अव्यवस्थित सदरमुकाम चौतारालाई व्यवस्थित गर्ने योजनासहित दश वर्षअघि सुरु गरिएको ‘रिङरोड’ अझै पूरा हुनसकेको छैन। चौतारा मुलबजारलाई केन्द्रमा पारेर चारैतिरबाट सडक सञ्जालले घेर्नेगरी रेखा कोर्ने काम भइसकेको भएपनि योजनामा सर्वपक्षीय सहमति जुट्न नसक्दा ‘रिङरोड’ सपना अधुरै रहेको हो।
रिङरोड निर्माणको लागि राष्ट्रिय योजना आयोगबाट आर्थिक वर्ष २०६३/६४ मा १८ लाख बजेट बिनियोजन भएको थियो । रिङरोड बनेको खण्डमा बजारको अस्तित्व हराउने र व्यवसायमा कमी आउने भन्दै स्थानीय व्यापारीले वेवास्ता गरेकै कारण सुरु गरेको दश वर्ष बित्दासमेत निर्माण सम्पन्न हुन नसकेको हो । आयोगबाट आएको बजेटसँगै झण्डै ५० लाख रुपैयाँ खर्च गरेर चौतारालाई सहरीकरण गर्ने योजनासहित सडकको रेखा कोर्ने काम सुरु गरिएको भए पनि रिङरोडको योजना अझै अलपत्र छ। साँघुरो चौताराको भविष्य सुनिश्चित गर्न सडक विस्तार आवश्यकता महसुस गरेर योजना सुरु गरिएको भए पनि त्यसले निरन्तरता नपाउँदा रिङरोड अलपत्र परेको हो।
बजारको साँघुरो सडकको विकल्प र व्यवस्थित सहर निर्माण गर्ने उद्धेश्यसहित तत्कालीन सांसद सुभाष कर्माचार्यको पहलमा राष्ट्रिय योजना आयोगबाट १८ लाख रूपैया बिनियोजन भएपछि रिङरोड निर्माण सुरू गरिएको थियो। स्थानीय समाजसेवी तुलसीमान श्रेष्ठको सक्रियतामा उपभोक्ता समिति निर्माण गरेर बन्न लागेको रिङरोड उनको निधनसँगै अलपत्र परेको स्थानीय बताउँछन्।
पहिलो पटक १८ लाख केन्द्रीय योजनाबाट बजेट परेपछि केही वर्षसम्म त्यसले निरन्तरता पाएको थियो । सदरमुकाम व्यवस्थित हुने योजना बनेपछि तत्कालीन जिल्ला विकास समितिले पनि चौतारा रिङरोडमा लगानी गरेको थियो ।
रिङरोडले कति क्षेत्र समेट्ने भन्ने बिवादले पनि निर्माण पूरा हुन नसकेको स्थानीय बताउँछन् । ‘रिङरोड अत्यन्तै आवश्यक छ, साँघुरो चौतारा बजारको वैकल्पिक मार्ग बनाउनुपर्छ,’ स्थानीय रामप्रसाद धितालले भने, ‘बजार साँघुरो भएकाले सवारी साधन र पैदलयात्रीलाई समेत सकस भइरहेको छ।’ उनले रिङरोड निर्माण कार्यलाई तीव्रता दिई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताए ।
२०६८ मा सिन्धुपाल्चोक महोत्सव हुँदा बजारको सुरुआती स्थान बसपार्कबाट बजारको अन्तिम विन्दु टुँडिखेल निस्कने सडक मर्मत गरी सुचारु गराइएको थियो । यो सडक रिङरोडको एउटा भाग हो । पछि भूकम्पपछि पनि यो सडक सञ्चालनमा ल्याइएको थियो । अहिले पनि चौतारा साँगाचोकगढी नगरपालिकाले बजार क्षेत्रलाई ‘वान वो’ बनाएपछि सो सडकखण्डबाटै ‘हेभि’ मालवाहक सवारीहरु गुड्ने गरेका छन् ।
‘चौतारा बजारको भविश्य सुनिश्चित गर्न सडक बिस्तारको आबश्यकता छ, यसलाई रिङरोडले परिपूर्ति गर्ने हुनाले सडक बिस्तारले भएका ठाउँको महत्व घटाउँदैन,’ रिङरोड निर्माणका अभियन्ता एवं पूर्व सांसद सुभाष कर्माचार्य भन्छन्, ‘अब स्थानीय तहले यसलाई व्यवस्थित गर्न पहलकदमी गर्नुपर्छ ।’ राजनीतिक खिचातानी र सर्वपक्षीय सहमति नभएकै कारण रिङरोडमा गरिएको लगानी खेर गएको प्रती उनले दुःख व्यक्त गरे ।
साँघुरो बजारमा ‘हेभि’ सवारी गुड्दा सडक हरेक वर्ष पुनर्निर्माण गर्नुपर्ने बाध्यता छ । दुईतर्फीबाट आएका ठूला सवारी बजार क्षेत्रमा भेटिएमा घण्टौं जाम हुने गरेको छ । ‘साँघुरो सडककै कारण बजार अव्यवस्थित छ, यसलाई व्यवस्थित बनाउन र बिस्तार गर्न सडक आधारभूत आवश्यकता हो ।’, रिङरोडका लागि केन्द्रिय बजेट पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेका कर्माचार्यले भने, ‘यो कल्पना साकार हुँदा नयाँ संरचना भएर चौताराको भविश्य सुनिश्चित हुन्थ्यो ।’
झण्डै चार वर्षअघि सडक निर्माणका लागि स्थानीय चन्द्रबहादुर घले, रमेश गुरुङलगायतका व्यक्तिहरुको नेतृत्वमा उपभोक्ता समिति बनाएर योजना सुचारु बनाउने प्रयास गरियो तर, समन्वय र सहमति हुन नसक्दा निर्माण कार्य पूरा हुन सकेन । अहिले यो सडक निर्माण गरि सदरमुकामलाई व्यवस्थित गर्नका लागि चौतारा साँगाचोकगढी नगरपालिकाले पहिलो वर्षका लागि पाँच लाख रुपैयाँ छुट्टाएको उपप्रमुख जानुका पराजुलीले जानकारी दिइन् । ‘साँघुरो बजारलाई सहरीकरण गरि रिङरोड निर्माण गर्ने लक्ष्य छ ।’ उनले भनिन् ।
चौतारामा व्यापारीक मानसिकता भएकाहरुको बोलवाला भएकै कारण सामाजिक भावनाको नेतृत्व नभएकाले विकास निर्माणका कुनै काम पनि सहज रुपमा हुन नसकेको स्थानीयवासी बताउँछन् । राजनीतिक र व्यक्तिगत स्वार्थका कारण नै चौताराको रिङरोड लाखौं खर्चेर पनि सम्पन्न हुन नसकेको हो ।