एक समय थियो, स्कुल-कलेजका रुमानी दिन सम्झन विद्यार्थीहरु 'अटो' बनाउँथे। रंगीचंगी गाता हालेको चिटिक्क डायरी एकअर्कालाई दिन्थे। त्यसैमा आफ्नो फोटो टाँसिन्थ्यो। साथीका नाम सन्देश लेखिन्थ्यो। र, शुभकामना साटिन्थ्यो।
फेसबुक र सेल्फीको जमानामा अब 'अटो' को चलन हराइसक्यो। तै कतिले आफ्ना ती याद संगालेर राखेका छन्।
सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले कलेज सकिनै लाग्दा अटो बनाएका थिए। चालीस वर्षअघिको त्यो अटो उनले जतनसाथ राखेका छन्। शुक्रबार बिहान त्यसैको पाना पल्टाउँदै उनी मुस्कुराए।
साथीहरुसँगको विछोड सम्झेर भावुक हुँदै अटो भर्न दिएको क्षण सम्झे। 'अब भेट होला-नहोला, सम्झनाका लागि केही लेखिदिनुस् है,' कक्षाभरीका साथीलाई यही भन्दै अटो भर्न दिएको उनले सुनाए।
विछोडको दिन आयो। साथीहरु कोही न्याय सेवा छिरे। कोही निजामति सेवा गए। कोही राजनीतिमा लागे। कोही वकालत गर्न थाले, त कोही आइएनजिओमा जागिर खान।
न्याय सेवा छिरेका र एउटै अटो भरेका १२ जना सहपाठी भने संयोगवश यतिबेला सर्वोच्च अदालतमा न्यायाधीश छन्। तीमध्ये प्रधानन्यायाधीश गोपाल पराजुली एक हुन्।
उनीसहित न्यायाधीशहरु तेजबहादुर केसी, दीपकराज जोशी, चोलेन्द्रशमशेर राणा, दीपक कार्की, केदार चालिसे, शारदा घिमिरे, मीरा खड्का, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंक मोक्तानले २०३४ देखि ०३६ सम्म सँगै बिएल पढेका थिए। नेपाल ल क्याम्पसमा एउटै ब्याचका कानुन विद्यार्थी उनीहरु न्याय दिने जिम्मेवारीमा पनि सँगसँगै छन्।
यिनैमध्ये चोलेन्द्रशमशेरले केसीको अटोमा यस्तो लेखेका छन्:
'न पिउन यहाँ पानी नै शुद्ध छ,न बाँच्नलाई आत्मा, न बचाउनलाई आशान यहाँ गर्न प्रेम नै शुद्ध छ, न प्रदर्शन गर्न चरित्रछ त केवल शुद्ध त्यही मित्रता, जो तपाईं हामी बीचमा छ,अटोमा केवल शब्द छन् तर सम्झना हृदयमा- योर्स सिआर (चोलेन्द्र राणा, कालिकास्थान) !'अर्का न्यायाधीश बमकुमार यसरी अटो भर्छन्:
'स्नेही मित्र केसी,अटोमा दिलले चाहेको कुरा लेखौं भने ठाउँ सानो हुन्छ कि जस्तो लाग्छ किनभने अगाध प्रेमको फलस्वरुप कलम पनि धेरै दौडिन्छ। त्यसैले सम्झनास्वरुप यत्ति लेखे पुग्दैन र? विगत कुराहरुको साथ साथै भविष्यमा अवश्य पनि तपाईंजस्तै साथीको सम्झना यसले गराउने नै छ, धन्यवाद।तपाईंको उत्तरोउत्तर प्रगतिको देख्न चाहने मित्रबमकुमार श्रेष्ठ।'न्यायाधीश मोक्तान यो 'विरल संयोग' देखेर बेलाबेला अचम्म मान्छन्।
'हामीसँगै पढेका प्रधानन्यायाधीश हुनुहुन्छ। त्यसपछि प्रधानन्यायाधीशको रोलक्रममा दुई जना हाम्रै सहपाठी छन्,' बाह्र जनामध्ये सबभन्दा पछि सर्वोच्च आइपुगेका मोक्तानले भने, 'कस्तो अचम्म हगी! यत्रो समयपछि फेरि कलेजका साथी दिनदिनै भेट्ने संयोग जुर्यो। यस्तो होला भनेर सोचेकै थिइनँ।'
