योगगुरू रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले गाँजाजन्य औषधिबारे अनुसन्धान गर्ने तयारी गरेको छ।
गाँजाको औषधीय गुण र औद्योगिक उपयोगिताबारे अध्ययन तथा अनुसन्धान गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी बालकृष्णले जानकारी दिएका छन्।
‘परम्परादेखि नै आयुर्वेदिक औषधिका रूपमा गाँजा प्रयोग हुँदै आएको छ,’ उनले भने, ‘हामी यसका उपयोगिता र औषधि बनाउने विधिबारे अध्ययन गर्ने तयारी गर्दैछौं। यसबाट पत्ता लागेका फाइदा विचार गरी गाँजाको सकारात्मक प्रयोगमा जोड दिनुपर्छ।’
पतञ्जलीको हरिद्वारस्थित अनुसन्धान तथा विकास केन्द्रमा दुई सय जनाभन्दा बढी वैज्ञानिकले विभिन्न आयुर्वेद तथा जडिबुटीमा अनुसन्धान गरिरहेका छन्। कस्ता जडिबुटीबाट कस्ता औषधि बनाउन सकिन्छ भन्ने उनीहरूको मुख्य अध्ययन हो। कम्पनीको यो अनुसन्धानमा गाँजा पनि समावेश छ।
योगगुरू रामदेव नेतृत्वको कम्पनीले आयुर्वेदिक उत्पादनमार्फत् आफूलाई सबभन्दा ठूलो उद्योगका रूपमा स्थापित गरेको छ। पतञ्जलीका सौन्दर्य सामग्री, खाद्यान्न तथा औषधिजन्य उत्पादन भारत र छिमेकी मुलुकदेखि पश्चिमी बजारमा समेत लोकप्रिय छन्। यही क्रममा उसले पश्चिमी मुलुकमा फस्टाउन थालेको गाँजाजन्य औषधिमा हात हाल्ने तयारी गरेको हो।
अमेरिकी तथा युरोपेली मुलुकले गाँजा प्रयोग खुला गर्ने क्रम बढेसँगै यसको व्यवसाय चुलिएको छ। सेयर बजारमा पनि गाँजा व्यवसायले उच्च वृद्धि लिन सफल छ। सन् २०१७ मा विश्व बजारमा ८ अर्ब अमेरिकी डलरको गाँजा कारोबार भएको थियो।
‘पश्चिमी बजारमा गाँजाको बोटबाट बनेका थुप्रै उत्पादन बिक्री–वितरण हुन्छन्। रेसाबाट बन्ने लुगाकपडादेखि तेलसम्मको व्यवसाय एकदमै राम्ररी चलेको छ। हामी पनि त्यस्तै कुरामा अनुसन्धान गर्दैैछौं। गाँजाका नकारात्मक विशेषता हटाएर कसरी पूर्ण फाइदा लिएर उत्पादन गर्न सकिन्छ भन्नेमा हाम्रो अनुसन्धान केन्द्रित छ,’ बालकृष्णले भने।
पतञ्जलीले गाँजा अध्ययन–अनुसन्धानमा काम अघि बढाए भए पनि भारतमा गाँजाजन्य औषधिलाई आधिकारिक रूपले स्वीकार गरिएको छैन। यसको खेती र व्यापारमा आंशिक प्रतिबन्ध छ। रेसाबाट कपडा बनाउन, औद्योगिक प्रयोग वा बागबानी निम्ति खेती गर्न पाइन्छ।
गाँजा सेवन गर्दा भने जेल सजाय हुने व्यवस्था छ।
गाँजा बिरूवाका मुख्य दुई प्रजाति छन्– स्याटिभा एल र इन्डिका। स्याटिभा प्रजातिको बोटबाट उच्च गुणस्तरको रेसा बन्छ भने इन्डिका प्रजाति औषधीय र मनोरञ्जनात्मक रूपमा प्रयोग हुन्छ।
यी दुईमा फरक भनेको यसमा हुने ‘टेट्राहाइड्रोक्यानाबिनोल’ वा ‘टिचसी’ तत्व हो। यही तत्वले मान्छेमा गाँजाको असर निर्धारण गर्छ। इन्डिकामा यो तत्व बढी हुन्छ। भारत सरकारले कम टिएचसी भएको गाँजा उत्पादन र अनुसन्धानमा जोड दिने जानकारी पनि बालकृष्णले दिए।
यसको उत्पादन पूर्ण कानुनी बनाउनुपर्नेमा केही उद्योगीले जोड दिँदै आएका छन्। पतञ्जलीको यो कदमले यसमा इँटा थप्नेछ।
‘भारतमा गाँजा अर्थतन्त्र भर्खर सुरु हुँदैछ। यहाँको गाँजा बजार पनि ठूलो छ। गैरकानुनी बनाउनेलाई गाँजाको आयुर्वेदिक गुण बुझाउन पनि यसमा धेरै वैज्ञानिक अध्ययन तथा अनुसन्धान गर्न बाँकी छ,’ दी बम्बे हेम्प कम्पनीका संस्थापक तथा निर्देशक यश कोटाकले भने।
भारतका उद्योगपति रतन टाटाको समर्थनमा स्थापित यो कम्पनीले गाँजाको रेसाबाट कपडा र बीउबाट तेल उत्पादन गर्दै आएको छ।
पतञ्जलीका बालकृष्णले पहिले पनि गाँजा प्रयोग खुला गर्न माग गर्दै आएका थिए। सन् २०१४ मा उनले गाँजाको औषधीय उपयोगबारे व्याख्या गरेका थिए। संसारमा कुनै बेला लागुऔषध मानिएको गाँजा खुला गर्ने क्रम बढेपछि धेरै मुलुकले आर्थिक लाभ लिन थालिसकेका छन्।
पतञ्जलीले आफूलाई यही बाटोमा डोर्याउँदै गाँजा अनुसन्धान गर्नाले भारतमा पनि गाँजाको ‘नयाँ’ अर्थ व्यवस्था सुरु हुने विश्लेषण गरिएको छ।