बालकृष्ण पोख्रेल दिनहुँ बोझे पोखरी वारपार गर्छन्।
उनी उदयपुरका हुन्। बालकोट बस्छन्। पाँच वर्षदेखि ललितपुर, इमाडोलको पिस पोइन्ट एकेडेमीमा पढाउँछन्। स्कुल आउजाउ गर्न बोझे पोखरी पार गर्नुपर्छ।
पहिलोपटक बोझे पोखरी देख्दा दुईवटा मन्दिर बनिसकेका थिए। वरिपरिका घरले पोखरीका केही भाग अतिक्रमण गरिसकेको थियो। पोखरीमा कंक्रिटको पर्खाल भने लगाइएको थिएन। २५ रोपनी क्षेत्रफलमा फैलिएको बोझे पोखरी घटेर सानो भएको थियो। तै बाँकी पोखरी उनलाई सुन्दर लाग्यो।
‘म बोझे पोखरीभन्दा पहिले ५२ पोखरी ५३ तालले प्रख्यात रुकुम पुगेको थिएँ,’ पोख्रेलले सेतोपाटीसँग भने, ‘बोझे पोखरी पुगेपछि मैले ती अनुपम पोखरी र ताल बिर्सिएँ। मलाई दिनहुँ रुकुम पुगेजस्तै भयो।’
पाँच वर्षबीच पोखरीमा जे देखे, त्यसले उनलाई निराश मात्र बनायो। पोखरीमा कंक्रिटको पर्खाल लगाइयो। पानी सुक्दै गयो। बचेको पोखरी सुकाएर ट्यांकी बनाउने काम भइरहेको छ। बाँकी ठाउँ खेल्ने मैदान बनेको छ।
‘अचेल यो बाटो हिँड्दा मन चसक्क हुन्छ। म त अब पोखरीको बाटो छाडेर अर्को बाटो रोज्ने तयारीमा छु,’ उनले भने।
एक वर्षअघि नै पानी ट्यांकी बनाउन बोझे पोखरी सुकाइएको थियो। पोखरीमै कंक्रिट ट्यांकी बनाउने काम असारबाटै सुरु भएको हो। प्रायः स्थानीय पानीको संकट टर्छ भनेर खुसी हुँदै पोखरी मासिँदा पनि चुपै रहे। पोखरीको महत्व बुझेकाहरु भने निराश भए। तै बोल्न सकेनन्। चुपचाप ट्यांकी बनाएको हेरिरहे।
स्थानीय एवं कानुनका विधार्थी सञ्जय अधिकारीले केही साताअघि मात्र पोखरीमा ट्यांकी बनाएको थाहा पाए। पोखरी विनाश उनले चुपचाप हेरिरहन सकेनन्। पोखरी जोगाउन ढिला भइसकेको थियो। पानी ट्यांकीको जग बनाउने काम लगभग सक्किएको थियो।
‘यो पोखरी लगभग मासिइसक्यो,’ सम्पदाविद् पदमसुन्दर जोशीले भने, ‘पोखरीले पानी रिचार्ज गर्ने, पुनर्भरण गर्ने लगायत काम गर्छ। कंक्रिटको ट्यांकी बनाएसँगै पोखरीको पानी प्रणाली अब लगभग सक्किसकेको छ।’
बोझे पोखरी संरक्षण समिति एवं खानेपानी उपभोक्ता समितिका सानुकाजी महर्जनले ४ लाख ५० हजार लिटरको ट्यांकी बनाएर इमाडोलका १५ सय परिवारलाई पानी आपूर्ति गर्ने बताएका छन्। यस निम्ति पोखरीछेउ बोरिङ पनि गरिएको छ। यही बोरिङको पानी ट्यांकी र पोखरीमा भरिने उनले जानकारी दिए।
जोशी भने यसरी बोरिङबाट पानी भर्नुलाई गलत बताउँछन्।
‘हामी सर्वसाधारणलाई त पोखरीमा पानी पम्प गर्न हुन्न भनेर सन्देश दिइरहेका हुन्छौं। बोरिङको पानीले ट्यांकी र पोखरी भर्ने कुरा त झन् सरासर गलत हो,’ उनले भने।
कुनै पनि भौतिक संरचना सय वर्षभन्दा पुरानो भएपछि मास्न नपाइने कानुनी प्रावधान छ। बोझे पोखरीलाई उपभोक्ता समितिका महर्जन स्वयंले सत्ययुगको इबिदह बताएका छन्। इबिदह काठमाडौंका प्राचीन चारवटा दहमध्ये एक मानिन्छ।
बोझो धेरै उम्रने भएकैले बोझे पोखरी नामाकरण गरिएको हो। पछिल्लोपटक महेन्द्र राजाको पालामा सेना लगाएर सफा गरिएको थियो। त्यसयता सरसफाइ अभावले पनि मासिँदै गएको हो।
यस्तो ऐतिहासिक पोखरी मासेर पानी ट्यांकी बनाउने त?
