राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको रिङरोड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। तर बिडम्बना निर्माण कार्य अन्तिम चरणमा पुग्दा यसको डिजाइन नै गलत भएको देखिएको छ। १० किलोमिटर लामो सडकमा न त पर्याप्त जेब्राक्रस छन् न त आकाशे पुल नै। अझ सडकमा दुइतर्फी सवारी छुट्याउन 'मेडियन' समेत तयार गरिएको छैन।
चिनियाँ कम्पनीले सडक निर्माण सक्न लाग्दा यसको डिजाइनको समस्या छरपस्ट भएको हो। डिजाइनको गल्तीका कारण सबैभन्दा मारमा पैदलयात्रु पर्ने भएका छन्। २८ मिटर फराकिलो सडक पार गर्न वृद्ध र अशक्तलाई कठिन हुने देखिएको छ। विद्यालय जाने बालबालिकाले सडक पार गर्न दौडनुपर्ने भएको छ। ८ लेनको सडकको बीचमा चार लेनको 'एक्सप्रेस वे' छ। जसमा गाडी ५० किलोमिटर प्रतिघण्टामा हुँइकिन्छन्। यस्तोमा बाटो पार गर्नु थप जोखिमपूर्ण देखिन्छ। दैनिक सरदर २५ सडक दुर्घटना हुने गरेको राजधानीमा कोटेश्वर कलंकी सडक खण्डले दुर्घटना घटाउने हैन बढाउने देखिन्छ।
हेर्नुस् सडक समस्याबारे सेतोपाटीको मल्टिमिडिया रिपोर्ट-