यी १२ जनामध्ये पराजुली, जोशी र राणा २०४८ सालसम्म कानुन व्यवसाय गर्थे। कानुन व्यवसायीबाट पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भए। त्यो बेलासम्म अरु नौ सहपाठी जिल्ला न्यायाधीशकै रुपमा काम गर्थे। उनीहरु २०६२ सालमा मात्रै पुनरावेदन आइपुगे।
केही समयमै पराजुली, जोशी र राणा विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीश बने। र, २०७० जेठमा एकैचोटि एउटै मितिमा सर्वोच्च आइपुगे। त्यसको एक वर्षपछि बाँकी पनि विभिन्न पुनरावेदन अदालतका मुख्य न्यायाधीश बने। सर्वोच्च आउँदा भने अघि-पछि भए।
दीपक कार्की, केदार, शारदा र मीरा तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठका पालामा सर्वोच्चमा नियुक्त भए। एक वर्षअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीका पालामा तेजबहादुर र पुरुषोत्तम सर्वोच्च आइपुगे।
कार्कीपछि प्रधानन्यायाधीश बनेका पराजुलीले गत असोजमा बाँकी तीन जना बमकुमार, डम्बरबहादुर र टंक मोक्तानलाई सर्वोच्च ल्याए।
यीमध्ये सबभन्दा पहिले प्रधानन्यायाधीश पराजुलीले सर्वोच्चबाट अवकाश पाउने छन्। स्वाभाविक अवकाश पाए उनले अबको दुई महिना काम गर्ने छन्। मोक्तानले भने आफ्ना सबै सहपाठी/सहकर्मीभन्दा पछि अवकाश पाउने छन्।
कलेजका दिन सम्झेर उनीहरु बेलाबेला हाँसोठट्टा गर्छन्।
'हामी कहिलेकाहीँ सँगै बसेर कलेजका दिन सम्झन्छौं,' दीपक कार्कीले भने, 'तिमी यस्तो थियौ, तिमी उस्तो थियौ भनेर मजाक गर्छौं। यत्रो वर्षपछि कलेज सम्झँदा रोमाञ्चित भइँदो रहेछ।'
उनले पनि केसीजस्तै अटो भराएका थिए। 'हामी साथीहरुका अटोमा मनका भावना कोर्थ्यौं,' उनले सम्झे, 'अटोको छेउमा टाँस्ने फोटो खिच्न स्टुडियोसम्म धाउँथ्यौं।'
यसरी एउटै अटो भरेका उनीहरुको धेरै समय अचेल मुद्दा फैसलामै बित्छ। तै खाजा समयमा सबैको भेट हुन्छ। त्यही मौकामा गफिन्छन्। कलेजका सम्झना उधिनेर रमाउँछन्।
कलेजकै सहपाठीलाई सहकर्मी पाउँदा हँसीमजाकदेखि गम्भीर छलफल गर्न सहज हुने कतिपयको अनुभव छ। उतिबेला भने उनीहरुका आ-आफ्नै 'ग्रुप' थिए।
डम्बरबहादुर सुदूरपश्चिमका साथीको समूहमा ज्यादा रमाउँथे। मीरा मैयाँ श्रेष्ठ (मीरा खड्का) को आफ्नै समूह थियो। तेजबहादुर र टंकले भने विद्यार्थी काल भाडाको कोठामा सँगै बिताए। कलेजमा पनि एउटै बेन्चमा बस्थे।
उनीहरुबीच राजनीतिको विभाजन पनि थियो। कोही पञ्चायतविरुद्ध भाषण दिँदै हिँड्थे। कोही पञ्चायतका समर्थक थिए। पराजुली विद्यार्थीकालमै राजनीतिमा लागेका थिए। भाषण गर्न हिँडिरहन्थे। उनी साथीहरूसँग अहिले पना ठट्टा गर्छन्, 'म त भाषण गर्न कता-कता डुलिरहन्थेँ, तपाईंहरु त कति धेरै पढ्नुहुन्थ्यो है?'
