दस करोड वर्षअघि डाइनासोरहरू अमेरिकाको मेरिल्यान्ड सहर वरपर घुम्ने गर्थे। डाइनासोरकै समयमा चराजस्तै आकाशमा उड्ने ठूल्ठूला पेट्रोसर्स र त्योभन्दा निकै समयपछि धर्तीमा आएका न्याउरी मुसा, दुम्सीजस्ता स्तनधारी जनावर पनि त्यतै थिए।
विभिन्न कालखण्डका यी प्राणी संयोगले एकै ठाउँ घुमेको प्रमाण अमेरिकाको ग्रिनबेल्टस्थित नासा अफिसको जमिनमुनि फेला परेको हो। त्यहाँ वैज्ञानिकहरूले साढे ८ फुट लामो फल्याकजस्तो ढुंगा फेला पारेका छन्, जसमा माथि उल्लिखित सबै प्राणीको पदचिह्न अंकित छ। यी जनावर आ–आफ्नो कालखण्डमा यो ठाउँ आइपुग्दा संयोगले त्यही ढुंगामाथि उभिएको र पदचिह्न छाडेका अनुसन्धानकर्ताहरूले बताएका छन्।
सन् २०१२ मा फेला परेको यो ढुंगाको प्रतिमूर्ति नक्सा प्रदर्शनीमा राखिएको छ।
‘यति सानो क्षेत्रमा यति धेरै प्रकारका ठूला–साना पदचिह्न हुनु एकदमै असामान्य छ,’ अध्ययनमा संलग्न डा. मार्टिन लक्लीले भने।
कोलोराडोस्थित डेन्भर विश्वविद्यालयका भू–गर्भ प्राध्यापक डा. लक्ली र उनका सहकर्मीको यो अन्वेषणले प्रारम्भिक अवस्थाका स्तनधारी जनावरको अनौठा व्यवहार देखाएको छ। केही जातका डाइनासोरले आफ्नो भोजनका लागि अन्य स्तनधारी जनावरमाथि आक्रमण गर्ने गरेको संकेत पनि यसले देखाएको छ।
जतिबेला संसारमा डाइनासोरको साम्राज्य थियो, अहिले वासिङटन डिसी सहर रहेको ठाउँ दलदल थियो भन्ने वैज्ञानिकहरूको भनाइ छ। त्यहाँ कुनै पदचिह्न हुने सम्भावना देखिन्न। तर, कुनै कालखण्डमा जनावरहरू त्यही हिलाम्मे सतहमा ओहोरदोहोर गर्दा तिनको पदचिह्न ढुंगामा छापिए। समय बिते, तर ती चिह्न मेटिएनन्। बरु लाखौं वर्षमुनि जमिनमा धस्सिएरै रहे।
ढुंगाको एउटा कुनामा लामो घाँटी भएको साकाहारी डाइनासोर ‘सरोपोड’ को पदचिह्न छ। अर्को कुनामा अर्कै जातिको साकाहारी डाइनोसोर ‘नोडोसोर’ को पदचिह्न छ। यो डाइनासोर हात्ती जत्रै हुन्थ्यो। नोडोसोरका ठूला पदचिह्नसँगै बच्चा नोडोसोरका साना चिह्न पनि छन्। बच्चा आफ्नो माउलाई पछ्याउँदै हिँडेजस्तै देखिने वैज्ञानिक बताउँछन्।
ढुंगामा ‘थेरोपोड’ का चिह्न पनि छन्। थेरोपोड तीनऔंले खुट्टा भएको मांसाहारी डाइनासोर हो, जुन ‘टिरानोसोरस रेक्स’ जातकै सदस्य हो। थेरोपोड आकारमा टिरानोसोरसभन्दा धेरै सानो थियो भने दसौं लाख वर्षपछि मात्र पृथ्वीमा जन्मेको थियो।
यीबाहेक आकाशमा उड्ने पेट्रोसर्स पनि जमिनमा हिँडेको देख्न सकिन्छ। उनीहरूले जमिनमा खानेकुरा खोज्दा वा खाँदा चुच्चाले खोपेको डोब पनि ढुंगामा बसेको छ।
वैज्ञानिकहरूले त्यो ढुंगामा दिसाको थोरै अवशेष पनि फेला पारेका छन्। कुन जनावरका यकिन नभए पनि सरोपोडको दिसा भएको अनुमान छ।
‘स्तनधारीहरूका पदचिह्न अलग छन्,’ डा. लक्लीले भने, ‘यी खासमा स—साना प्याडजस्ता देखिन्छन्।’
वैज्ञानिकहरूले त्योबेलाका स्तनधारीको कमै मात्र अवशेष फेला पारेका छन्। कुनै जनावरको पूर्ण हाड अवशेष पाउनु दुर्लभ हो। यस्ता पदचिह्न उनीहरूले पहिलोपटक नै फेला पारेका होइनन्। एकै ढुंगामा विभिन्न स्तनधारीको चिह्न भेटिएको भने पहिलोपटक हो।
जनावर बसेका बेला खुट्टाका दायाँबायाँ डोब पनि ढुंगामा प्रस्ट छन्। यी जोडी डोबलाई ‘सेडेराइप्स गडडारडेन्सिस’ नाम दिइएको छ। ‘यसको अर्थ ‘बसेका पदचिह्न’ भन्ने हुन्छ,’ डा. लक्लीले भने।
