शान्तिमार्गका किराना व्यवसायी अन्जु शर्माको अनुहारमा मुस्कान थियो।
महिनौंपछि उनको पसल अगाडिको बाटो सम्याइएको थियो। एक साताअघिसम्म यहाँ तेर्सिएको बाटै छेक्ने ढाट पन्छ्याइएको थियो।
बीच बजारको सडकमा कसले ढाट तेर्स्याए? र, फेरि किन पन्छाए?
यो कथा हो, मेलम्ची आयोजनाले भत्काएर जताततै अलपत्र छाडेका बाटाहरूको। त्योभन्दा ठूलो कथा हो, कसैले बल प्रयोग गरेपछि मात्र सुनुवाइ गर्ने राज्यका गैरजिम्मेवार निकायको।
राजधानीका अन्य सडकजस्तै कोटेश्वर, शान्तिमार्गमा पनि मेलम्चीको गैरजिम्मेवारीले कुइरीमण्डल धूलो थियो। स्थानीयले आजित भएर आफ्नै बाटो अवरुद्ध पार्न ढाट तेर्स्याए। मंगलबार हामीले भेट्दा अन्जु खुसी देखिनुमा त्यही ढाट मुख्य कारण थियो।
‘ठेकेदार आएर बाटो बनाइदिन्छु भनेपछि बल्ल ढाट हटायौं,’ अन्जुले भनिन्, ‘बाटो सम्याइसके, भोलिदेखि नै कालोपत्रे सुरु गर्छौं भनेका छन्।’
टोल सुधार समिति अध्यक्ष रुद्रबहादुर राउतका अनुसार कोटेश्वर शान्तिमार्गमा दस वर्षअघिसम्म पक्की बाटो थिएन।
‘०६६ सालतिर महानगरपालिका र टोलवासीको पैसा मिलाएर बाटो कालोपत्रे गरेका थियौं,’ राउत सम्झन्छन्, ‘तीन वर्षअघि मेलम्चीको पाइप ओछ्याउँदै आएका ठेकेदारले बाटो क्षतविक्षत पारिदिए।’
त्यसअघि सफा पक्की बाटो छेउ आनन्दले बाँच्दै आएका टोलवासी एकाएक हिउँदमा धूलो र वर्षामा हिलोको सास्ती भोग्नुपर्ने अवस्थामा पुगे।
‘खानेपानी दिन्छौं भनेर पाइप ओछ्याउन आएका बेला बाटो भत्काउन रोक्ने कुरा भएन,’ राउत भन्छन्, ‘त्यसरी भत्काएर तहसनहस पारेको बाटो तीन वर्षसम्मै अलपत्र छाडिदिए।’
बाटो भत्किएसम्म पनि समस्या थिएन। समस्या तब सुरु भयो, जब यो बाटोलाई सार्वजनिक यातायातले चक्रपथको विकल्प रूपमा प्रयोग गर्न थाले।
‘उता आठ लेन फराकिलो बनाइँदै गरिएकाले चक्रपथ बारम्बार जाम हुन थाल्यो,’ अन्जुका श्रीमान् शिवप्रसाद न्यौपाने भन्छन्, ‘नेपाल यातायातदेखि सबैजसो माइक्रो र मिनिबस यही बाटो लस्कर लाग्न थाले।’
चिनियाँ ठेकेदारले चक्रपथ अवरुद्ध पारेकै कारण सार्वजनिक यातायातले भाटभटेनीदेखि कोटेश्वरसम्मको दुरी सजिलै तय गर्न शान्तिमार्गलाई विकल्प बनाए।
‘बसहरू ओइरिन थालेपछि यो टोल दिउँसै कतै केही नदेखिने गरी धूलो–धुवाँले छोपियो,’ न्यौपाने भन्छन्, ‘सडकछेउ पसल थाप्ने हामीजस्ताको त दुर्गती हुनु नै थियो। बिहान लुगा धोएर काममा गएका टोलवासीको बेलुकी फर्कँदा सुकाएकै ठाउँमा मैलो भइसकेको हुन्थ्यो।’
टोलवासीले आजित भएर प्रहरी गुहारे। प्रहरीले बाटोमा सार्वजनिक सवारी रोक्ने कोशिस पनि गरे। सफल भएनन्। केही सिप नलागेपछि टोलवासीले एक महिनाअघि यो बाटो नै बन्द गरिदिने निधो गरे। यसरी बाटोमा ढाट उभ्याउनेमध्येकी एक हुन्, शान्तिमार्गकै कमला थापा।
मेलम्ची आयोजनाले सडकमा देखाएको लापरबाहीले स्थानीयवासी कतिसम्म निरीह बने भन्ने कमला उदाहरण हुन्।
