प्रहरीको ‘इन्काउन्टर’मा मारिएका गुन्डा नाइके भनिने मनोज पुन र सोमबहादुर आलेको शव बुझ्न आफन्तले आनकानी गरेका छन्।
रुपन्देहीका प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले बिहानैदेखि प्रहरीले आफन्तहरुलाई शव बुझ्न खबर गरेपनि अहिलेसम्म कोही नआएको बताए।
दुबै जनाको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ।
पुनका आफन्त रुपन्देहीको देवदहमा बस्छन् भने आलेको परिवार भैरहवामा बस्छ।
बुधबार बिहान रुपन्देहीको देवदहमा प्रहरीको गोलीबाट दुबै जना मारिएका हुन्। पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण गरेर भाग्ने क्रममा प्रहरीको जवाफी कारबाहीमा उनीहरूको मृत्यु भएको प्रहरीको दाबी छ।
देवहद नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनीहरू मारिएका हुन्। घटनास्थलमा घाइते भएका उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा लगिको थियो, उपचारकै क्रममा उनको मृत्यु भएको हो।