कुनै बेला घर खर्च जुटाउन नसकेर विदेश जाने आकाँक्षा पालेर बसेका रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ पोखराका ओमप्रकाश खड्काले अहिले मौरीपालनबाट राम्रो आम्दानी गरिरहेका छन् ।
उनले २०६२ सालदेखि मौरी पाल्न शुरु गरेका थिए । मौरीपालनले सफल उद्यमीसँगै वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्ने मैरी पालका रूपमा समेत चिनाएको छ । बाह्र वर्षअघि एक घारबाट मौरी पाल्न शुरु गरेका खड्का अहिले रुकुम जिल्लाकै प्रख्यात मौरीपालक कृषकका रूपमा परिचित छन् ।
'शुरुमा रु पाँच सय ऋण लिएर एक घारबाट मौरी पाल्न शुरु गरेको हुँ, त्यसलाई दोब्बर, तेब्बर बनाउँदै अहिले ७५ घार पु¥याएको छु', खड्काले आफ्नो प्रगती सुनाउँदै भने वर्षमा दुई याममा मह निकाल्ने गरेको र एक याममा २५० देखि ३०० किलोग्रामसम्म मह उत्पादन हुने गरेको उनी बताउँछन् । त्यस्तै उनले उत्पादित मह प्रतिकिलो रु ६ सय र मौरीसहितको घारलाई रु तीन हजारमा बेच्ने गरेका छन् ।
मह र मौरीसहितको घार बिक्रीबाट वार्षिक रु ६ लाख भन्दा बढी आम्दानी गरिरहेको उनले बताइए । परिश्रमअनुसार आम्दानी राम्रो हुँदै पाइरहेकोमा खड्का खुशी छन् । मह बिक्रीको आम्दानीबाट उनले पाँच छोराछोरीलाई पढाउनुका साथै नौ जनाको घरखर्च व्यवस्थापन गरिरहेका छन् ।
उत्पादित महमध्ये ६० प्रतिशत जिल्लाबाहिर निर्यात हुने गरेको र बाँकी जिल्लाभित्रै खपत हुने खड्काले जानकारी दिए । उत्पादित मह काठमाडौँ, नेपालगञ्ज, पोखरा, दाङ लगायतका ठाउँमा निर्यात हुने गरेको छ ।
आव २०७३/७४ मा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत खड्का अहिले मौरीपालन प्रशिक्षकको रुपमा अरुलाई तालीम दिने पनि गर्छन् ।