जन्माउन सकिने अनुसन्धानकर्ता बताउँछन्।
[caption id="attachment_127941" align="alignnone" width="830"]
क्लोनिङबाट जन्माइएका दुई बाँदरमध्ये एक झोङ झोङ। तस्बिर: एपी[/caption]
‘क्लोनिङ’ बाट जन्मेको पहिलो जनावर डली आधुनिक विज्ञानको यस्तो ‘चामत्कारिक’ खोज थिइन्, जसले उपन्यास र सिनेमामा मात्र देखिने कल्पनालाई यथार्थमा परिणत गर्यो। भलै डली छ वर्षभन्दा बढी जीवित रहिनन्, तर यो खोजबाट संसार आत्तियो। 'क्लोनिङ' विधिबाटै भकाभक मान्छे पनि उत्पादन हुन थाल्छ र पृथ्वीको जैविक विकास प्रक्रिया नै अवरुद्ध हुन्छ भन्दै संसारभरिका अभियन्ताले यो अनुसन्धानको विरोध गरे।
यस्तो विधिबाट स्तनधारी जनावरको जन्म हुनसक्छ भन्ने पनि धेरैले पत्याएका थिएनन्।
धेरैको अविश्वासका बाबजुद ‘क्लोनिङ’ सफल भयो। धेरैको विरोधका बाबजुद यो अनुसन्धान पनि रोकिएन। बरु बीस वर्ष अवधिमा जीव विज्ञानका अनुसन्धानकर्ताले ‘क्लोनिङ’ विधिलाई अझ परिस्कृत तुल्याएका छन्।
डलीको जन्मयता अन्य २३ प्रकारका स्तनधारी जनावरको सफल 'क्लोनिङ' भइसकेको छ। यसमा गाई, बिरालो, मृग, कुकुर, घोडा, गधा, गोरू, खरायो र मुसा पर्छन्।
चिनियाँ वैज्ञानिकले यही सूचीमा अर्को स्तनधारी जनावर थपेका हुन्– बाँदर।
‘यो अनुसन्धान विशेष छ, किनकि यो बाँदर प्रजातिको पहिलो क्लोनिङ हो,’ बोस्टन चिल्ड्रेन हस्पिटलका निर्देशक डा. लियोनार्ड जोनले भने, ‘यसअघिका क्लोनिङको तुलनामा यो धेरै परिस्कृत छ, अब त्यो दिन टाढा छैन, जब प्रयोगशालामै मान्छेको क्लोनिङ सम्भव हुनेछ।’
‘यसले हामी कहाँ जान चाहन्छौं भन्ने प्रश्न पनि खडा गरेको छ,’ उनले भने।
बाँदर प्रजातिको क्लोनिङ प्रयास नयाँ भने होइन। यसअघि अन्य वैज्ञानिकले पनि बाँदर प्रजातिमा क्लोनिङको सुरुआत गरेका थिए।
पहिलो प्रयास सन् २००७ मा भएको थियो। अमेरिकाको ओरेगन हेल्थ एन्ड साइन्स विश्वविद्यालयका वैज्ञानिकले ९ वर्षे बाँदरको छालाको कोष झिकेर अर्को बाँदरको अन्डासँग सेचन गराएका थिए। यसबाट जन्मेको भ्रूण प्रारम्भिक अवस्थासम्म पुगेको थियो।
सन् २०१३ मा यसैगरी मानव भ्रूण उत्पादन गर्ने प्रयास पनि भएको थियो।
चिनियाँ वैज्ञानिकले यही विधिबाट बाँदरको भ्रूण उत्पादन गरेका हुन्। सुरुमा उनीहरूले १ सय ४९ वटा भ्रूण तयार पारेका थिए, जसको डिएनए आमासँग समान थियो।
प्रयोगशाला परीक्षण क्रममा ७९ वटा मात्र जीवित रहे। त्यसमध्ये स्वस्थ भ्रूण छानेर केही बाँदरको पाठेघरमा सारियो। चारवटा बाँदर गर्भवती भए। तीमध्ये दुइटा भ्रूण खेर गए भने दुइटीले उस्तै देखिने बाँदरलाई जन्म दिए।
‘हामी धेरै चरणको असफलतापछि यहाँसम्म आइपुगेका हौं,’ अनुसन्धानकर्ता सुनले बिबिसीलाई भनेका छन्।
[caption id="attachment_127939" align="alignnone" width="827"]