अर्को विभाजन पनि थियो- केटा र केटीको।
कक्षामा १२/१३ जना मात्र केटी थिए। मीरा पढाइमा अब्बल थिइन्। कानुनमा प्रथम भएर ऐश्वर्य पदक पाइन्। बिएल पास गरेपछि त्यही कलेजमा केही वर्ष पढाइन्। पछि लोकसेवा पास गरेर न्यायसेवा छिरिन्।
उनै मीराले केसीको अटो यसरी भरेकी छन्:
'साथी केसीजी,जीवनको हर घडीमा सफलतै सफलता मिलोस्, यस धर्तीमा ध्रुवताराझैं सधैं चम्किरहन सकोस्, अमर कृति राखी त्यसको सुवास यस धर्तीमा सधैं-सधैं आइरहोस्, यही छ मेरो हृदयदेखि तपाईंलाई शुभकामना!सम्झने भए- मीरा मैंया श्रेष्ठ, ललितपुर'उतिबेला कक्षाका केटी साथीसँग झ्याम्मिएर बोल्ने चलन थिएन।
'अहिलेजस्तो जमाना कहाँ थियो र? हामी केटी साथीसँग 'हेलो-हाइ' मात्र गर्थ्यौं। संगत गर्दैनथ्यौं,' न्यायाधीश बमकुमारले भने, 'धक मान्ने जमाना थियो नि हाम्रो त।'
उनका अनुसार एउटै कक्षामा पढ्नेले पनि एकअर्कालाई 'तपाईं' भनेर सम्बोधन गर्ने चलन थियो। अहिले पनि तेजबहादुर र पुरुषोत्तमले एकअर्कालाई 'तिमी' भनेजस्तो अरुले भन्दैनन्। धेरैले 'श्रीमान' भनेरै बोलाउँछन्। कलेज पढ्दा भने न्यायाधीश बन्ने कल्पनामै उनीहरु रोमाञ्चित हुन्थे।
मोक्तान 'मुर्टकोट' (अदालती मिसिल) लेख्दाको अभ्यास सम्झन्छन्। उनीहरुले फैसला लेख्नुपर्थ्यो। त्यहाँ न्यायाधीशका नामको ठाउँमा विद्यार्थीले आफ्नै नाम लेख्नुपर्थ्यो। 'पहिलो पटक न्यायाधीशको नाममा आफ्नो नाम लेख्दा म खुबै रोमाञ्चित भएको थिएँ। डर जस्तो पनि लागेको थियो,' उनले भने, 'अहिले कलेज कालका साथीसँगै न्यायाधीश हुन रमाइलो हुने रहेछ।'
कानुन पढ्ने अरु साथी पनि थिए। वरिष्ठ अधिवक्ता शम्भु थापा त्यही ब्याचका विद्यार्थी हुन्। त्यो बेलाका कोही साथी वकिल भए, कोही न्यायाधीश त कोही सचिव र कोही नेता भए।
केही समयअघि काठमाडौंको एउटा होटलमा एउटै कक्षा पढेका सहपाठीको भेटघाट थियो। 'त्यहाँ पनि हामीले कलेजका दिन सम्झेर बडो रमाइलो गर्यौं,' तेजबहादुरले भने।
उनलाई ४० वर्षदेखि सुरक्षित राखेको अटोका पाना पल्टाउँदा आज पनि रमाइलो लाग्छ। व्यस्त दिनचर्याबाट कलेजका ती रुमानी सम्झनामा फर्कन्छन् र विभोर हुन्छन्।
४० वर्षअघि भरिएको यो सर्वोच्च अदालतमा लगेर आफ्ना सहपाठी/सहकर्मीलाई अटो देखाउने केसीको धोको छ।
त्यही अटोमा दीपक जोशीले यस्तो लेखेका छन्:
'मित्र केसीजी,मित्रताको सही आवश्यकता संकटको घडीमा मात्र बुझिन्छ,दीपक जोशी, बागबजार'केदार चालिसे लेख्छन्:
'मित्र केसीजी,मिलन र विछोड जीवनको विशेषता हो भन्ने जानकारी हुँदाहुँदै पनि विछोडको बेला चाहिँ दुई शब्द मात्र लेख्न सकेँ, बितेका क्षणहरु जस्तो भए पनि हाम्रो मित्रता जीवनपर्यन्त पनि शाश्वत रहोस्। यतिमा नै म सन्तुष्ट छु।सहयोगी मित्रकेदार, चन्द्रनिगाहपुर'