[caption id="attachment_131316" align="alignnone" width="826"]
ढुंगामा भएका पदचिह्नका आधारमा बनाइएको जनावर र उनीहरुका चालको चित्र। तस्बिरः न्युयोर्क टाइम्स[/caption]
उनका अनुसार डाइनासोर पालाका स्तनधारीका दर्जनौं पदचिह्न भेटिएको यो दोस्रो स्थान हो।
‘यो एकदमै रोचक छ। स्तनधारीको पदचिह्नले उनीहरूको बनौट र सम्भावित जीवन व्यवहार अध्ययनमा मद्दत पुर्याउँछ,’ उटास्थित मोआब संग्रहालयका कार्यकारी निर्देशक जोन फोस्टरले भने।
वर्षौंसम्म लुकेर बसेको यो ढुंगा फेला पार्ने व्यक्ति सिकारू प्राग्–इतिहासविद् रे स्ट्यान्फोर्ड हुन्। उनी लामो समयदेखि डाइनासोरका पदचिह्नबारे अध्ययन गरिरहेका छन्। उनकी श्रीमती शिला पनि यही क्षेत्रमा काम गर्छिन्। श्रीमतीसँग दिउँसोको खाना खाएर त्यो क्षेत्रबाट फर्कने बेला स्ट्यान्फोर्डका आँखा उक्त ढुंगामा परेका थिए।
केही वर्षअघि स्ट्यान्फोर्डले त्यहीँको चौरमा थेरोपोडको पदचिह्न भएको खैरो रङको ढुंगा फेला पारेका थिए।
सन् २०१२ मा भने पार्किङबाट निस्कने बेला ९० फिट पर भिरालो घाँसे भागमा त्यस्तै खैरो ढुंगा अलिकति निस्केको देखे। कार रोकेर हेर्न गएका स्ट्यान्फोर्ड ढुंगामा डाइनासोरको पदचिह्न देखेर चकित भए। वर्षौंदेखि डाइनासोरका पदचिह्न अध्ययनमा सक्रिय स्ट्यान्फोर्डका निम्ति यो ‘सुन्दर सरप्राइज’ थियो।
त्यो क्षेत्रमा यति ठूलो प्राग्–इतिहासकालीन ‘खजाना’ भए पनि खोज सहज थिएन। नासाले त्यो पार्किङ क्षेत्र र भिरालो भाग सबै भत्काएर त्यहाँ नयाँ अफिस बनाउने तयारी गरिरहेको थियो।
त्यसपछि नासाकै वैज्ञानिक मिलेर खोज सुरु गरे। भवन बनाउनुअघि विभिन्न प्रविधि प्रयोग गरेर अरू पनि त्यस ढुंगा खोज्न थाले। सेना नै आएर खन्दा पनि योजस्तै ढुंगा भेटिएन।
यो ढुंगालाई सोलोमोन्सको कल्भर्ट मरिन संग्रहालय लगेर फाइबरको आवरण बनाइएको छ। यो आवरण स्ट्यान्डफोर्डकैमा पुग्यो र उनले यसबारे थप अध्ययन गरे।
उनको अध्ययनअनुसार यसमा चारवटा थेरोपोडका पदचिह्न छन्। यी सबै विस्तारै हिँडेका छन् र एकै दिशामा छन्। ‘थेरोपोडहरू त प्रतिघन्टा आधा माइलको गतिमा हिँड्नुपर्ने हो,’ स्ट्यान्फोर्डले भने, ‘ती पदचिह्नका आधारमा हेर्दा निकै ढिला छन्। किन होला, थाहा छैन।’
शिकार गर्ने र शिकार हुने दुवै खालका स्तनधारी जनावरका पदचिह्न एकैठाउँ देखिनु पनि रहस्यमय भएको उनले बताएका छन्। डा. लक्ली र स्ट्यान्फोर्ड मिलेर गत वर्षदेखि यसमा काम गरिरहेका छन्। उनीहरूले ८० फिट लामो नक्सा बनाएका छन्। यसमा स्ट्यान्फोर्डले छुटाएका पेट्रोसर्सका पदचिह्न उनकी श्रीमती शिलाले नै देखेकी थिइन्।
उनीहरूका अनुसार यी सबै स्तनधारीका पदचिह्न एक दिन वा एक सातामा बसेका होइनन्। यी दुई साताभन्दा बढी समयमा बसेको अनुमान छ।
‘यी चिह्नले कुन जनावर के गर्दैथिए भन्ने देखाए पनि डाइनासोर भने शिकारमै थिए भन्ने सम्भावना छ, यकिन भने छैन,’ डा. लक्लीले भने। अहिले यो ढुंगा फेला परेको नासाको उक्त घाँसे मैदान मासिइसकेको छ। नासाको काम डाइनोसोरका कुनै पाटो अध्ययन गर्नु नभएकाले यसलाई प्राथमिकतामा नराखेको नासाका अधिकारीले जनाएका छन्।