‘इमाडोलमा पानीको दुःख छ। पानीको समस्या समाधानका लागि ट्यांकी त बनाउनै पर्यो। जग्गाको भाउ छोइ नसक्नु छ। अनि ट्यांकी राख्नलाई कसले जग्गा दिन्छ?’ महर्जनले आक्रोश पोखे, ‘बाध्य भएर सार्वजनिक जग्गामा भएको पोखरी सुकायौं। त्यसैमा पानी ट्यांकी बनाउँदैछौं। यो सबै स्थानीयको सहमतिमा भएको हो।’
स्थानीयकै सहमतिमा भए पनि यसले पोखरीको स्वरुप भने मासिएको छ। पोखरीजस्तो सम्पदा मासेर ट्यांकी कसरी र किन बनाइँदैछ भनेर सूचना माग गर्दै कानुनका विधार्थी कृष्ण पाल र बिकी पराजुलीले इमाडोलको लक्ष्मी नगरपालिकामा आवेदन भरेका छन्। ‘स्थानीयकै सहमतिमा ट्यांकी निर्माण भए पनि सरासर गलत हो,’ कृष्णले भने, ‘अपराध चाहे एक जनाले गरोस् वा समूह मिलेर। अपराध भनेको अपराध नै हो। हामीले चुपचाप हेरेर बस्ने हो भने यस्तो गलत काम भइ रहन्छन्।’
यस्तै गलत काम इमाडोलको कमलपोखरीमा पनि हुने तयारी भइरहेको स्थानीय गणेशबहादुर विष्टले बताए।
करिब २ देखि ३ रोपनी क्षेत्रफलको कमलपोखरी सडक विस्तार क्रममा घटदै-घट्दै गएको छ। त्यसमा पनि खानेपानी उपभोक्ता समितिले पानी ट्यांकी बनाउने तयारी गरिरहेको उनले जानकारी दिए।
इमाडोलमा बस्ती विकास र सडक विस्तार हुनुअघि पहिले राजकुलो प्रणाली थियो। विष्टका अनुसार ललितपुरको झरासीदेखि इमाडोलमा राजकुलो ल्याइएको हो। खेतबारी सिँचाइ गर्न प्रयोग हुन्थ्यो। कुलोले पोखरी पनि भरिभराउ हुन्थ्यो। ढुंगेधारा र इनारहरु रसाउँथे। सडक विस्तार र बस्ती विकाससँगै कुलो मासियो। पोखरी र ढुंगेधारा पनि मासिँदै गए।
‘पहिले पहिले कुलोको महत्व थियो। संरक्षणमा निकै खर्च हुन्थ्यो,’ ७६ वर्षीय विष्टले भने, ‘बेलाबेला कुलो ठाउँठाउँमा बिग्रन्थ्यो, भत्किन्थ्यो। यसको निर्माणका लागि प्रत्यक वर्ष रकम छुट्टाइएको हुन्थ्यो।’
‘कमलपोखरीमा पहिले कमल फुल्थ्यो। सार्वजनिक पोखरी भएकाले पाटनका पोडेहरु बिरुवा छरेर जान्थे। त्यसको रेखदेख उनीहरु नै गर्थे। असार लाग्न सुरु भएपछि पोखरीमा कमलको पात टिप्न आइपुग्थे। त्यही पात लगेर बेच्थे। किसानका लागि त्यो खाजा खाने पात हुन्थ्यो। हामी भने कमलको जरा लिन जान्थ्यौं। त्यो बडेमानको मूलाजस्तै हुन्थ्यो। निकै मिठो,’ उनले भने।
उनले बोझे पोखरीको पनि सम्झना सुनाए।
‘बोझे पोखरी ठूलो थियो। त्यहाँ बोझो र माछा प्रशस्त हुन्थे,’ उनले भने, ‘हामी साकाहारी भएकाले माछा मार्न जाँदैन थियौं। घाँटी दुख्दा र खोकी लाग्दा बोझो लिन जान्थ्यौं।’
उनका अनुसार आकाशे पानी र राजकुलोले नै कमलपोखरी र बोझेपोखरी भरिभराउ हुन्थे। अहिले यहाँ न कुलो छ, न पोखरी। न कमलपोखरीमा कमल फुल्छन्, न पोखरी बाँकी छ। धेरै मानिसको सम्झनासँग जोडिएको पोखरीमा बाँकी छ खुला चौर।
यही पोखरीलाई जिर्णोद्वार गर्ने भन्दै स्थानीय चुनावमा जनप्रतिनिधिले भोट माग्दै हिँडेका थिए। तै चुनाव जितेका प्रतिनिधि यो विषयमा नगरपालिका नजोडिएको भन्दै पन्छिएका छन्।
के पानी ट्यांकी नै अन्तिम सामाधान हो त?
सम्पदाविद् जोशी पोखरीमा पानी ट्यांकी बनाएर पानीको समस्या समाधान गर्ने उपाय गलत भएको बताउँछन्।
उनका अनुसार पानी समस्या भएको इमाडोलमा मेलम्ची लगायतको खानेपानी आयोजना भित्र्याउन सकिन्छ। पोखरी रिचार्ज गर्न इनार बनाउनु अर्को सामाधान उपाय भएको उनले बताए।
‘आकाशे पानी त्यसै खेर गइरहेको हुन्छ। यो पानी रिचार्ज इनारमार्फत् जोगाउने हो भने खानेपानी समस्या समाधान हुन्छ,’ जोशीले भने, ‘रिचार्ज इनारले आकाशको पानी जम्मा गरेर जमिनभित्र पठाउने काम गर्छ। नगरपालिकाले यसरी पोखरी मासेर पानी ट्यांकी बनाउनुभन्दा खानेपानी आयोजना एवं रिचार्ज इनारमा ध्यान दिनुपर्यो।’