देशमा काठमाडौंबाहेक अन्त कतै सडक थिएन। राणा शासकहरू यहाँ विदेशदेखि बोकेर ल्याएका मोटर गुडाउँथे। पूर्वका जनता राजधानी आउनुपरे सिन्धुली हुँदै काभ्रे निस्केर बनेपा-भक्तपुर बाटो प्रयोग गर्थे।
यो त्यति बेलाकै कुरा हो।
हिँडेर काठमाडौं आउने पूर्वेलीहरु उपत्यका खाल्डो छिर्नुअघि बनेपा बास बस्थे। एक रात थकाइ मारेपछि भोलिपल्ट सजिलै राजधानी पुगिन्थ्यो। तिनै यात्रुलाई बास बस्न बनेपा, जनागालमा एउटा पाटी बनाइएको थियो। चुनको सेतो रङ लगाइएको त्यो दुईतले कलात्मक घरलाई 'सेतो पाटी' भनिन्छ। कसै-कसैले 'पुतली पाटी' पनि भन्छन्।
व्यापारिक केन्द्र बनेपाका तत्कालीन धनाढ्य साहु हरिभक्त बादे र उनका दाइ कृष्णभक्त वादेले १०५ वर्षअिघ आफ्नै निजी जग्गामा यो पाटी बनाएका हुन्। पछाडि भक्तपुर निस्कने मूलबाटो छ। देब्रेपट्टि ढुंगेधारा छ। त्यो धारा अहिले पनि सुकेको छैन। दिनहुँ पानी भर्नेको घुइँचो हुन्छ। तत्कालीन नेपालको इतिहास बोकेको यो पाटी भने संरक्षण नपाएर मासिने जोखिममा छ। २०७२ को भुइँचालोपछि अझ धराप छ।
यसका झ्याल-ढोकाका काठ कुहिएका छन्। सिस्नो र काँडाघारीले छोपेको छ। घरभित्र पनि झारपात उम्रिएको छ। तै पाटी बनाउँदा प्रयोग भएका जस्ताको छानो, चुनको सेतो रङ र दुई सुरमा बनाएको पुतली आकृति बिग्रिएको छैन। दलिन र खाँबो पनि कुहिएका छैनन्। मर्मतसम्भार गर्ने हो भने संग्रहालयका रुपमा स्थापना गर्न सकिने स्थानीय बताउँछन्।
हामीले यो पाटीबारे कुराकानी गर्दा नयाँ बसोबासी धेरैले प्रस्ट बताउन सकेनन्। कतिले त कुनै व्यवसायीको पुरानो घर होला भन्ने अड्कल काटेका रहेछन्।
स्थानीय ८५ वर्षीय मीनबहादुर खड्काले भने यसको इतिहास खर्रर सुनाए।
उनले जन्मेदेखि यो पाटी देख्दै आएका हुन्। पूर्वी नेपालबाट काठमाडौं हिँडेका अधिकांश यात्रु एकरात यहीँ बस्ने गरेको उनले सम्झे। ‘भरियाहरू पाटी छेउको चुह्लोमा ढिँडो पकाएर खान्थे, आराम गर्थे र भोलिपल्ट गन्तव्यतिर लाग्थे,’ उनले भने।
उनका अनुसार २०२० सालतिर अरनिको राजमार्ग बन्दा मजदुरहरु यही पाटीमा बस्थे। खड्का आफैं पनि राजमार्ग निर्माणमा खटिएका थिए। गर्मी भएर थाकेका बेला पाटीको माथिल्लो तलामा आराम गर्ने गरेको उनी बताउँछन्।
स्थानीय पूण्यमाया श्रेष्ठको पनि रमाइलो सम्झना छ।
उनी बाल्यकालमा साथीसंगीसँग लुकामारी खेल्दै पाटीभित्र गइरहन्थिन्। कहिलेकाहीँ बास बस्न आएका नयाँनयाँ मानिस भेट्थिन्। खेल्दाखेल्दै पानी पर्दा ओत लाग्न पनि जान्थिन्।
'यात्रु आउन छाडेपछि पाटी सुनसान बन्दै गयो। लागुपदार्थ दुर्व्यसनी र माग्नेहरूको अड्डा बन्न थाल्यो,' उनले भनिन्, 'कतिपयको त पाटीभित्र बसेकै बेला मृत्यु भयो। त्यसपछि स्थानीय कमै आउन थाले।'
अर्का स्थानीय विश्व खड्का यो पाटीलाई 'धर्मशाला' मान्छन्। अरनिको राजमार्ग बनेपछि यात्रुहरु विस्तारै यहाँ बस्न छाडेको र ओज घट्दै गएको उनी स्मरण गर्छन्।
