दरबारमार्ग सामुहिक बलात्कार घटनापछि काठमाडौं प्रहरी परिसरले गठन गरेको छानविन समितिले प्रतिवेदन बुझाएको छ। एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानविन समितिले परिसर प्रमुख एसएसपी रविन्द्र धानुकसमक्ष प्रतिवेदन बुझाएको हो।
छानबिन समितले प्रहरीलाई दोषी देखाएको छ। प्रतिवेदनमा मिलापत्र गराउने कार्यमा दरबारमार्ग प्रहरीवृत्तका प्रमुख डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मण सिंह ठकुरी, प्रहरी नायब निरीक्षक चन्द्र बहादुर भण्डारीलाई तत्काल निलम्बन गरिएको र हदैसम्मको कारवाहीको लागि सिफारिस गरिएको छ।
मुद्धा अनुसन्धानका क्रममा उनीहरूले फौजदारी दायित्व बहन गर्नपर्ने देखिएमा प्रचलित कानुन बमोजिम कारवाही समेत अघि बढाउन सिफारिस गरिएको छ।
घटनामा कानुनी प्रकृया अगाडी बढाउनुको साटो पीडित पक्षलाई आर्थिक प्रलोभन देखाइ मिलापत्र गराई अपराध लुकाउने कार्यमा संलग्न व्यक्तिको समेत पहिचान गरी उनीहरूलाइ अनुसन्धानको दायरामा ल्याउनुपर्ने छानविन समितिले सुझाव दिएको छ।
बलात्कार घटनामा किटान भएका चार आरोपीहरू विकाश गौतम, शेलेश कार्की, दीपक श्रेष्ठ र रवि पौडेल फरार रहेका छन्।
माघ ७ गते राती ल्यान्डमार्क होटलमा एक युवतीको बलात्कार भएको थियो।