‘तीस वर्षअघि यहाँ जमिन किन्दा हामीसँग पाँच आना दुई पैसा जग्गा थियो,’ उनले थोरै जग्गामा उभिएको आफ्नो घर देखाउँदै भनिन्, ‘बाटो फराकिलो होस् भनेर छाड्दा छाड्दै अब जम्मा साढे तीन आनामा खुम्चिएको छ।’
सुरुमा साइकल पनि छिराउन मुश्किल पर्ने यो बाटो कमलालगायत टोलवासीले छाडेको जग्गाकै कारण पहिले चार फिट र अहिले बीस फिट फराकिलो बनेको छ। कमलाले मात्रै सुरुमा दुई फिट र पछि आठ फिट गरेर दस फिट जग्गा सडक निम्ति दिइन्।
‘त्यसरी बनेको २० फिट फराकिलो बाटो टोलवासी मिलेरै पक्की गरिदिएपछि जग्गा गुमाएकोमा खासै दुःख लागेको थिएन,’ कमला भन्छिन्, ‘त्यही बाटोलाई आफैंले ढाट लगाएर बन्द गराउनुपरेको दिन चाहिँ साह्रै चित्त दुखेको थियो।’
कमलाका अनुसार दिनभरिजस्तो घरछेउको बाटोमा मिनि र माइक्रो बस कुद्न थालेपछि घरभित्रै धुलोको रास लाग्न थाल्यो। बसको चक्काले गिट्टी उछिट्टिएर पसलका शिशा फुट्न थाले।
‘यो बाटो भएर ओहोरदोहोर गर्नेलाई त टोलै नर्क भइदियो,’ कमला भन्छिन्, ‘आजित भएर एक दिन म आफैं सडकमा गएँ र गुड्दै गरेको नेपाल यातायात सामुन्ने उभिएर ‘मलाई कुल्चिएर जा’ भनेँ।’
बेफ्वाँकमा बसका कर्मचारी र टोलवासीबीच दुश्मनी बढ्न थाल्यो।
त्यसरी बस रोक्दा प्रत्येक चालकले ‘तपाईंको निजी बाटो हो?’ भनेर कराउँथे। बाटो त टोलवासीले जग्गा छाडेर र आफ्नै पैसा लगाएर पक्की बनाएको निजी नै थियो। तर, कति जना चालकलाई सम्झाउने? अन्तिममा टोल सुधार समितिले अगुवाइ लिएर बाटै अवरुद्ध पारिदिने कठोर निर्णय गर्यो।
‘यस्तो धूलोधुँवाको नर्कमा बाँच्नुभन्दा बरु यो बाटै हामीलाई चाहिएन भनेर ढाट लगाइदियौं,’ कोषाध्यक्ष राउत भन्छन्, ‘दुवैतिरबाट एम्बुलेन्स र दमकल आउन सकोस् भनेर बाटोको बीचैमा ढाट राखेका थियौं।’
त्यसपछि बल्ल यो बाटोमा सार्वजनिक सवारी ओहोरदोहोर बन्द भयो।
‘आफ्नै जग्गा दिएर बनाएको बाटो यसरी बन्द गरिदिँदा हामी टोलवासीलाई पनि मर्का परेको थियो,’ कमला भन्छिन्, ‘त्यसलाई नसहेसम्म त्योभन्दा ठूलो धूलोधुँवा आतंकबाट मुक्ति मिल्नेवाला थिएन।’
धूलोधुँवाबाट बच्न टोलको बाटो नै अवरुद्ध पारिदिएपछि गत माघ २३ गते टोल सुधार समितिले बोलाएको बैठकमा वडा समिति तर्फबाट निर्वाचित सदस्य र ठेकेदार पक्ष पनि उपस्थित भए।
[caption id="attachment_135186" align="alignnone" width="826"]
ढाट निकालेर कालोपत्रे गर्न तयार पारिएको बाटो। तस्बिरः गिरीश गिरी/सेतोपाटी[/caption]
बाटोमा ढाट राख्नुअघि बारम्बार भेट्न जाँदा मतलबै नराख्ने ठेकेदार पनि ढाट लगाएपछि बल्ल बैठकमा आइपुगेको न्यौपाने सुनाउँछन्।
‘बैठकमा विभिन्न सातवटा बुँदामा सम्झौता भएको छ,’ कोषाध्यक्ष राउत भन्छन्, ‘अब बल्ल सडक बन्ने सुरसार ठेकेदारले देखाएका छन्।’
पाइप ओछ्याउन खनिएका सडकमा काम सम्पन्न भएको औपचारिक पत्र मेलम्ची आयोजना कार्यान्वयन निर्देशनालयबाट पाएपछि मात्र आफूहरूले सडक पक्की गर्ने गरेको ठेकेदार साहिल अरोरा बताउँछन्।