बटुवालाई आश्रय नचाहिने भएपछि पञ्चायतको पहिलो चुनाव र पछि स्थानीय चुनाव यहीँ भयो। केही समय रेडक्रसले आफ्नो कार्यालय पनि खोल्यो। पञ्चायत कालमा गोप्य छलफल गर्नुपर्दा दलका नेता-कार्यकर्ता यहीँ आउने गरेको खड्काको अनुभव छ।
‘बादे खलकका साहुले धर्म गर्न बनाएको सेतो पाटीले हजारौंलाई लाभ भयो,' उनले भने, 'आज यो सबैको उपेक्षाले मासिने अवस्थामा छ।'
हामी यसको इतिहास अझै खोतल्न बनेपाका ८४ वर्षीय इतिहासविद् ज्ञानकाजी मानन्धरकहाँ पुग्यौं।
‘धेरैलाई बास दिएको छ। धेरै यात्रुको गर्जो टारेको छ। यो परोपकारकै उत्कृष्ट नमूना हो,' उनले भने, 'आधुनिक र कलात्मक तवरले बनाइएको यो पाटी उतिबेला बनेपाकै पहिचान थियो।'
आज पो होटलहरू छन्, रातभरि मोटर चलिरहन्छन्। मानिसलाई खानबस्न गाह्रो छैन। सडक सञ्जाल नहुँदा यस्ता पाटीपौवाको महत्त्व ठूलो थियो। जंगली जनावर, आँधिहुरीको भय हुन्थ्यो। त्यस्तो बेला बनेपा हुँदै लामो यात्रामा निस्कनेलाई यसले गतिलो र सुरक्षित आश्रय दिएको मानन्धर सम्झन्छन्।
उनी बनेपा र वरपरका देवीदेवताबारे किताब लेख्न महिनौं स्थलगत भ्रमणमा निस्केका थिए। त्यहीबेला सेतो पाटी पनि पुगे। अध्ययन गरे। देवीदेवताबारे लेख्न लागेकाले पाटीको विषय पुस्तकमा अटाउन नसकेकोमा उनी अझै थकथकी मान्छन्।
उनका अनुसार यसको दुई मोहडामा प्रयोग गरिएको महिलाको आकृति अर्थपूर्ण छ। त्यही आकृति हेरेर कतिपयले पुतली पाटी भनेको उनी बताउँछन्। उनलाई अब यो पाटी मर्मत भएर संग्रहालयका रुपमा विकास गरिएको हेर्ने धोको छ।
‘थोरै खर्चमै मर्मत गर्न सकिन्छ। छानो जस्ताको त्यस्तै छ, काठपात कुहिएको छैन, भित्ता र पर्खाल पनि बलियै छन्। अब भत्केको ठाउँमा नयाँ गारो लगाएर झ्यालढोका थपे पाटी पुरानै स्वरूपको हुनेछ,’ उनका यी सुझावमा स्थानीय धेरैको राय मिलेको छ।
स्थानीय युवा पशुपति आचार्य यसलाई संग्रहालय बनाउन सके बनेपा नगरकै गरिमा बढ्ने बताउँछन्।
हामीले यसबारे बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेसँग पनि कुराकानी गर्यौं।
सेतो पाटीलगायत अन्य पाटी तथा देवलहरू सम्वर्द्भन गर्ने योजना रहेको उनले सुनाए। 'हामीले विकासलाई पहिलो प्राथमिकतामा राखेका थियौं,' उनले भने, 'अब पुरातात्विक महत्त्वका सम्पदा संरक्षणमा पनि ध्यान दिनेछौं।'
सेतो पाटीको लम्बाई अन्दाजी आठ मिटर र चौडाइ पाँच मिटर छ। पाकेको इँटाको गारो लगाइएको छ। कलात्मक खोपा, आधा दर्जन झ्याल र भित्रपट्टि सामान राख्ने तखता एवं खण्ड यसका विशेषता हुन्। बाहिरी भित्तामा सिंह, चराचुरूंगी तथा प्रतीकात्मक बुट्टा देख्न सकिन्छ।
पाटीसँगै जोडिएको तीन आना जग्गा सार्वजनिक हो। खाली जग्गामा केही व्यापारीले आँखा गाडेको स्थानीयको आरोप छ। भोलि जग्गाको दाम हेरेर पाटी मास्दै सार्वजनिक जग्गा व्यापारिक स्वार्थमा भोगचलन गर्ने सम्भावना रहेको उनीहरु औंल्याउँछन्।
'हामी सचेत छौं,' आचार्य भन्छ्न, 'व्यापारीको कुदृष्टि पर्नुअिघ नै नगरपालिकाले जिर्णोद्वार गरेर संरक्षण गरे हुन्थ्यो।'