क्लोनिङबाट जन्माइएका दुई बाँदरमध्ये एक हुआ हुआ। तस्बिर: बिबिसी[/caption]
अनुसन्धानकर्ताहरूले जनावरको अध्ययन निम्ति राष्ट्रिय स्वास्थ्य संस्थाद्वारा निर्धारित मापदण्ड पालना गरेको बताएका छन्। मानव रोग निवारणका विभिन्न अनुसन्धानका लागि बाँदर उत्पादन गर्न यो विधि प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ।
‘क्लोनिङ गर्दा अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नुपर्छ भन्नेमा हामी गम्भीर छौं,’ सह–अनुसन्धानकर्ता डा. मुमिङ पुले बिबिसीलाई भनेका छन्, ‘आगामी दिनमा विश्वका जुनसुकै ठाउँमा क्लोनिङ गर्दा मापदण्ड पालनामा सजग हुनैपर्छ।’
‘अब अर्को चरणमा मान्छेको पनि क्लोनिङ गर्ने योजना छ?’ भन्ने प्रश्नमा मुमिङ भन्छन्, ‘मान्छे क्लोनिङ गर्ने हाम्रो कुनै योजना छैन। त्यो सामाजिक नैतिकता र विश्वव्यापी मापदण्डले दिँदैन।’
केही वैज्ञानिकले भने नैतिक प्रश्न उठाएका छन्।
केन्ट विश्वविद्यालयका प्राध्यापक ड्यारेन ग्रिफिनले यस्तो खालको अनुसन्धानले जैविक प्रक्रियामा भयावह अवस्था ल्याउन सक्ने बताए।
‘क्लोनिङ गरिएका जनावरलाई मानव रोगसम्बन्धी अनुसन्धानमा प्रयोग गर्न सकिएला, तर यसलाई निरन्तरता दिन हुन्छ कि हुँदैन भन्ने प्रश्न बेवास्ता गर्न मिल्दैन,’ उनले बिबिसीसँग भनेका छन्।
क्यानडा, अस्ट्रेलिया लगायत धेरै विकसित देशले क्लोनिङबाट पशु उत्पादनमा बन्देज लगाउँदै आएका छन्।
सन् २००५ मा अमेरिकी सरकारले मानव जीवनमा कुनै किसिमको 'क्लोनिङ' गर्न नपाउने नियम लागू गरेको थियो। गत वर्ष युरोपियन युनियनले 'क्लोनिङ' गरेका जीवजन्तुको मासु आयात तथा बिक्री वितरणलाई नै गैरकानुनी घोषित गर्यो।
'क्लोनिङ' लाई लिएर आज पनि संसारभरि नैतिक प्रश्न छ। यसको विश्वसनीयतामै प्रश्न पनि कायम छ।
यति हुँदाहुँदै 'क्लोनिङ' गरी जन्माइएका जनावर धेरै समय बाँच्दैनन् र बाँचे पनि स्वस्थ हुँदैनन् भनी शंका गर्नेलाई नयाँ अनुसन्धानले वैज्ञानिक प्रमाणसहित गलत साबित भने गरिदिएको छ।
डलीकै ‘जिन’ र त्यही विधिबाट जन्मेका चार दिदीबहिनी डेजी, डायना, डेबी र डेन्सी आज पनि स्वस्थ छन्। उनीहरूको शारीरिक तथा मानसिक विकास प्राकृतिक रूपमा जन्मिएका समकालीन भेडाहरू जस्तै छ।
बेलायतको नटिङघम विश्वविद्यालयका अनुसन्धानकर्ता केभिन सिनक्लेयरका अनुसार यी चारै भेडी परिपक्व भइसकेका छन् र आफ्नो उमेरअनुसार पूर्ण स्वस्थ छन्।
‘क्लोनिङ प्रविधिबाट जन्माइएका जनावरहरू सुरुका केही वर्ष बाँच्ने हो भने उनीहरूको स्वास्थ्य र आयु प्राकृतिक रूपले जन्मिएका जनावरको जस्तै सामान्य हुन्छ,’ सिनक्लेयर भन्छन्, ’यसले संसारको बढ्दो जनसंख्यालाई खानेकुरा उपलब्ध गराउन, लोपोन्मुख जनावर जोगाउन र नयाँ उपचार पद्दति विकास गर्न सहयोग पुग्नेछ।’
(द न्यूयोर्क टाइम्स र बिबिसीमा आधारित)