अरोराका अनुसार यो सडकमा काम सकिएको जानकारी पाँच–छ महिना पहिले मात्र ठेकेदार पक्षलाई निर्देशनालयले दिएको थियो। त्यसपछि केही समय त सडकको आधार र नाला बनाउनै लागेको उनी बताउँछन्। त्यो सबै सकेर अन्तिममा काम सुरु गर्न खोज्दा सडकको उचाइलाई लिएर विवाद सिर्जना भएको उनले सुनाए।
‘टोलवासीले सडक अग्लो बनाउन नदिने भनेपछि तयार पारिसकेको आधार फेल गर्नुपर्योे,’ अरोरा भन्छन्, ‘पुरानै स्तरअनुसार बनाउन खोज्दा केही समय थप लाग्यो।’
डिजाइनअनुसार दस सेन्टिमिटर आधार र तीन सेन्टिमिटर ‘आसफाल्ट’ गरेर कुल १३ सेन्टिमिट उचाइ बढ्नेवाला थियो। यसलाई टोलवासीले अस्वीकार गरिदिए।
मेलम्चीले भत्काएका सडक आफूले नै पक्की गर्दै आएको बताउने अरोराका अनुसार सडक समयमा तयार नहुनुका पछाडि सबैभन्दा धेरै समस्या पाइप राखिसकेको ठाउँमा पछि ‘प्रेसर टेस्ट’ गर्दा फेल हुने हो। यसकारण फेरि खन्नुपर्ने भइरहेको छ।
‘यस्तो ठाउँमा स्वतः दुई–तीन महिना निर्माण लम्बिहाल्छ,’ अरोरा भन्छन्, ‘शान्ति मार्गको हकमा भने सडक उचाइलाई लिएर नै ढिलाइ भएको हो।’
कोषाध्यक्ष राउत भने आफूहरूले सुरुदेखि नै पहिले जस्तो थियो उस्तै बनाइदिन अनुरोध गर्दै आएकोमा ठेकेदारहरूले ढिलाइको कारण लुकाउन उचाइलाई निहुँ बनाएको आरोप लगाउँछन्।
उपत्यकामा मेलम्चीले यसरी खनेका सडक किन समयमै तयार भइरहेका छैनन्? सर्वत्र आम गुनासो छ। यस्तोबेला सरोकारवाला निकाय
‘मेलम्ची कार्यान्वयन निर्देशनालय’ के भन्छ?
‘जाडो महिनामा सडक पक्की गर्न राती तापक्रम कम हुने र दिउँसो ट्राफिक समस्याकै कारण अप्ठ्यारो परिरहेको थियो,’ निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल भन्छन्, ‘अब भत्काएका ठाउँमा सडक पक्की गर्ने काम तीव्र हुनेछ।’
ढकालका अनुसार अलि अगाडिसम्म सडक बनाउनका निम्ति ग्राभेल र अहिले आएर सिमेन्टको समस्या पनि देखा परेको छ। ‘तर, अब धेरै सास्ती खेप्नु पर्दैन,’ प्रवक्ता ढकाल भन्छन्, ‘आगामी वर्षाभन्दा अगावै ८० प्रतिशत बढी स्थानमा यथावत पक्की सडक तयार भइसक्नेछ।’
ढकालका अनुसार मेलम्चीको थोक वितरण र वितरण सञ्जाल गरेर सात सय किलोमिटर बाटोमा पाइप ओछ्याउने काम सकिएको छ। ६० किलोमिटरमा भने काम अझै बाँकी छ। यो ६० किलोमिटरमध्ये आधा काम सुरु भइसकेपछि विभिन्न स्थानमा पाइप ओछ्याउन थप गरिएको कारण समय लम्बिएको उनले स्पष्ट पारे।
शान्तिमार्गका हकमा भने मेलम्चीको पाइप ओछ्याउने काममै कोटेश्वर पहिलो ‘प्याकेज’मा परेको र त्यसपछिको भुइँचालोले लामो समय अलपत्र परेको उनले बताए।
यसरी कोटेश्वर, शान्तिमार्ग वरपरका बासिन्दाले धूलोबाट बच्न जे उपाय लाए, अन्त त्यस्तै गरियो भने के होला?
केही दिन यातायात आवागमन ठप्प हुनेछ। बदलामा टोलबासीले बल्ल पक्की बाटो पाउनेछन्।